close

अप्रिल फुलको दिन २२ वर्षअघि यसरी सार्वजनिक गरिएको थियो जिमेल

टेकपाना टेकपाना

चैत १८, २०८२ १४:३५

अप्रिल फुलको दिन २२ वर्षअघि यसरी सार्वजनिक गरिएको थियो जिमेल

काठमाडौँ । गुगलका सहसंस्थापक ल्यारी पेजसर्गेई ब्रिनलाई प्र्याङ्क खुबै मन पर्थ्यो । उनीहरू अप्रिल फुलको दिन पारेर केही न केही उट्पट्याङ आइडिया बजारमा ल्याएकै हुन्थे । अप्रिल फुलको दिन कुनै व्यक्तिले पहिले झुटो कुरा गरेको छ र पछि अप्रिल फुल भनेको छ भने मानिस अर्को पटकबाट उनीहरूका कुरा विश्वास गर्दैनन् ।

झन् कम्पनीको सन्दर्भमा त ग्राहक/ प्रयोगकर्ताको विश्वास ‘मेरुदण्ड’ नै हो भन्दा फरक पर्दैन । एक पटक झुक्काएको छ भने मान्छे अर्को पटक त्यो कुरा विश्वास गर्दैनन् । 

विश्वास नभएका कुराबारे बुझ्न मान्छे खासै उत्सुक नभए पनि अप्रिल फुलको आइडियाबारे कौतुहलता त हुन्छ नै । मानिसको यही स्वभाव बुझेका उनीहरूका लागि अप्रिल फुल उट्पट्याङ आइडिया सार्वजनिक गर्ने उपयुक्त दिन पनि थियो । 

एक वर्ष अप्रिल फुलकै दिन गुगलले पोस्ट राख्दै चन्द्रमामा रहेको कोपर्निकस अनुसन्धान केन्द्रमा जागिर खुलेको जानकारी दियो । अर्को वर्ष गुगलले आफ्नो सर्च इन्जिनमा ‘स्क्र्याच र स्निफ’ फिचर ल्याउने योजना भएको भन्दै पोस्ट राख्यो । यस्ता उटपट्याङ र अपत्यारिला आइडिया अप्रिल फुलका दिन गुगलले सार्वजनिक गर्ने भएकाले मानिसहरू जहिले ती कुरालाई मजाकका रूपमा हेर्थे र झट्ट विश्वास गर्दैनथे । 

सर्वसाधारणमाझ त्यही भ्रम भएका बेला गुगलका संस्थापक पेज र ब्रिनले यस्तो प्रडक्ट सार्वजनिक गर्ने योजना बनाए, जसलाई मानिसहरूले २० वर्षसम्म पनि सम्भव होला भन्ने कल्पना पनि गरेका थिएनन् । 

त्यो प्रडक्ट थियो जिमेल, जसले प्रति अकाउन्ट १ जीबी स्टोरेजसम्म निःशुल्क ईमेल सेवा दिन्थ्यो । त्यतिबेला १ जीबीसम्मको स्टोरेज भएको ईमेल सेवा त्यो पनि निःशुल्क कसैले कल्पना नै गरेको थिएनन् । अहिले एप्पलले आईफोनमा १ टीबी स्टोरेज दिएको जत्तिकै त्यतिबेला जिमेलको १ जीबी स्टोरेज महत्त्व थियो । 

यसलाई यसरी बुझौं त्यतिबेलाको १ जीबीमा ८ अर्ब बिट्सको सूचना भण्डारण गर्न सक्ने क्षमता थियो । यो भनेको ईमेलको झन्डै पाँच लाख पेज अर्थात् साढे १३ हजार ओटा जति ईमेल हो । 

अहिले जस्तो त्यतिबेला ईमेलको साइज पनि धेरै हुँदैनथ्यो । १ जीबी स्टोरेज नै सर्वसाधारणका लागि आवश्यकता भन्दा बढीको थियो । यति धेरै ईमेल भण्डारण गर्न सक्ने स्टोरेज भएको जिमेल किन पनि महत्त्वपूर्ण थियो भने त्यतिबेलाको लोकप्रिय वेबमेल सेवा प्रदायक याहु र माइक्रोसफ्टले ३० देखि ६० ओटा ईमेल भण्डारण गर्न सक्ने स्टोरेज उपलब्ध गराएका थिए । गुगलले उपलब्ध गराउने ईमेल सेवा याहु र माइक्रोसफ्टको तुलनामा २५० देखि ५०० गुणा बढी थियो । 

