एआई मार्फत बालबालिकाको उमेर पहिचान गर्दै युट्युब, १८ वर्षमाथिको देखाएको पाइए रोक लगाउने
साउन १४, २०८२ १९:४५
काठमाडौँ । युट्युबले आफ्नो प्लेटफर्ममा बालबालिकाको सुरक्षालाई लिएर एउटा महत्त्वपूर्ण कदम चाल्ने भएको छ । आगामी महिनादेखि युट्युबले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित उमेर अनुमान प्रविधिको प्रयोग गरी १८ वर्ष मुनिका प्रयोगकर्ताहरूलाई पहिचान गर्ने भएको हो ।
आगामी १३ अगस्टदेखि लागु हुने नयाँ नीतिको सुरुवात अमेरिकाबाट हुने बताइएको छ । जहाँ युट्युबले प्रयोगकर्ताको गतिविधि र अकाउन्टको उमेरका आधारमा १८ वर्ष मुनिका प्रयोगकर्ताहरू पत्ता लगाउनेछ, जसको आधारमा कम्पनीले स्वचालित रूपमा अकाउन्टमाथि 'रेस्ट्रिक्सन' (निषेध) लागु गर्न सक्नेछ ।
यस्ता अकाउन्टहरूले हाल १८ वर्ष मुनिका भनेर स्वः घोषणा गर्ने प्रयोगकर्ताहरूलाई प्रदान गरिने समान सुरक्षात्मक उपायहरू प्राप्त गर्नेछन् । जसमा एज रेस्ट्रिक्टेड भिडिओमा पहुँच निषेध, नन्-पर्सनलाइज्ड विज्ञापन र टेक अ ब्रेक नोटिफिकेसन रहेका छन् । यस बाहेक शरीरको बनावट जस्ता संवेदनशील विषयहरूमा दोहोरिने भिडिओ सजेसनमा सीमा लगाइन्छ भने प्रयोगकर्ताले भिडिओ अपलोड गर्दा वा कमेन्ट गर्दा गोपनीयता सम्बन्धी रिमाइन्डर स्वचालित रूपमा अन हुन्छ ।
गुगलले यस वर्षको सुरुमै उमेर अनुमानका लागि मसिन लर्निङ प्रयोग गर्ने योजना अघि सारेको थियो । जुन अनलाइन बाल सुरक्षामा भइरहेको विश्वव्यापी कारबाहीसँग मेल खान्छ । हालै, बेलायतमा अनलाइन उमेर प्रमाणीकरण नियम लागु भएको छ, जसले प्रयोगकर्ताहरूलाई अश्लील वा हानिकारक मानिने सामग्री भएका साइटहरूमा आफ्नो उमेर प्रमाणित गर्नुपर्ने बनाएको छ ।
धेरै राज्यहरूले अश्लील साइटहरूमा नाबालिगहरूको पहुँच रोक्ने कानुन पारित गरेका छन् । जबकि सामाजिक सञ्जाल प्लेटफर्महरूमा उमेर-गेट लगाउने प्रयासहरू प्रायः असफल भएका छन् । युरोपेली सङ्घले पनि उमेर प्रमाणीकरण प्रोटोटाइप परीक्षण गरिरहेको छ । जसलाई अन्ततः डिजिटल आईडीहरूसँग जोडिनेछ ।
यदि कुनै प्रयोगकर्तालाई १८ वर्ष मुनिको भनेर पत्ता लागेमा युट्युबले उनीहरूलाई सूचित गर्नेछ । तर, यदि प्लेटफर्मले गलत ढङ्गले उक्त नोटिफिकेसन पठाएको भन्ने लागेमा प्रयोगकर्ताहरूले आफ्नो उमेर खुल्ने सरकारी परिचयपत्र अपलोड गरेर, सेल्फी लिएर वा क्रेडिट कार्ड विवरण राखेर प्रमाणित गर्न सक्नेछन् ।
युट्युबका उत्पादन व्यवस्थापन निर्देशक जेम्स बेसरका अनुसार यो परिवर्तन सुरुमा अमेरिकाका सीमित प्रयोगकर्ता माझ लागु गरिनेछ । त्यसपछि युट्युबले यसलाई गहिरो निगरानीका साथ अन्य देशहरूमा विस्तार गर्नेछ ।
युट्युबको यो नीतिका कारण केही कन्टेन्ट क्रियटरहरूले आफ्नो भ्युअर क्याटेगरीमा किशोर-किशोरीको रूपमा वर्गीकृत दर्शकहरूमा परिवर्तनको अनुभव गर्न सक्ने युट्युबले जनाएको छ । यसले विज्ञापन आयमा कमी ल्याउन सक्ने सम्भावना समेत रहेको छ । किनभने युट्युबले नाबालिगहरूलाई पर्सनलाइज्ड विज्ञापनहरू देखाउँदैन ।
पछिल्लो अध्यावधिक: साउन १४, २०८२ २०:५५
