काठमाडौँ । टिकटक अब सामाजिक सञ्जालमा मात्र सीमित नभई एउटै प्लेटफर्मबाट सबै प्रकारका डिजिटल आवश्यकताहरू पूरा गर्ने सुपर एप बन्दै गएको छ । भिडिओ शेयरिङ प्लेटफर्मको रूपमा चिनिएको टिकटकले पछिल्लो समय टिकटक शप, स्थानीय सर्चका लागि म्याप, गेमिङ र सर्च जस्ता फिचर थप्दै लगेको हो ।
हालै यसले होटल बुकिङ सेवा सुरु गरेको छ भने फिनटेक (वित्तीय प्रविधि) लाइसेन्सका लागि समेत प्रक्रिया अघि बढाएको छ । चीनमा विच्याट एउटा यस्तो सुपर एप हो, जहाँ फेसबुक, ह्वाट्सएप, एप्पल पे र एप स्टोरका सबै सुविधाहरू एउटै प्लेटफर्ममा उपलब्ध छन् । टिकटकले पनि सोही मोडेल पछ्याउन खोजिरहेको देखिन्छ ।
सन् २०२६ को जनवरीमा मुख्य रूपमा अमेरिकी स्वामित्वमा रूपान्तरण भएपछि टिकटकले आफ्ना सेवाहरूलाई व्यापक बनाउँदै लगेको छ । यसै महिना टिकटकले अमेरिकामा टिकटक गो सार्वजनिक गरेको छ ।
यसमार्फत प्रयोगकर्ताले एपभित्रै भिडिओ हेर्दै होटेल, पर्यटकीय आकर्षण र अनुभवहरू खोज्न र बुकिङ गर्न सक्छन् । यसले गर्दा प्रयोगकर्ताहरूले अब तेस्रो पक्षका वेबसाइटमा जानु पर्ने बाध्यता हटेको छ । यो कदमले गुगलको मुख्य व्यवसाय सर्च र गुगल म्याप्सलाई प्रत्यक्ष चुनौती दिएको छ । किनकि टिकटक अब भ्रमणका लागि गन्तव्य खोज्ने मात्र नभई भ्रमणको प्याकेज नै खरिद गर्ने प्लेटफर्म बनेको छ ।
टिकटकले ब्राजिलको केन्द्रीय बैङ्कमा वित्तीय प्रविधि कम्पनीको रूपमा काम गर्न दुईवटा लाइसेन्सका लागि आवेदन दिएको छ । पहिलो लाइसेन्सले प्रयोगकर्तालाई प्रिपेड खाता सञ्चालन गर्न, पैसा जम्मा गर्न र भुक्तानी गर्न अनुमति दिनेछ ।
दोस्रो लाइसेन्सले टिकटकलाई सिधै ऋण प्रदायक (Direct Credit Provider) को रूपमा काम गर्न वा ऋण लिने र दिनेहरू बीचको माध्यम बन्न अनुमति दिनेछ । यसबाट टिकटकले आम्दानीको नयाँ स्रोत सिर्जना गर्न र ई-कमर्स प्लेटफर्महरूसँग प्रतिस्पर्धा गर्न खोजेको छ ।
सन् २०२१ मा परीक्षण सुरु भई २०२३ मा अमेरिकामा लन्च गरिएको टिकटक शपले अमेजन र सेन (Shein) जस्ता ठुला ई-कमर्स कम्पनीहरूलाई कडा टक्कर दिइरहेको छ । तथ्याङ्क अनुसार टिकटक शपको अमेरिकी बिक्री सन् २०२४ मा ४०७% र सन् २०२५ मा १०८% ले बढेर १५.८२ अर्ब डलर पुगेको छ ।
सन् २०२७ सम्ममा अमेरिकाको कूल सोसल कमर्समा यसको हिस्सा २४.१% पुग्ने अनुमान गरिएको छ । हालै यसले लक्जरी रिटेल र गिफ्ट कार्डको क्षेत्रमा पनि आफ्नो सेवा विस्तार गरेको छ ।
म्युजिक क्षेत्रमा आफ्नो प्रभाव जमाएको टिकटकले सन् २०२३ मा टिकटक म्युजिक नामक स्ट्रिमिङ सेवा सुरु गरे पनि एक वर्षमै बन्द गरेको थियो । तर अहिले यसले एप्पल म्युजिकसँग सहकार्य गर्दै प्रयोगकर्तालाई एपभित्रै पुरा गीत सुन्न सकिने सुविधा दिएको छ ।
यति मात्र नभई, टिकटकले नेटफ्लिक्स जस्ता स्ट्रिमिङ दिग्गजहरूसँग प्रतिस्पर्धा गर्न माइक्रोड्रामा (एक मिनेटका शृङ्खलाबद्ध शोहरू) र मिनिस सेक्सन पनि सुरु गरेको छ । प्रयोगकर्तालाई एपमा बढी समय बिताउन आकर्षित गर्नका लागि टिकटकले विभिन्न क्याजुअल गेमहरू पनि उपलब्ध गराएको छ ।
यसरी टिकटकले आफूलाई केवल भिडिओ हेर्ने माध्यमबाट बदलेर डिजिटल जीवनका हरेक आवश्यकता पूरा गर्ने एउटा विशाल इकोसिस्टमको रूपमा स्थापित गर्दै लगेको छ ।
पछिल्लो अध्यावधिक: जेठ १७, २०८३ १५:२९