स्टोरेजका साथसाथै गुगलले जिमेलमा फोटो, ईमेल र अन्य डकुमेन्ट सहजै खोज्न सकिने फिचर पनि ल्याउने बताएको थियो । गुगलको त्यही प्रविधि प्रयोग गरेर प्रयोगकर्ता आफ्नो पुरानो ईमेल, फोटो वा अन्य महत्त्वपूर्ण डकुमेन्ट सहजै खोज्न सक्थे । 

त्यस्तै एउटै ईमेलमा एउटै विषयमा गरिएका कुराकानीलाई एउटै थ्रेड्सका रूपमा राख्न सकिने भनेपछि जिमेलको महत्त्व नै छुट्टै थियो । कम्पनीले स्टोरेज, सर्च र स्पिडलाई नै प्राथमिकतामा राखेर यस्तो सेवा दिनका लागि जिमेलको विकास गरेको बताएको थियो । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यम द एसोसिएटेड प्रेसले १ अप्रिल २००४ का दिन साँझतिर गुगलको जिमेलबारे तयार पारेको सामग्री प्रकाशन गर्‍यो । पाठकले जिमेलबारे तयार पारिएको सामग्री पढेर गुगलले प्र्याङ्क गर्न नयाँ कथा रचेको भने । 

“मानिसहरूले साँचो हो भनेर कल्पना नै गर्न नसक्ने प्रडक्ट थियो जिमेल,” गुगलका पूर्व इन्जिनियर पल बुचेटले हालैको एपी अन्तर्वार्तामा जिमेल निर्माण गर्ने आफ्नो प्रयास स्मरण गर्दै भने, “यसले वेब ब्राउजरभित्र सम्भव हुने किसिमका एप्लिकेसनका बारेमा मानिसहरूको धारणालाई नै परिवर्तन गरेको थियो ।”

‘क्यारिबोउ’ (Caribou) नाम दिइएको यो परियोजना सम्पन्न गर्न गुगललाई झन्डै तीन वर्ष लागेको थियो । तर, सोही परियोजनाबाट विकास भएको प्लेटफर्मको नाम क्यारिबोउ राख्ने भनेपछि धेरैलाई त्यो चित्त बुझेको थिएन । 

समाचार एजेन्सी द एपीलाई गुगलले यो मजाक गरेको होइन भन्ने थाहा थियो । एपीका रिपोर्टर माइकल लिड्ट्के उक्त समाचार तयार पार्न सान फ्रान्सिस्कोको माउन्टेन भ्युमा रहेको गुगलको मुख्यालयमै पुगेका थिए ।

एपीका रिपोर्टर गुगलको मुख्यालयमा पुग्दा जिमेल विकासको काम भइरहेको थियो । त्यो ठाउँलाई पछि ‘गुगल प्लेक्स’ भनियो । त्यहाँ ल्यारी पेज एउटा सानो अफिसमा ल्यापटप अगाडि राखेर काम गर्दै थिए । 

३१ वर्षका पेजले ती रिपोर्टलाई जिमेलले कसरी काम गर्छ र माइक्रोसफ्ट तथा याहुको ईमेल सर्भिसभन्दा जिमेल के-कति फरक छ भन्नेबारे देखाए ।

रिपोर्टलाई आफ्नो प्रडक्टको विश्लेषण गर्दै पेजले जिमेलको मुख्य कन्ट्रोल विन्डोमा डिलिट बटन नभएको सुनाए । जिमेलमा १ जीबीसम्मको स्टोरेज नभएकाले डिलिट बटन आवश्यक नै नहुने र आफूले चाहेको जुनसुकै समयमा उक्त ईमेल खोज्न सकिने भन्दै पेजले आफ्नो प्रडक्टको चर्चा गरे । “मलाई लाग्छ मानिसहरूलाई यो प्रडक्ट निकै मन पर्नेछ,” रिपोर्टसँग कुरा गर्दै पेजले आफ्नो भविष्यवाणी सुनाए ।

हुन पनि उनले भनेको कुरा अहिले वास्तविकमै देख्न सकिन्छ । हाल जिमेलका झन्डै एक अर्ब ८० करोड बढी सक्रिय प्रयोगकर्ता छन् । गुगलले १ जीबीको स्टोरेज बढाएर १५ जीबीसम्म पुर्‍याएको छ । 

