युट्युबले एआई भिडियोहरू अब स्वचालित रूपमा लेबल गर्ने, मनिटाइजेसनमा असर नपर्ने
जेठ १४, २०८३ ६:३४
काठमाडाैँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मार्फत भिडियो निर्माण गर्ने प्रविधि तीव्र रूपमा विकसित भइरहेका बेला युट्युबले अब एआई सामग्री चिनाउन क्रियटरमा मात्र भर नपर्ने भएको छ । कम्पनीले मे महिनादेखि नै आफ्नै स्वचालित प्रणाली प्रयोग गरेर पनि एआई प्रयोग भएका भिडियोमा लेबल थप्ने घोषणा गरेको हो ।
युट्युबका अनुसार यदि प्रणालीले Photorealistic र एआईमार्फत उल्लेखनीय रूपमा परिवर्तन गरिएको वा सिर्जना गरिएको सामग्री प्रयोग भएको पत्ता लगायो भने त्यस्तो भिडियोमा स्वतः एआई लेबल देखाइनेछ । युट्युबले क्रियटरले स्वयं एआई प्रयोगबारे खुलाउनुपर्ने नीति पहिलेदेखि नै लागू गरिरहेको छ । तर अब क्रियटरले खुलासा नगरे पनि युट्युबले लेबल लगाउने भएकाे हाे ।
लामा भिडियोहरु र युट्युब शर्टस् दुवैमा सहजै पहिचान गर्न सकिने गरी युट्युबले आफ्ना एआई लेबललाई अझ स्पष्ट र सजिलै देखिने बनाउने भएको छ । युट्युबका अनुसार लामा भिडियाेहरुमा अब एआई लेबल भिडियो प्लेयरको ठीक तल तर विवरण (description) भन्दा माथिल्लो भागमा देखाइनेछ । शर्ट्समा भने उक्त्त लेबल भिडियोकै माथि ओभरले (overlay) को रूपमा देखिनेछ।
अवास्तविक, एनिमेसन गरिएका (animated) वा आंशिक रूपमा मात्र परिवर्तन गरिएका कन्टेन्टमा भने विस्तारित विवरण भित्र जानकारी देख्न सिकनेछ । याे प्रणाली विकसित हुँदै जाँदा क्रियटरहरूकाे नियन्त्रण कायमै राखिएकाे युट्युबले जनाएकाे छ । कम्पनीका अनुसार यदि कुनै क्रियटरलाई आफ्नो सामग्रीलाई गल्तीले एआई निर्मित भनेर लेबल लगाएकाे जस्ताे लागेमा युट्युब स्टुडियो मार्फत त्यसलाई सच्याउन सक्नेछन् ।
तर केही अवस्थाहरूमा भने एआई खुलासा (AI disclosure) वा लेबलहरू स्थायी रहने युट्युबले जनाएको छ । भिओ वा ड्रिम स्क्रिन जस्ता युट्युबका आफ्नै एआई उपकरणहरू प्रयोग गरी बनाइएका र पूर्ण रूपमा जनरेटिभ एआई प्रयोग भएको संकेत गर्ने C2PA मेटाडेटा समावेश भएका सामग्रीहरूमा स्थायी रूपमा लेबल रहनेछ ।
यी परिवर्तनहरू पारदर्शिता र क्रियटरकाे नियन्त्रणबिच सन्तुलन कायम गर्न लक्षित गरिएको युट्युबले जनाएको छ । कम्पनीका अनुसार एआई लेबल मात्रका आधारमा कुनै भिडियोको सिफारिस (recommendation) प्रणालीमा परिवर्तन हुँदैन । साथै, यसले भिडियोको मनिटाइजेसन योग्यतामा पनि असर नगर्ने युट्युबले जानकारी गराएकाे छ ।
पछिल्लो अध्यावधिक: जेठ १४, २०८३ ७:५
