close

पुस १८ र १९ मा ‘फिनटेक एक्स्पो’, ६० बढी स्टल रहने

टेकपाना टेकपाना

मंसिर २४, २०८२ १९:१४

पुस १८ र १९ मा ‘फिनटेक एक्स्पो’, ६० बढी स्टल रहने

काठमाडौँ । आगामी १८ र १९ पुसमा ‘फिनटेक एक्स्पो २०२६’ हुने भएको छ । फिनटेक अलायन्स नेपालको आयोजनामा ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा हुने एक्स्पोले डिजिटल वित्तीय सेवा प्रवाह गर्दै आएका बैंक तथा वित्तीय संस्थाहरू र प्रविधि प्रवर्तकलाई एकै ठाउँमा जोड्ने जनाइएको छ ।

फिनटेक अलायन्सका अध्यक्ष तथा खल्तीका सह-संस्थापक अमित अग्रवालले पछिल्लो समय डिजिटल बैंकिङमा तीव्र परिवर्तन भइरहेकाले भविष्यका लागि सोही अनुसारको प्रविधि तयार पार्न यो एक्स्पो महत्त्वपूर्ण हुने बताए । “नयाँ पुस्ताले एप खोलेर पासवर्ड राख्दै भुक्तानी गर्नुभन्दा भ्वाइसबाटै सबै काम गर्न रुचाउन सक्छन्,” उनले भने, “यस्तै किसिमका प्राविधिक विकासका लागि ‘टेक एक्सपर्ट’ खोज्न बैंक तथा वित्तीय संस्थालाई यो एक्स्पोले सघाउनेछ ।”

उनका अनुसार एक्स्पोमा ६० देखि ६५ ओटासम्म स्टल रहनेछन् । जहाँ डिजिटल फाइनान्स, भुक्तानी प्रणाली, बैंकिङ प्रविधि, इम्बेडेड फाइनान्स, साइबर सुरक्षा, क्लाउड बैंकिङ, इन्टरनेट सेवा प्रदायक, डेटा सेन्टर, एआई, केवाईसी, एएमएल तथा जब पोर्टल लगायतका सेवा प्रदायकहरूले आ-आफ्नो सेवाबारे जानकारी दिनेछन् । हालसम्म ३४ स्टल बुक भइसकेको र एक साताभित्र सबै स्टल बुक भइसक्ने उनले बताए ।

एक्स्पोमा १० ओटा स्टार्टअपले पनि सहभागिता जनाउनेछन् । स्टलका लागि ५० हजार रुपैयाँ शुल्क तोकिएको छ भने फिनटेक अलायन्सका सदस्यहरूलाई बुकिङमा ५० प्रतिशत छुट उपलब्ध गराइने बताइएको छ ।

मेलामा डिजिटल ट्रान्सफर्मेसन, नेक्स्ट जेन पेमेन्ट टेक्नोलोजी, क्रेडिट स्कोरिङ, डेटा एनालिटिक्स, फन्ड म्यानेजमेन्ट, साइबर रेजिलिएन्स, फाइनान्सियल इन्क्लुजन, इम्बेडेड फाइनान्स, डिजिटल लेन्डिङ र भुक्तानी प्रणाली विस्तारजस्ता विषयमा छलफल तथा अनुभव आदानप्रदान हुनेछ ।

एक्स्पो अवलोकनका लागि सर्वसाधारणलाई १०० रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । नेपाल राष्ट्र बैंक, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल धितोपत्र बोर्ड तथा कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ लगायतका नियमनकारी निकायका कर्मचारीले भने आधिकारिक परिचयपत्र देखाएर निःशुल्क प्रवेश पाउनेछन् ।

दुई दिनसम्म चल्ने एक्स्पोमा फिनटेक इकोसिस्टमका चार हजारभन्दा बढीको सहभागिता रहने अपेक्षा गरिएको छ । एक्स्पोले सरोकारवालालाई एकै ठाउँमा ल्याएर नेपालको डिजिटल अर्थतन्त्रलाई दिगो रूपमा विस्तार गर्न योगदान पुर्‍याउने र यसलाई हरेक वर्ष निरन्तरता दिने अध्यक्ष अग्रवालले बताए ।

पछिल्लो अध्यावधिक: मंसिर २४, २०८२ १९:१४