बिल गेट्सलाई भेटेर नेपाली विन्डोज तयार पार्ने एलेन तुलाधर, एक अभियन्ताको निरन्तर यात्रा
साउन २४, २०८२ २०:२५
काठमाडौँ । एलेन बैलोचन तुलाधर । नेपालको सूचना प्रविधि क्षेत्रका लागि एक परिचित नाम । दूरदृष्टि, अदम्य साहस र निरन्तरको कर्मले सिंगो परिदृश्य बदल्न चाहने पात्र । एक सफल उद्यमीको छवि बनाएका तुलाधर नेपालमा कम्प्युटरलाई सर्वसाधारणको पहुँचसम्म ल्याउने, नेपाली भाषालाई डिजिटल संसारमा सम्मानजनक स्थान दिलाउने र सयाैं युवालाई प्रविधिको मूलधारमा समाहित गर्ने एक पथप्रदर्शक हुन् ।
‘डु इट योरसेल्फ' भन्ने भावनाबाट सानैदेखि प्रेरित उनी अहिले उमेरले ६० लाग्दा पनि उत्तिकै सक्रिय जीवन बिताइरहेका छन् । पत्रपत्रिकामा कम्प्युटरको प्रयोग भित्र्याउनेदेखि नेपाली भाषामा माइक्रोसफ्टका उत्पादनहरूलाई स्थानीयकरण गर्नेसम्मका काम उनले गरेका छन् । त्यस्तै क्यान महासंघको स्थापनादेखि डिजिटल वित्तीय सेवामा अहिलेको वर्तमान प्रयाससम्म उनी जोडिएका छन् ।
धेरैले उनलाई एक दूरदर्शी उद्यमी र प्रविधि विज्ञको रूपमा चिनेका छन् । परिवारमा ठुला त्रासदीहरू झेल्दा पनि कर्मक्षेत्र छोडेका छैनन् उनले । यहीकारण त उनी व्यक्तिगत र व्यावसायिक जीवनमा एक जुझारु र प्रेरणादायी व्यक्तित्व रूपमा चिनिएका छन् ।

बाल्यकालदेखि नै प्रविधिको बिउ अङ्कुरण
विसं. २०२२ असार २२ मा व्यापारिक पृष्ठभूमि भएको काठमाडौंको खिचापोखरीमा एक नेवार परिवारमा जन्मिएका हुन् एलेन बैलोचन तुलाधर । परिवारको होटल व्यवसायले गर्दा उनले सानैदेखि विभिन्न संस्कृति र विदेशीहरूसँग घुलमिल हुने अवसर पाएका थिए । होटलमा विभिन्न देशका मान्छेहरू आउँथे । पिस कोर भोलेन्टियर्सदेखि हिप्पीहरूसम्म, उनको वरिपरि संसारका रंगहरू मिसिएझै हुन्थ्यो ।
खिचापोखरी र झोछेंको नजिकै भएकोले पनि उनको विदेशीहरूसँगको घुलमिल बाक्लो भयो । सायद यही कारणले होला, उनको सोचमा पश्चिमी प्रभाव देखियो । सानैदेखि ‘डु इट योरसेल्फ' जस्ता म्यागेजिन पढ्न थाले । यस्ता म्यागेजिन पढ्दा उनलाई आफैँ सानो किट्स बनाउने र नयाँ-नयाँ प्रोजेक्टहरू गर्ने प्रेरणा मिल्यो । त्यो यस्तो समय थियो, जतिबेला नेपालमा कम्प्युटर भन्ने शब्द नै धेरैका लागि नौलो थियो ।