त्यतिबेलाको तुलनामा १५ जीबी स्टोरेज १५ गुणा बढी भए पनि प्रयोगकर्तालाई यो स्टोरेज कमै लाग्छ । किनभने १५ जीबी स्टोरेजमा ड्राइभ, फोटोज लगायत अन्य प्लेटफर्मको स्टोरेज पनि समावेश हुन्छ ।

गुगल र एप्पल जस्ता कम्पनीले प्रयोगकर्तालाई क्लाउड स्टोरेज बिक्री गरेर आम्दानी गर्दै आएका छन् । गुगलको सन्दर्भमा यसले १०० जीबी स्टोरेजका लागि वार्षिक २३.८८ डलर, २०० जीबी स्टोरेजसम्मका लागि ५९.८८ डलर, २ टीबीसम्मको स्टोरेजका लागि ११९.८८ डलर लिंदै आएको छ । यद्यपि यो स्टोरज खरिदमा गुगलले बन्डलिङ गरेका विभिन्न एआई फिचर पनि प्रयोग गर्न सकिन्छ । 

सर्च इन्जिनको क्षेत्रमा ठूलो खेलाडी रहेको गुगललाई जिमेलले अन्य क्षेत्रमा पनि कम्पनीलाई हाबी बनाउन निकै मद्दत पुर्‍यायो । जिमेलपछि कम्पनीले गुगल म्याप्स र गुगल डक्स अनि गुगल शिट जस्ता एप्लिकेसन बजारमा ल्यायो ।

त्यस लगत्तै कम्पनीले भिडिओ स्ट्रिमिङ एप युट्युब आफ्नो स्वामित्वमा लिएको थियो । त्यसपछि क्रमशः क्रोम ब्राउजर र एन्ड्रोइड अपरेटिङ सिस्टम पनि गुगलले आफ्नो स्वामित्वमा ल्यायो । अहिले स्मार्टफोनको दुनियाँमा गुगल नै हाबी बनेको छ । पछिल्लो समय ह्वात्तै बढेको एआईको क्षेत्रमा पनि गुगलले आफूलाई अग्र स्थानमा पुर्‍याउन सफल भएको देखिन्छ । 

गुगलले आफ्नो डेटा सेन्टर विस्तार गर्दै गएपछि प्रयोगकर्ताले पनि सहजै जिमेल अकाउन्ट बनाएर प्रयोग गरिरहन थाले । यद्यपि कम्पनीले २००७ को भ्यालेन्टाइन डेसम्म सबैलाई जिमेलमा अकाउन्ट बनाउन सकिने सुविधा दिएको थिएन । भ्यालेन्टाइन्स डेको गिफ्टकै रूपमा कम्पनीले विश्वभरका प्रयोगकर्तालाई यो सेवा निःशुल्क उपलब्ध गराउन थालेको थियो । 

त्यसको केही महिनापछि अर्थात् २००७ को अप्रिल फुलका दिन गुगलले जिमेल पेपर सर्भिस सार्वजनिक गरेको थियो । यसले गर्दा प्रयोगकर्ता आफ्नो ईमेल प्रिन्ट गर्न सक्थे र त्यसलाई इन्टरनेट नपुगेको ठाउँमा हुलाकमार्फत पठाउन सक्थे ।  

२२ वर्ष पुरानो विगत स्मरण गर्दै गर्दै गुगलका सीईओ सुन्दर पिचाईले युजरनेम परिवर्तन गर्न सकिने फिचर उपलब्ध भएको घोषणा गरका छन् । उनले एक्स पोस्टमा पुरानो युजरनेम परिवर्तन गर्ने समय आएको उल्लेख गरेका छन् । 

यसअघि गुगलमा युजरनेम परिवर्तन गर्न सकिने सुविधा थिएन । त्यसको विकल्पमा प्रयोगकर्ताले नयाँ ईमेल एड्रेस बनाई पुरानो जिमेलमा आएका ईमेल नयाँमा फर्वार्ड हुने ट्रिक प्रयोग गर्दै आएका थिए । यो नै गुगलले जिमेलमा ल्याएको २० वर्ष पछिको सबैभन्दा ठुलो परिवर्तन हो । 

जिमेलमै जेमिनाई एआई इन्टिग्रेट भएको छ । यो फिचर गुगलका प्रिमियम प्रयोगकर्ताले प्रयोग गर्न पाउँछन् । यसले प्रयोगकर्तालाई ईमेल समराइज गर्न, ईमेलको ड्राफ्ट तयार पार्न, डिपसर्च गर्न सकिने सुविधा उपलब्ध गराएको छ ।

पछिल्लो अध्यावधिक: चैत १८, २०८२ १५:८