close

शाक्यलाई रिमालको सुझाव: सामाजिक सञ्जालको कन्टेन्ट नबन्नुस्, काममा अडिग रहनुस्

टेकपाना टेकपाना

जेठ ४, २०८२ १६:७

शाक्यलाई रिमालको सुझाव: सामाजिक सञ्जालको कन्टेन्ट नबन्नुस्, काममा अडिग रहनुस्

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार एवम् नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले विद्युत आपूर्ति बन्द भएको भन्दै सामाजिक सञ्जालमा अफवाह फैलाउने काम भइरहेको बताएका छन् । उनले आइतबार सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट राखेर नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यलाई सजग रहन समेत आग्रह गरेका हुन् ।  

उनले लेखेका छन्, “सजग रहनुहोला, बलेको बत्ति मुनि बसेर पोस्ट लेख्दै 'बिजुली गयो' भन्ने न्यारेटिभ बनाइँदै छ।” उनले नेपाली समाजले विद्युत कसरी आयो भन्ने थाहा नभइ देवता खडा गरेको आरोप लगाएका छन्  । उनले थप लेखेका छन्, “देवत्वकरणको पर्दा भित्र कस्तो यथार्थ लुकेको छ भन्ने कुरा सामाजिक सञ्जालमा न्यारेटिभ निर्माणमा खटाइएका व्यवसायीलाई थाहा छ, तर उनीहरू समाजमा त्यस विपरीत गहिरो भ्रम छरिरहेका छन् ।”

समाजमा सेवा दिने व्यक्तिले भन्दा कथा बनाउने व्यक्तिको चर्चा रहेको बताउँदै उनले यस्तो समयमा राम्रो काम गरेपछि सामाजिक सञ्जालमा त्यसको चर्चा नहुने बताए । उनले भनेका छन्, “यस्तो बेलामा तपाईँले इमान्दार प्रयास गर्नुभयो भने पनि, त्यो ‘फिड’ मा देखिँदैन, किनकि त्यो ‘फ्रेम’को हिस्सा होइन।”

यस्तो अवस्थामा सजग रहेर काम गर्न रिमालले प्रबन्ध निर्देशक शाक्यलाई आग्रह गरेका हुन् । हालको समाज कन्टेन्ट बनाउने खेलमा लागेको उनले आरोप लगाएका छन् । उनले भनेका छन्, “कर्ममा अडिग रहनुहोस्, तर 'कन्टेन्ट' को दुनियाँले तपाईँलाई ‘कन्टेन्ट’ बनाउने खेलमा लागेको छ भन्ने कुरा नबिर्सिनुहोस्।”

यसअघि गत बिहीबार (जेठ १) मा काठमाडौँसहित पूर्वी र मध्ये नेपालका अधिकांश क्षेत्रमा लामो समयसम्म बत्ति गएको थियो । दुई घण्टाभन्दा लामो समयसम्म बत्ती नहुँदा सामाजिक सञ्जालमा प्रबन्ध निर्देशक शाक्यको आलोचना भएको थियो । 

यसपछि शुक्रबार पत्रकार सम्मेलन गर्दै शाक्यले प्राविधिक कठिनाइका कारण बिहिबार उक्त समस्या आएको स्पष्टीकरण दिएका थिए । तर पनि समय समयमा विद्युतीय आपूर्ति बन्द हुने समस्या भने आइरहेका छन् । योसँगै सामाजिक सञ्जालमा प्रबन्ध निर्देशक शाक्यलाई लिएर चर्को आलोचना भइरहेको छ । 

पछिल्लो अध्यावधिक: जेठ ४, २०८२ १६:७