राजदूतका लागि आवेदनको चापले सर्भरमा समस्या, वैकल्पिक लिङ्कबाट फाराम भर्न आग्रह
जेठ २०, २०८३ १२:९
काठमाडौँ । विभिन्न देशका लागि नेपालको राजदूत पदमा आवेदन दिनको सङ्ख्या अत्यधिक भएपछि परराष्ट्र मन्त्रालयको आवेदन प्रणालीमा समस्या देखिएको छ । राजदूत नियुक्तिका लागि आवेदन खुला गरेपछि अत्यधिक ट्राफिकका कारण मुख्य आवेदन प्रणालीमा प्राविधिक समस्या आएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले मङ्गलबार एक सूचना जारी गर्दै राजदूत बन्न इच्छुक व्यक्तिहरूबाट ठुलो सङ्ख्यामा आवेदन आउँदा केही आवेदकहरूले सर्भर त्रुटि (सर्भर इरर) सामना गरेको जनाएको हो । आवेदन प्रक्रिया सहज र अवरोध रहित बनाउन मन्त्रालयको सूचना प्रविधि टोलीले छुट्टै वैकल्पिक पोर्टल सञ्चालनमा ल्याएको छ ।
मन्त्रालयले इच्छुक आवेदकहरूलाई वैकल्पिक लिङ्क https://mofa.gov.np/form/update-form-1/ मार्फत आवेदन फाराम भरी पेश गर्न आग्रह गरेको छ । यद्यपि, यसअघि मुख्य पोर्टलमार्फत सफलतापूर्वक आवेदन पेश गरी पुष्टि गरिसकेका आवेदकहरूले पुनः आवेदन दिन आवश्यक नरहेको मन्त्रालयले स्पष्ट पारेको छ । सरकारले १५ जेठमा पहिलो पटक खुला प्रतिस्पर्धामार्फत राजदूत नियुक्तिका लागि आवेदन माग गरेको थियो ।
परराष्ट्र मन्त्रालयले भारत, चीन, अमेरिका, बेलायत, अस्ट्रेलिया, इजरायल, दक्षिण कोरिया, अस्ट्रिया, बहराइन, बंगलादेश, मलेसिया, ओमान र साउदी अरेबियाका लागि राजदूत पदमा आवेदन माग गरेको छ । परराष्ट्र मन्त्रालयले राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ लाई आधार मानेर राजदूतको न्यूनतम आवश्यक योग्यता तय गरेको छ ।
मन्त्रालयको वेबसाइटबाट अनलाइन फारमसँगै आवेदकले आफ्नो व्यावसायिक अनुभव, शैक्षिक योग्यता, प्रकाशन तथा सार्वजनिक सेवासम्बन्धी इतिहासको विस्तृत विवरण समेटिएको विस्तृत व्यक्तिगत विवरण (सीभी वा बायोडाटा) पनि अपलोड गर्नुपर्नेछ । राजदूत पदका लागि ५ जुन साँझ ५ बजेभित्रमा आवेदन दिएका आवेदकहरुलाई मात्र प्रतिस्पर्धामा सहभागी गराइनेछ ।
पछिल्लो अध्यावधिक: जेठ २०, २०८३ १२:९
