युट्युब सर्ट्समा थपिए नयाँ फिचर: २ गुणा स्पिडमा भिडियो हेर्न सकिने, ‘लाइक’ र ‘डिस्लाइक’ बटन हट्ने
असार १२, २०८३ १२:८
काठमाडौं । युट्युबले छोटो भिडियो प्लेटफर्म ‘युट्युब सर्ट्स’ हेर्ने अनुभवलाई अझ सहज र कम अवरोधयुक्त बनाउन विभिन्न नयाँ फिचर सार्वजनिक गरेको छ । नयाँ अपडेटपछि प्रयोगकर्ताले भिडियो हेर्दा स्क्रिनमा देखिने बटन र आइकन लुकाउन सक्नेछन् भने भिडियो दुई गुणा गतिमा हेर्ने सुविधा पनि पाउनेछन् । कम्पनीका अनुसार यी अपडेटहरू क्रमशः विश्वभरका प्रयोगकर्तामा उपलब्ध गराइनेछन् ।
कम्पनीको ब्लग पोस्ट अनुसार भिडियोलाई लगभग पूरा स्क्रिनमा कुनै अवरोधबिना हेर्न सकिने ‘क्लियर स्क्रिन’ फिचर थपिएको छ । यो फिचर सक्रिय गरेपछि लाइक, कमेन्ट, शेयरलगायतका बटन र अन्य इन्टरफेस केही समयका लागि हराउनेछन् । प्रयोगकर्ताको ध्यान भिडियोमै केन्द्रित गराउने उद्देश्यले यो सुविधा ल्याइएको हो ।
यससँगै सर्ट्समा २ गुणा प्लेब्याक स्पिड पनि थपिएको छ । अब प्रयोगकर्ताले छोटो भिडियो अझ छिटो हेर्न सक्नेछन् । प्रयोगकर्ताले भिडियोमा प्रतिक्रिया जनाउने तरिकामा पनि परिवर्तन गरिएको छ । हालसम्म प्रयोग हुँदै आएको ‘लाइक’ (थम्ब्स अप) आइकन हटाएर ❤️ (हार्ट) आइकन राख्ने भएको छ । कम्पनीका अनुसार यसले भडियोमा दिइने प्रतिक्रियालाई अझ अर्थपूर्ण बनाउने छ ।
त्यसैगरी, युट्युबले ‘डिसलाइक’ बटन हटाउँदै यसको सट्टा ‘रुचि छैन’ (Not Interested) र ‘यो च्यानल सिफारिस नगर्नू’ (“Don’t recommend this channel) भन्ने विकल्पलाई प्राथमिकता दिएको छ । यसले प्रयोगकर्ताले हेर्न नचाहेको सामग्रीलाई एल्गोरिदमले अझ राम्रोसँग बुझ्न र सिफारिस प्रणाली सुधार्न सहयोग गर्नेछ । यदि कुनै भिडियोले कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गरेको जस्तो लागेमा भने प्रयोगकर्ताले पहिलेजस्तै रिपोर्ट गर्न सक्नेछन् ।
सर्ट्सलाई अझ सरल, छरितो र प्रयोगकर्तामैत्री बनाउन यी अपडेट ल्याइएको युट्युबले जनाएको छ।
पछिल्लो अध्यावधिक: असार १२, २०८३ १२:८