सेन्ट जेभियर्स स्कुलमा पढ्दादेखि नै एलेनको मन प्रविधि र नवीनतातिर खिचिन थालिसकेको थियो । फोटोग्राफी क्लब चलाउनु, साथीहरूसँग मिलेर अङ्ग्रेजी म्यागेजिन प्रकाशनको आँट गर्नु, खाली सु-बक्सबाट प्रोजेक्टर बनाउने जस्ता प्रयासहरू उनीभित्र लुकेको प्राविधिक लगाव र उद्यमशीलताका प्रारम्भिक संकेतहरू थिए ।
उनको पूरा नाम केनेथ एलेन बैलोचन तुलाधर थियो । स्कुलका साथीहरू उनलाई ‘के एलेन’ भनेर बोलाउँथे रे । ‘बैलोचन’ बौद्ध धर्मसँग सम्बन्धित नाम भएपनि धेरैलाई यो थाहा थिएन । बुवा पर्यटक होटेल चलाउने भएकोले पश्चिमी नाम पनि जोडिएको हुनसक्ने उनी बताउँछन् । ‘केनेथ एलेन’ नाम कोलोम्बिया विश्वविद्यालयका एक प्रोफेसरबाट प्रेरित थियो । ती प्रोफेसर एलेनकै होटेलमा बस्थे । नेपालबाट हात्ती लगेर उनले स्यान डिएगो चिडियाखानालाई बेचेका थिए ।
एलेनलाई आफ्नो नाम सुरुमा त्यति मन पर्दैनथ्यो रे । तैपनि नामकै कारण उनी सधैं कक्षामा वा अन्य ठाउँमा सजिलै चिनिन्थे । तीन दाजुभाइमध्ये एलेन कान्छो हुन् । ठुलो दाइको नाम अमिताभ । अनि माइला दाई रत्न सम्भव । धार्मिक आस्था राख्ने परिवार भएका कारण उनीहरूको नाम परिवारले पञ्चबुद्धको नामबाट राखिदिएको थियो ।
ओ लेभल्स सकेपछि परिवारलाई एलेन विदेशमै बस्ने गरी जान्छन् कि भन्ने चिन्ता थियो । त्यसैले होला, उनको बिहे १८-१९ वर्षको उमेरमै भयो । त्यतिबेला श्रीमती सपना कक्षा ९ मा पढ्दै थिइन् । यो उमेरमा बिहे गर्नु सायद परिवारको सुरक्षाको भावना थियो । तर एलेनको भित्री चाहना भने प्रविधिको नयाँ संसार अन्वेषण गर्नु थियो ।

व्यावसायिक यात्रा
एलेनको व्यावसायिक यात्राको सुरुवात पनि निकै रोचक छ । कक्षा ९ मा पढ्दाखेरि नै उनले केही साथीहरूसँग मिलेर 'सोसाइटी टुडे' नामक एउटा म्यागेजिन चलाए । नेपाली र अङ्ग्रेजी दुवै भाषामा छापिने यो म्यागेजिन लगभग आठ-नौ अंकसम्म निस्कियो । आर्थिक रूपमा सफल नभए पनि हरेक महिना हजार कपी छाप्नु एउटा ठुलो आँट थियो । उनी आफैँ कन्टेन्ट लेख्नेदेखि साइकलमा पसल-पसलमा डेलिभरी गर्नेसम्मका काम गर्थे ।
पछि उनले अंग्रेजीमा 'स्पार्क' नामक अर्को म्यागेजिन खोले । यो पनि १४-१५ अंकसम्म प्रकाशित भयो । म्यागेजिनको टिममा प्रकाश रिमाल, अनिल चित्रकार, रोसा बज्राचार्य र विकास रोनियार जस्ता व्यक्ति थिए । यसमध्ये धेरैले पछि पत्रकारिता र अन्य क्षेत्रमा राम्रो नाम कमाए । म्यागेजिनमा उनले नेता गणेशमान सिंह समेतको कभर स्टोरी पनि गरेका थिए ।

नेपालमै आईटी जग बसाल्ने अठोट
अमेरिकामा केही समयको बसाइँ र अनुभवपछि सन् १९९२ मा नेपाल फर्कँदा एलेनले देशको आईटी क्षेत्रमा ठुलो खाडल देखे । कम्प्युटर त थिए, तर ती प्रायः अङ्ग्रेजी भाषामा मात्र सीमित थिए । नेपाली भाषामा काम गर्न अत्यन्तै कठिन थियो । ‘हाम्रै भाषामा कम्प्युटर चलाउन किन नसक्ने ?’ सायद यही प्रश्नले उनलाई घच्घचायो र जन्म भयो ‘अनलिमिटेड टेक्नोलोजिज’ ।
“यो वास्तवमा एउटा कम्पनीको सुरुवात मात्र थिएन, नेपालमा कम्प्युटरलाई ‘डेमोक्रेटाइज’ गर्ने, आममानिसको पहुँचमा पुर्याउने एक महत्त्वाकांक्षी अभियानको सुरुवात थियो,” उनी सम्झन्छन् ।
प्रविधिमा एलेनको गहिरो रुचि अमेरिकी पुस्तकालयमा प्रत्येक शुक्रबार बेलुका हुने ‘नमस्ते कम्प्युटर क्लब’ मार्फत सुरु भएको थियो । यो ०४८/४९ सालको कुरा हो । त्यहाँ उहाँले कम्प्युटरको बारेमा धेरै कुरा सिके । अमेरिकी साथीहरूमार्फत डलर ब्ल्याकमा किनेर भए पनि एप्पलका कम्प्युटरहरू (एल २, एल २ ई, लिसा) नेपाल ल्याए । नेपालमा कम्प्युटर भित्रिने सुरुवाती दिनहरू थिए ती । एलेनको यो कदमले धेरैलाई नयाँ प्रविधिसँग परिचित गरायो ।

