‘साइबर सेक्युरिटी क्याप्चर द फ्ल्याग’ आयोजना गर्दै ट्रिनिटी टेक्नोलोजी, यसरी हुनुहोस् सहभागी
माघ २८, २०८२ १५:३५
काठमाडौँ । ट्रिनिटी टेक्नोलोजीले ‘साइबर सेक्युरिटी क्याप्चर द फ्ल्याग’ प्रतियोगिता आयोजना गर्ने भएको छ । विद्यार्थीहरूको साइबर सुरक्षासम्बन्धी सीप अभिवृद्धि गर्ने र उनीहरूलाई व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले आगामी २ फागुन (१४ फेब्रुअरी ) मा प्रतियोगिता आयोजना हुने भएको हो ।
माछापोखरी शपिङ सेन्टरमा रहेको ट्रिनिटी टेक्नोलोजी प्रालिको कार्यालयमा प्रतियोगीता आयोजना हुनेछ । कम्पनीका सह-संस्थापक समिर देवकोटाका अनुसार प्रतियोगितामा सहभागीता जनाउने प्रतिस्पर्धीहरूले उद्योगलाई आवश्यक पर्ने व्यावहारिक चुनौतीहरू समाधान गर्नुपर्नेछ ।
यसले विद्यार्थीहरूलाई साइबर सुरक्षाको क्षेत्रमा एक्सपोजर दिनुका साथै उनीहरूको सीप विकास र पहिचानमा मद्दत पुर्याउने आयोजकको भनाई छ । यहाँ क्लिक गरेर प्रतियोगीतामा सहभागीता जनाउन सकिने छ । प्लस टुदेखि स्नातकोत्तर तहसम्मका विद्यार्थीहरूले ३३३ रुपैयाँ तिरेर प्रतिस्पर्धामा सहभागीता जनाउन सक्नेछन् ।
प्रतियोगिताको विजेताले नगद ३० हजार नगद रुपैयाँ पुरस्कारका साथै २४९ डलर बराबरको सर्टिफाइड रेड टिम प्रोफेसनल (CRTP) को भाउचर प्राप्त गर्नेछन् । नगद बाहेक उत्कृष्ट स्थान हासिल गर्ने २५ जना सहभागीहरूका लागि लाखौँ रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय सर्टिफिकेसन परीक्षाको भौचरको व्यवस्था समेत गरिएको छ ।
प्रतियोगीतामा शीर्ष पाँचमा पर्न सफल हुनेलाई ४२५ डलर बराबरको 'एपीआई सेक्युरिटी सर्टिफाइड प्रोफेसनल' (ASCP) परीक्षा भौचर, शीर्ष १० लाई ३२५ डलर बराबरको 'एपीआई सेक्युरिटी सर्टिफाइड प्राक्टिसनर' (ACP) परीक्षा भौचर र शीर्ष २५ मा पर्न सफल हुने सहभागीलाई १२५ डलर बराबरको 'सर्टिफाइड एपीआई सेक्युरिटी एनालिस्ट' परीक्षा भौचर प्रदान गरिने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: माघ २८, २०८२ १५:३५
