close

वर्ल्डलिंकले नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्दै, अघि बढायो छनोट प्रक्रिया

टेकपाना टेकपाना

साउन ९, २०८२ १७:३

वर्ल्डलिंकले नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्दै, अघि बढायो छनोट प्रक्रिया

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति गर्ने प्रक्रिया अघि बढाएको छ । 

सामाजिक सञ्जाल लिङ्क्डइनमार्फत् प्रमुख कार्यकारी अधिकृतका लागि भ्याकेन्सी खुलाएको वर्ल्डलिंकले व्यवस्थापकीय नेतृत्वलाई समयसापेक्ष रूपमा अघि बढाउन खोजेको हो । पटकपटक विदेशी लगानीसमेत भित्र्याइरहेको वर्ल्डलिंकले नयाँ सीईओ नियुक्त गर्न लागेको छ ।  

इच्छुक आवेदकसँग उच्च व्यवस्थापकीय नेतृत्वमा न्यूनतम् १५ वर्ष काम गरेको अनुभव चाहिन्छ भने न्यूनतम् पाँच वर्ष सीईओ, सीओओ वा महाप्रबन्धक पदमा पूर्ण जिम्मेवारीसहित काम गरेको हुनुपर्नेछ ।

यस्तै, इच्छुकसँग वर्ल्डलिंकले पुँजीबजार/प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ)मा अनुभव हुनुपर्ने समेत जनाएको छ । वर्ल्डलिंकले अबको तीन वर्षभित्र कम्पनीको आईपीओ जारी गर्ने तयारी गरिरहेको छ ।   

नियुक्त हुने आवेदकले पहिलो ६ महिना प्रमुख सञ्चालन अधिकृत (सीओओ)का रुपमा ट्रान्जिसन पिरियड गुजारेपछि मात्रै सीईओको पूर्ण जिम्मेवारी पाउने छन् ।

"वर्ल्डलिंकले नयाँ सीईओ खोजिरहेको छ । तपाईंलाई थाहा छ जो हामीले तोकेका सर्तमा काबिल छ?," वर्ल्डलिंकका अध्यक्ष दिलिप अग्रवालले लिङ्क्डइनमा पोस्ट गरिएको भ्याकेन्सी रिपोस्ट गर्दै लेखेका छन् ।

हाल वर्ल्डलिंकको सीईओ केशव नेपाल छन् । नेपाल आफैंले पनि ‘The Transformative CEO Opportunity’ भन्दै इच्छुक र योग्यता पुगेकालाई आवेदन दिन आग्रह गर्दै लिङ्क्डइनमा पोस्ट गरिएको भ्याकेन्सी रिपोस्ट गर्दै लेखेका छन् ।

भ्याकेन्सीबारे विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नसक्नुहुन्छ । 

पछिल्लो अध्यावधिक: साउन ९, २०८२ १७:३