अमेरिकामा रहँदा उनी आफ्नो होस्ट परिवारको सफ्टवेयर व्यवसाय (वर्ड स्टार) मा भएको लगानीबाट निकै प्रभावित थिए । त्यहीँबाट उनले सफ्टवेयरमा काम गर्ने सोच बनाए । अमेरिकामा उनले एक्सपोर्ट-इम्पोर्ट बिजनेस गर्ने विचार गरे । क्यालिफोर्नियाको लस एन्जेल्स र स्यान फ्रान्सिस्को क्षेत्रमा सिलिकन भ्यालीको विकास भइरहेको थियो । यसले उनलाई निक्कै आकर्षित गर्यो । तर पारिवारिक जिम्मेवारीले उनलाई पढाइ नसकीकनै नेपाल फर्किन बाध्य बनायो । कलेजको पढाइ भने उनले धेरै समयपछि मात्र पूरा गरे ।
नेपाल फर्केपछि उनले गोरखापत्र, द राइजिङ नेपाल जस्ता पत्रिकामा कम्प्युटरको प्रयोग भित्र्याउन सहयोग गरे । लेटर प्रेस प्रिन्टिङको जमानाबाट कम्प्युटरमा आधारित पेजमेकरमा शिफ्ट हुन चानचुने कुरा थिएन । वास्तवमा यो परिवर्तन नेपालको पत्रकारिता जगतको लागि एउटा नयाँ युगको सुरुवात पनि थियो ।

उनले सफ्टवेयर विकासमा पनि आफ्नो हात राखे । लट्टो नामक लट्रीको लागि सफ्टवेयर बनाउनु त्यसमध्ये एक थियो । त्यतिबेला न मोडेम थियो न नेटवर्क । डेटा ट्रान्सफर गर्न फ्लपी डिस्कको भर पर्नुपर्थ्यो । तर एलेनले सुरक्षाको लागि यस्तो एल्गोरिदम विकास गरे, जसले नक्कली टिकट बनाउन असम्भव बनायो । लट्री कम्पनीले उनलाई पार्टनरसिपको प्रस्ताव पनि गर्यो । तर उनले सफ्टवेयर बनाएर दिने मात्र बताए । किनकि उनलाई ‘जुवा’मा खासै रुचि थिएन ।

