close

एनआईईटीः बायोमेडिकल इन्जिनियरिङ पढाउने नेपालको एक्लो कलेज, कस्तो छ पढाई अनि कति लाग्छ खर्च ?

रञ्जिता उप्रेती रञ्जिता उप्रेती

साउन २१, २०८२ १६:११

एनआईईटीः बायोमेडिकल इन्जिनियरिङ पढाउने नेपालको एक्लो कलेज, कस्तो छ पढाई अनि कति लाग्छ खर्च ?

 

काठमाडौँ । सन् २००५ देखि नेसनल इन्टिच्युट अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजी (एनआईईटी) ले नेपालमा बायोमेडिकल इन्जिनियरिङ अध्यापन गराउँदै आएको छ । ललितपुरको कुपण्डोलबाट सञ्चालित यो क्याम्पसले नेपालमा सबैभन्दा पहिला बायो मेडिकल कोर्स पढाउन सुरु गरेको हो । जहाँ सैद्धान्तिक सिकाई भन्दा पनि प्रयोगात्मक ज्ञानमा जोड दिइन्छ । 

४०० जना विद्यार्थी अध्ययनरत रहेको यस क्याम्पसमा ५० जना कर्मचारी छन् । ल्याबमा विद्यार्थीले धेरै समय बिताउने भएकाले कर्मचारी सङ्ख्या धेरै भएको क्याम्पसले जनाएको छ । विश्वविद्यालयबाट ६० प्रतिशत सैद्धान्तिक र ४०% प्रयोगात्मक परीक्षा लिने भए पनि यस क्याम्पसमा विद्यार्थीले अधिकांश सैद्धान्तिक ज्ञान समेत प्रयोगात्मक तरिकाबाटै लिन्छन् । 

क्याम्पसमा बायोमेडिकल इन्जिनियरिङको कोर्समा १४४ जना विद्यार्थी , कम्प्युटर इन्जिनियरिङ र बीटेक इन एआईमा ४८/४८ जना विद्यार्थी कोटा निर्धारण गरिएको छ । 

शब्द-चित्रमा एनआईईटी (NIET)

कलेज नाम: नेसनल इन्टिच्युट अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजी

सम्बन्धन प्राप्त संस्था/ विश्वविद्यालय: पूर्वाञ्चल विश्वविद्यालय

संस्थापक: विश्वप्रकाश श्रीवास्तव

स्थापना मिति: २ फेब्रुअरी २००५

कलेजको प्रकार: निजी

अध्यक्ष: लक्ष्मण पोखरेल

क्याम्पस प्रमुख: सूर्यप्रसाद अर्याल 

शिक्षक/कर्मचारी सङ्ख्या: ५०

विद्यार्थी सङ्ख्या: ४००

सम्पर्क विवरणहरू :

वेबसाइट: www.niet.edu.np 

टेलिफाेन/मोबाइल नम्बर: ०१-५९११८९५

ईमेल: [email protected] 

ठेगाना: ललितपुर महानगरपालिका-१, कुपण्डोल 

सामाजिक सञ्जाल:  फेसबुक, इन्स्टाग्रामयुट्युब 

शैक्षिक कार्यक्रमहरू:

स्नातक तहमा: बायोमेडिकल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ र बी टेक इन एआई 

स्नातकोत्तर तह: आगामी शैक्षिक सत्रमा मास्टर्स इन बायोमेडिकल इन्जिनियरिङ ल्याउने तयारी

१. बायोमेडिकल इन्जिनियरिङ

बायोमेडिकल इन्जिनियरिङमा जैविक विज्ञान र चिकित्साशास्त्रमा इन्जिनियरिङ सिद्धान्तहरूको प्रयोग गरेर प्रविधिको डिजाइन गर्ने तरिकाहरू सिकाइन्छ । जुन सीपले बायोमेडिकल इन्जिनियरहरूले स्वास्थ्य क्षेत्रमा भएका समस्या समाधानका लागि प्रविधिको डिजाइन तथा विकास गर्ने काम गर्छन् ।

मानव शरीरका अङ्ग प्रत्यारोपणका उपकरणहरू बनाउने, उपचारमा प्रयोग हुने उपकरणहरू सहित चिकित्सा उपकरणहरू बनाउने सम्मको काम यसले समेट्छ । बायोमेडिकल इन्जिनियरिङमा स्नातक पास भएका विद्यार्थीहरूले नेपालका सरकारी तथा निजी अस्पतालमा सहजै काम पाउने गरेको क्याम्पसको दाबी छ । 

