स्वास्थ्य मन्त्रालयको आचारसंहिताः कर्मचारीले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने
असार २१, २०८३ १०:२७
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आफ्ना कर्मचारीहरूका लागि नयाँ आचारसंहिता जारी गर्दै कार्यालय समयमा व्यक्तिगत प्रयोजनका लागि सामाजिक सञ्जाल प्रयोग गर्न रोक लगाएको छ । मन्त्रालय र यसका निकायमा कार्यरत कर्मचारीको व्यवहारलाई अनुशासित र मर्यादित बनाउँदै कार्यसम्पादन तथा सेवाप्रवाहमा प्रभावकारिता ल्याउन नयाँ आचारसंहिता जारी गरिएको हो ।
मन्त्रालयले जारी गरेको आचारसंहिता अनुसार कार्यालय समय अवधिमा मोबाइल वा कम्प्युटरमार्फत व्यक्तिगत प्रयोजनका लागि फेसबुक, एक्स, ह्वाट्सएप, टिकटक, लिंक्डइनलगायत कुनै पनि सामाजिक सञ्जाल प्रयोग गर्न पाइने छैन । यस्तै, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), तथ्याङ्क विश्लेषण, मसिन लर्निङलगायत प्रविधिको प्रयोग गर्दा गोपनीयता, निष्पक्षता र उत्तरदायित्वका सिद्धान्त अनिवार्य रूपमा पालना गर्नुपर्ने व्यवस्था गरिएको छ ।
यस्तै, कार्यालय समयबाहेक सामाजिक सञ्जाल प्रयोग गर्दा पनि सरकारी सेवाको मर्यादा, संस्थाप्रतिको विश्वास र व्यावसायिक आचरणलाई असर नपर्ने गरी उच्च सतर्कता अपनाउनुपर्ने उल्लेख गरिएको छ । सामाजिक सञ्जालमा सरकारी सेवाको गरिमामा आँच आउने, कर्मचारीको मानमर्दन हुने वा जनमानसमा भ्रम तथा अविश्वास फैलिने खालका सामग्री पोस्ट वा शेयर गर्न नपाइने व्यवस्था गरिएको छ ।
मन्त्रालयले कर्मचारीहरूलाई प्रचलित कानुन र सार्वजनिक मर्यादाविपरीत अश्लील वा आपत्तिजनक सामग्री राख्न वा शेयर गर्न, साथै राजनीतिक उद्देश्यले निर्देशित विज्ञापन, प्रचारप्रसार वा त्यस्ता सामग्री पोस्ट तथा शेयर गर्न पनि निषेध गरेको छ । यस्तै, सरकारी कामका लागि अनिवार्य रूपमा मन्त्रालयको आधिकारिक ईमेल आईडी मात्र प्रयोग गर्नुपर्नेछ ।
पछिल्लो अध्यावधिक: असार २१, २०८३ १०:२७