माइक्रोसफ्टसँग साझेदारी अनि नेपाली विन्डोजको सपना
एलेनको सबैभन्दा महत्त्वपूर्ण योगदानमध्ये एक माइक्रोसफ्टका उत्पादनहरूलाई नेपालीमा लोकलाइज गर्नु हो । यो काम माइक्रोसफ्टकै लगानीमा उनको कम्पनी 'अनलिमिटेड' मार्फत सम्पन्न भयो । उनले नेपाली विन्डोज बनाउने क्रममा हिज्जे जाँच (spell check), सुदीर्घ शुद्धीकरण (grammar check), टेक्स्ट-टु-स्पिच (text-to-speech) र स्पिच-टु-टेक्स्ट (speech-to-text) जस्ता प्रविधि विकास गरे । यसले नेपाली भाषामा कम्प्युटर प्रयोग गर्नलाई धेरै सहज बनायो ।
सन् २००९ मा पुणेमा भएको सार्क कन्फरेन्समा उनले यो प्रविधि देखाउँदा नेपालले पनि यस्तो गर्न सक्छ भनेर धेरैले प्रशंसा गरेको एलेन सम्झन्छन् । तर यसको बौद्धिक सम्पत्ति भने माइक्रोसफ्टकै थियो।
उनकै नेतृत्वमा विकास भएको नेपाली फन्टले देवनागरी लिपिमा कम्प्युटरमा लेख्न सम्भव बनाएको हो । त्यसपछि आयो ‘टाइपशाला’ । रामायणका पात्रहरू रावण र रामलाई प्रयोग गरेर रमाइलो तरिकाले नेपाली टाइपिङ सिकाउने सफ्टवेयर थियो । यो सफ्टवेयरले धेरै नेपालीलाई कम्प्युटरसँग नजिक्यायो । यस्ता टुल विकास गरेर नेपाली भाषाको डिजिटल प्रयोगलाई थप सहज र स्तरीय बनाउने अभियान उनले चलाए । “यी काम अहिले हेर्दा सानो देखिए पनि नेपालमा आईटीको जग बसाल्न ठुलो भूमिका खेले,” उनी भन्छन् ।

वास्तवमा एलेन तुलाधरको करियरको एक स्वर्णिम अध्याय माइक्रोसफ्टसँगको सहकार्य हो । विश्वकै ठुलो सफ्टवेयर कम्पनीलाई नेपाल भित्र्याएर विन्डोज जस्तो विश्वव्यापी अपरेटिङ सिस्टमलाई नेपालीकरण गर्नु चानचुने कुरा थिएन । सन् १९९७ मा मुम्बईमा बिल गेट्ससँग भएको भेट एक निर्णायक मोड साबित भयो ।
“नेपालमा राम्रो गरिरहनु भएको छ । म कसरी सहयोग गर्न सक्छु ?” गेट्सको यो प्रश्नले एलेनको वर्षौं देखिको सपनालाई पंख लगाइदियो । करिब दुई वर्षको अथक प्रयास, निरन्तरको संवाद र प्राविधिक चुनौतीहरू पार गर्दै नेपाली विन्डोजको सपना साकार भएको उनी सुनाउँछन् । विन्डोज सेभेनदेखि नेपाली प्रयोगकर्ताहरूले आफ्नै भाषामा कम्प्युटर चलाउन पाए ।
“यो एक सफ्टवेयरको स्थानीयकरण मात्रै थिएन । नेपाली भाषा र पहिचानलाई विश्वव्यापी प्रविधिमा स्थापित गर्ने एक ऐतिहासिक उपलब्धि थियो,” उनी भन्छन् ।

उनकै प्रयासले नेपालमा माइक्रोसफ्ट इनोभेसन सेन्टर (एमआईसी) स्थापना भयो । यसले ८-९ वर्षसम्म निरन्तर काम गर्यो । यस अन्तर्गत सञ्चालन भएको माइक्रोसफ्ट स्टुडेन्ट पार्टनर (एमएसपी) प्रोग्राम विश्वमै नेपालमा जस्तो सफल कतै नभएको उनको दाबी छ ।
“यस प्रोग्रामले सयौं विद्यार्थीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्यायो । उनीहरूको करियर निर्माणमा ठुलो मद्दत गर्यो,” उनी गर्वका साथ भन्छन् । एमआईसीले सयौं विद्यार्थीहरूले प्रत्यक्ष तालिम र मार्गदर्शन दियो । जसमध्ये धेरै आज आईटी क्षेत्रका स्थापित नाम बनिसकेका छन् । एलेनले आफ्ना टिमका सदस्यहरू र एमएसपीहरूलाई अवसरहरू प्रदान गर्ने, विदेश यात्राको लागि भिसा मिलाइदिने जस्ता काममा पनि उदारतापूर्वक सहयोग गरे ।


