close

झापामा अन्तर्राष्ट्रिय एआई सम्मेलन हुँदै, यसरी बन्नुहोस् सहभागी

टेकपाना टेकपाना

असार ३, २०८२ १०:२१

झापामा अन्तर्राष्ट्रिय एआई सम्मेलन हुँदै, यसरी बन्नुहोस् सहभागी

काठमाडौँ । झापाको बिर्तामोडमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको सम्मेलन हुने भएको छ । नुमा डिजिटल फर्मको आयोजना तथा मेची बहुमुखी क्याम्पसको सह-आयोजनामा १४ र १५ असारमा दुई दिने सम्मेलन हुन लागेको हो ।

‘इन्टरनेसनल कन्फरेन्स अन रिसेन्ट ट्रेन्ड्स इन आर्टिफिसियल इन्टेलिजेन्स (ICRTAI 2025)’ नाम दिइएको यस सम्मेलनले विशेषगरी कृषि, स्वास्थ्य, शिक्षा र वित्तीय प्रविधि (फिनटेक) को क्षेत्रमा एआईको प्रयोगलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ ।

सम्मेलनका संयोजक तथा मेची बहुमुखी क्याम्पसका आईटी विभाग प्रमुख सुनिल शर्माका अनुसार कार्यक्रममा नेपालका साथै अमेरिका, जापान, कोरिया र भारतका प्राध्यापक तथा विषय विज्ञहरूले रिसर्च पेपर प्रस्तुत गर्नेछन् । “यो हाइब्रिड ढाँचाको सम्मेलन हो जहाँ विदेशी विज्ञहरूले भौतिक तथा भर्चुअल माध्यमबाट आफ्नो प्रस्तुति राख्नुका साथै र अनुभव साट्नुहुनेछ,” शर्माले भने ।

दुई दिने सम्मेलनमा विज्ञहरूबाट मुख्य प्रस्तुति, ‘नेपालमा एआईको भविष्य’ शीर्षकमा प्यानल छलफल, विद्यार्थीका लागि आइडिया प्रस्तुत गर्ने अवसर, प्रोजेक्ट तथा सफ्टवेयर प्रदर्शनी र नेटवर्किङ जस्ता कार्यक्रम हुने शर्माले जानकारी दिए । कार्यक्रमले युवा आविष्कारक, अनुसन्धानकर्ता, स्टार्टअप, नीति निर्माता र विश्वभरका विज्ञहरूलाई एउटै मञ्चमा ल्याउने आयोजकको विश्वास छ ।

सम्मेलनमा सहभागी हुनका लागि आवेदन खुला गरिएको छ । कार्यक्रममा सहभागी हुन, रिसर्च पेपर वा पोस्टर प्रस्तुत गर्न तथा संस्थागत रूपमा भाग लिन चाहने सबैका लागि एकीकृत रूपमा पाँच हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ । संयोजक शर्माका अनुसार उक्त शुल्कमा दुई दिनको खाना, खाजा तथा सम्मेलन सामग्री समावेश हुनेछन् । तर बसोबासको व्यवस्था भने सहभागी आफैँले गर्नुपर्नेछ ।

शर्माले भने, “रिसर्च पेपर प्रस्तुत गर्न चाहनेहरूको लागि छनोट प्रक्रिया रहनेछ । तर सामान्य सहभागीका लागि भने दर्ता गरेर जो कोही पनि सामेल हुन सक्नुहुन्छ ।” इच्छुक व्यक्तिले यहाँ क्लिक गरेर वा कार्यक्रम स्थलमै भौतिक रूपमा उपस्थित भएर पनि दर्ता गर्न सक्नेछन् । दर्ता गरिसकेपछि आयोजकले नै सम्पर्क गर्नेछन् । 

सम्मेलनको मुख्य अतिथिमा काठमाडौँ विश्वविद्यालयका प्रध्यापक प्राडा. सुदन झा, प्रमुख संरक्षकमा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा. बिजुकुमार थपलिया रहेका छन् भने सम्मेलन अध्यक्ष (प्राज्ञिक)मा त्रिभुवन विश्वविद्यालय, आईटी इनोभेसन सेन्टरका निर्देशक प्राडा. सुवर्ण शाक्य छन् । यसैगरी काठमाडौँ विश्वविद्यालय, पोखरा विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय लगायत विभिन्न विश्वविद्यालयका प्राध्यापक तथा विज्ञहरू सल्लाहकार समितिमा रहेका छन् ।

पछिल्लो अध्यावधिक: असार ३, २०८२ ११:६