२. कम्प्युटर इन्जिनियरिङ

कम्प्युटर इन्जिनियरिङतर्फ कम्प्युटर साइन्सका मूलभूत सिद्धान्तहरूलाई इन्जिनियरिङसँग जोडेर हार्डवेयर, सफ्टवेयर, प्रोग्रामिङ, नेटवर्किङ र डेटा व्यवस्थापनका कुरा सिकाइन्छ । कम्प्युटर इन्जिनियरिङ पढेर इन्टेलिजेन्स कम्प्युटिङ सिस्टम निर्माण, प्रविधिका विभिन्न समस्या समाधान र नयाँ प्रविधिको विकास गर्न सकिन्छ ।

३. बी टेक इन एआई

यस कोर्समा कम्प्युटर साइन्स, म्याथ र डेटा साइन्सको ज्ञानलाई समेटेर विद्यार्थीलाई इन्टेलिजेन्स सिस्टम बनाउन र समस्याको समाधान गर्ने सीप सिकाइन्छ । यो विषय पढेर एआई मोडेलहरू निर्माण गर्ने, ठुला डेटासेटहरूको विश्लेषण गर्ने, इन्टेलिजेन्स  एप्लिकेसनहरू विकास गर्ने तथा कम्प्युटर भिजन इन्जिनियर बन्ने लगायतका अवसरहरू प्राप्त गर्न सकिन्छ । 

+२ वा सो सरहको मान्यता पाएका कोर्सहरूमा गणित, भौतिकशास्त्र, रसायन विज्ञान र अङ्ग्रेजीमा सी ग्रेड ल्याएका विद्यार्थीले यी कोर्सहरू पढ्न पाउँछन् । यसका लागि तीन वर्षे डिप्लोमा र ९-१२ कक्षासम्म प्राविधिक शिक्षा पढेका विद्यार्थीले कूल जीपीए २.० वा ४५% ल्याउनुपर्छ भने गणित, भौतिकशास्त्र, रसायन विज्ञान र अङ्ग्रेजी पढ्नेले सी ग्रेड ल्याउनुपर्छ । 

ए लेभल अध्ययन गर्ने विद्यार्थीका लागि भने गणित, भौतिकशास्त्र, रसायन विज्ञान र अङ्ग्रेजीमा डी ग्रेड अनिवार्य ल्याउनुपर्छ । यी सबै विषयहरू चार वर्षे कोर्सअन्तर्गत आठ सेमेस्टरमा अध्यापन हुँदै आएका छन् । 

शुल्क संरचना: स्नातक तहमा बायोमेडिकल इन्जिनियरिङका लागि १३ लाख ५० हजार, कम्प्युटर इन्जिनियरिङ तथा बी टेक इन एआई विषयमा १२ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

कोटा सङ्ख्या: बायोमेडिकल इन्जिनियरिङमा १४४, कम्प्युटर इन्जिनियरिङ र बी टेक इन एआईमा समान ४८/४८ जना विद्यार्थीको कोटा निर्धारण 

छात्रवृत्ति: विश्वविद्यालयको नियमअनुसार १० % पूर्ण छात्रवृत्ति । 

पूर्वाधारहरू: अत्याधुनिक तीन ओटा कम्प्युटर ल्याबसँगै एआई ल्याब, रोबोटिक्स ल्याब, मेकानिकल ल्याब, इलेक्ट्रोनिक्स ल्याब, रिसर्च सेन्टर लगायत बायोमेडिकलका सबै आवश्यक ल्याबहरू । साथै एक्स-रे, सीटी स्क्यान लगायतका मसिनहरू पनि उपलब्ध ।

 

क्याम्पसले पाएको पुरस्कार/प्रमाणपत्र/मान्यता: विश्वविद्यालय अनुदान आयोग (यूजीसी) द्वारा मान्यता प्राप्त । शिक्षा मन्त्रालयबाट उत्कृष्ट निजी इन्जिनियरिङ कलेजद्वारा पुरस्कृत

पछिल्लो अध्यावधिक: साउन २३, २०८२ १६:३