क्यान स्थापनामा भूमिका
क्यान महासंघ (तत्कालीन कम्प्युटर एसोसिएसन नेपाल)को स्थापनामा पनि एलेनको महत्त्वपूर्ण भूमिका छ । उनी यसका संस्थापक सदस्य हुन् । महासचिव भएर पनि काम गरे । क्यान सुरु गर्दा टिमसँग पैसा थिएन । धेरै कठिनाइहरू झेल्नुपर्यो । तर उनले हिम्मत हार मानेनन् । आज राजधानीमा ३०औं संस्करणको क्यान इन्फोटेक सम्पन्न भइसकेको छ । प्रदेश र जिल्ला तहमा पनि इन्फोटेक प्रदर्शनी हुने गरेका छन् । तर यस्तो प्रदर्शनीको परिकल्पना उनै एलेनले गरेका थिए ।
पहिलो इन्फोटेक एलेनकै दाइको होटेल ब्लु स्टारमा सञ्चालन गरिएको थियो । तत्कालीन युवराज दिपेन्द्रलाई क्यान इन्फोटेकमा प्रमुख अतिथि बनाएर यसलाई राष्ट्रिय स्तरमा पहिचान दिलाउन सफल भए उनी र उनको टिम ।
क्यानमा रहँदा उनले आईटी नीतिको मस्यौदा तयार पार्न र यस क्षेत्रलाई अगाडि बढाउन काम गरे । तर जीवनमा सधैं सुखद घटना मात्रै कहाँ हुन्छ र ! क्यानको नेतृत्व छनौटमा भएको एउटा घटनाले उनलाई नराम्रो लाग्यो । ससुरालीमा आफन्त बिरामी भएकाले मिटिङमा जान नसक्दा उनी नेतृत्वमा आउन सकेनन् । यस घटनापछि क्यानबाट उनी केही टाढा रहन पुगे । क्यानको सुधारका लागि उनले पछि पनि प्रयास गरे, तर आफ्ना सुझाव र सक्रियतालाई नअपनाइएको उनको गुनासो छ ।

डिजिटल फाइनान्सियलमा ध्यान केन्द्रित
समयसँगै प्रविधिको परिदृश्य बदलिएको छ । सत्य नडेलाले माइक्रोसफ्टको नेतृत्व सम्हालेपछि कम्पनीको प्राथमिकतामा परिवर्तन आयो । यसलाई अवसरको रुपमा लिँदै एलेनले आफ्नो उद्यमशीलताको यात्रालाई नयाँ दिशा दिने निर्णय गरे– डिजिटल वित्तीय सेवा (फिनटेक) र विशेषगरी रेमिट्यान्स । उनले पुरानो रेमिट्यान्स कम्पनी 'ललितमणि ट्रान्सफर'लाई अधिग्रहण गरेर त्यसलाई आधुनिक प्रविधिमा आधारित ‘आइपे’ र पछि 'ई-धेवा' जस्ता प्लेटफर्ममा विकास गरे ।
उनी केवल परम्परागत रेमिट्यान्स सेवामा मात्र सीमित रहेनन् । यस क्षेत्रमा नवीनता ल्याउन तम्सिए । रेमिट्यान्सबाट आएको पैसालाई मुद्दती निक्षेपमा राख्दा राष्ट्र बैंकको नियमअनुसार थप १% ब्याज दिने व्यवस्थालाई आफ्नो प्रणालीमा एकीकृत गरे । रेमिट्यान्सबाट आएको पैसालाई आईपीओमा लगानी गर्दा १०% कोटा सुनिश्चित हुने सरकारी प्रावधानलाई पनि सहज बनाए ।
उनको प्रणालीको अर्को विशेषता भनेको यो पूर्णतः 'क्यासलेस' र 'एजेन्टलेस' हुनु हो । यसले गर्दा लागत कम हुने र पारदर्शिता बढ्ने भयो । अझ महत्वपूर्ण कुरा, उनले प्रतिस्पर्धामा मात्र विश्वास गरेनन् । उनले आफ्नो विकसित प्रविधिलाई 'ह्वाइट-लेबल सोलुसन'को रूपमा अन्य रेमिट्यान्स कम्पनी र बैंकहरूलाई समेत उपलब्ध गराए ।

अहिले एलेन तुलाधरको सम्पूर्ण ध्यान डिजिटल वित्तीय सेवा विशेषगरी क्रस-बोर्डर रेमिट्यान्समा केन्द्रित छ । उनको कम्पनीले रेमिट्यान्स कम्पनी र बैंकहरू (माछापुच्छ्रे बैंक, एभरेस्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक लगायत) लाई प्लेटफर्म प्रदान गर्छ ।
“यो मोडेल पूर्ण रूपमा क्यासलेस र डिजिटल छ । यसमा एजेन्टहरूको कुनै आवश्यकता पर्दैन । उहाँहरू आफैँ सोर्स (विदेशमा) र डेलिभरी (नेपालमा) दुवैमा काम गर्छन् । पहिले तीन दिन लाग्ने रेमिट्यान्स अहिले तीन मिनेटमै बैंक खातामा जम्मा गर्न सकिन्छ,” उनी भन्छन् ।
उनले रेमिट्यान्स क्षेत्रमा केही नयाँ उत्पादनहरू पनि ल्याएका छन् । त्यसमध्ये 'रिक्वेस्ट रेमिट' एउटा हो । यसमार्फत नेपालबाट विदेशमा पैसा पठाउन अनुरोध गर्न सकिन्छ । अर्को महत्त्वपूर्ण उत्पादन सरकारी नीतिसँग जोडिएको छ । यसअनुसार रेमिट्यान्स रकमलाई सिधै फिक्स्ड डिपोजिटमा राख्न मिल्छ । यसले रेमिट्यान्सको भोल्युम बढाउन मद्दत गरेको उनको बुझाइ छ । रेमिट्यान्सबाट आएको पैसालाई आईपीओमा लगानी गर्दा १% शेयर ग्यारेन्टी हुने सरकारी सुविधालाई पनि उनले आफ्नो प्लेटफर्ममा जोडेका छन् । विदेशबाट सिधै रेमिट्यान्स सेभिङ खाता खोल्ने व्यवस्था गरिएको छ । वाणिज्य बैंकसँगको सहकार्यमा उनले करोडौं रकम रेमिट्यान्स नेपाल भित्र्याइररहेका छन् ।
विगतमा उनले हेल्थ केयर, ट्रान्सपोर्ट, रिटेल जस्ता क्षेत्रमा पनि प्रविधि भित्र्याउने प्रयास गरेका थिए । तर ती खासै सफल भएनन् । ट्रान्सपोर्ट क्षेत्रमा डिजिटाइजेसन गर्न खोज्दा विभिन्न सरोकारवालाहरूको भाग खोज्ने प्रवृत्तिले समस्या आएको उनी बताउँछन् ।
भविष्यमा उनको ध्यान डिजिटल फाइनान्सियल सर्भिसलाई अझै नवीनताका साथ अगाडि बढाउने र विश्वव्यापी रूपमा विस्तार गर्ने (विशेषगरी विदेशमा रहेका नेपालीलाई देशसँग जोड्ने) मा केन्द्रित छ । साथै, शैक्षिक क्षेत्र विशेषगरी कलेज तहका विद्यार्थीहरूलाई सीप र रोजगारीसँग जोड्ने (आईटी एकेडेमी सञ्चालन गर्ने सोच) मा पनि उनले रुचि राखेका छन् । आफ्नो अनुभव र ज्ञान बाँड्नका लागि पुस्तकभन्दा पनि मल्टिमिडिया कन्टेन्ट बनाउने र प्रत्यक्ष रूपमा हजारौं विद्यार्थीहरूसँग अन्तरक्रिया गर्ने उनको योजना छ ।

परिवारमा वियोग
व्यावसायिक जीवनमा जतिसुकै उचाइ हासिल गरे पनि एलेन तुलाधरको व्यक्तिगत जीवन गहिरो दुःख र वियोगका परीक्षाहरूबाट गुज्रिएको छ । पहिलो सन्तान, छोरी इलेनको १५ वर्षकै कलिलो उमेरमा पहिचान हुन नसकेको रोगका कारण निधन भयो । यो घाउ पुरिन नपाउँदै बेलायतबाट पीएचडी सकेर फर्किएकी कान्छी छोरी अलिशालाई पनि डेंगीले चुँडेर लग्यो । एक पिताका लागि योभन्दा ठुलो बज्रपात के हुन सक्ला ?
एलेन तुलाधरको जीवनमा धेरै ठुला, अकल्पनीय त्रासदीहरू पनि आए । तर पनि आफ्नो साहस र कर्मठता गुमाएका छैनन् उनले । दुःखलाई शक्तिमा बदल्दै उनले जेठी छोरीको नाममा 'इलेन मेमोरियल स्कुल' स्थापना र सञ्चालनमा योगदान पुर्याइरहेका छन् । कान्छी छोरीको सम्झनामा पनि केही अर्थपूर्ण काम गर्ने उनको सोच छ । जीवनले जतिसुकै कठोर परीक्षा लिए पनि कर्म गरिरहनुपर्छ भन्ने सन्देश बोकेर हिँडेका छन् उनी ।
उनकी श्रीमतीको स्वास्थ्यमा पनि जटिल समस्या (क्यान्सर) आउँदा लकडाउनको समयमा शल्यक्रिया गरिएको थियो । आमालाई पनि प्यान्क्रियाटिक क्यान्सर भई सिंगापुरमा उपचार गरिएको थियो । यस्ता व्यक्तिगत र पारिवारिक कठिनाइहरूका बावजुद उनी व्यावसायिक जिम्मेवारीबाट कहिल्यै पछि हटेनन् । श्रीमती सपना तुलाधरले आफूलाई जीवनमा अपार साथ सहयोग दिएको, विशेषगरी कठिन समयमा र सही बाटो देखाउन मद्दत गरेको उनी बताउँछन् । श्रीमतीले सासूको असाधारण हेरचाह गरेकोमा सधैँ गर्व गर्छन् एलेन ।
०७२ सालको भूकम्पको समयमा एलेनले मानवीय सहयोगमा सक्रिय भूमिका निर्वाह गरे । नोकिया र एनसेलसँग समन्वय गरी निःशुल्क डेटा र कलको व्यवस्था मिलाउनुका साथै क्याम्पहरूमा सोलारबाट चल्ने वाई-फाई जोन र चार्जिङ स्टेसनहरू बनाए । यूएनडीपीसँग मिलेर गोरखामा १७०० घर बनाउन पनि सहयोग पुर्याए ।

व्यावसायिक जीवनमा सन्तुष्ट
व्यावसायिक जीवनबाट सन्तुष्ट एलेन अहिले पनि दैनिक १५-१६ घण्टा काम गर्छन् । तर पहिले जस्तो शारीरिक रूपमा सक्रिय हुन गाह्रो हुने उनी सुनाउँछन् । सादा जीवन मन पराउने उनी यात्रामा बढी खर्च गर्छन् । श्रीमतीसँग सिनेमा हेर्न जान्छन् । अडियोबुक सुन्ने रुचि छ । लकडाउनको समयमा उनले पीएचडी पनि पूरा गरे । जीवन सिक्ने र बढ्ने निरन्तर प्रक्रिया हो भनेर उनले बुझेका छन् ।

यति लामो अनुभव र अनेकौं उपलब्धिहरू सँगालेका एलेन तुलाधर आज पनि उत्तिकै सक्रिय र ऊर्जावान् छन् । नेपालको आईटी क्षेत्रको भविष्यप्रति आशावादी छन् । तर युवा पुस्तामा बढ्दो विदेश पलायन र नेपाली रोल मोडेलहरूको अभावप्रति चिन्तित छन् उनी । “हामीले हाम्रै माटोमा सफलता हासिल गरेका कथाहरूलाई बढी स्थान दिनुपर्छ । ताकि युवाहरूले विदेशमा मात्र होइन, नेपालमै पनि अवसर छ भन्ने बुझुन्,” उनी भन्छन् ।

उनले नेपाली सफलताका कथाहरूलाई समेटेर एउटा मल्टिमिडिया प्रोजेक्ट सुरु गर्ने योजना बनाएका छन् । जीवनगाथा केवल प्राविधिक सफलता र व्यावसायिक उपलब्धिको दस्तावेज मात्र नभएको उनको बुझाइ छ । नेपाली माटोमा प्रविधिको बिरुवा रोप्ने, त्यसलाई हुर्काउने, नेपाली भाषा र पहिचानलाई डिजिटल संसारमा स्थापित गर्ने, सयाैँलाई अवसर दिने, कठिन व्यक्तिगत परिस्थितिमा पनि नडगमगाउने र निरन्तर समाजका लागि केही गरिराख्ने एलेन अब आगामी पुस्ताले यो मार्ग पछ्याइदिएर यो क्षेत्रलाई थप उज्ज्वल बनाउने आशामा छन् ।
पछिल्लो अध्यावधिक: साउन २४, २०८२ २३:५१
