close

फ्याक्टचेकः अर्थमन्त्री पौडेल भन्दै खोलामा लखेट्दै मरणासन्न पारिएका व्यक्ति को थिए, के भयो ?

फ्याक्टचेकः अर्थमन्त्री पौडेल भन्दै खोलामा लखेट्दै मरणासन्न पारिएका व्यक्ति को थिए, के भयो ?

काठमाडौँ । जेन-जी आन्दोलनको दोस्रो दिन अर्थात् ९ सेप्टेम्बर २०२५ (२४ भदौ २०८२) का दिन देशव्यापी आगजनी, तोडफोड, लुटपाट, कुटपिट, हत्या जस्ता अनेकौँ घटनाहरू भए । त्यस क्रममा बागमती नदीको पानीमा एक व्यक्तिलाई लखेट्दै ढुङ्गामुढा गरिरहेका भिडिओ क्लिप पनि सामाजिक सञ्जालमा निकै भाइरल भए ।

सामाजिक सञ्जाल प्रयोगकर्तासँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियाले ती व्यक्तिलाई ‘अर्थमन्त्री विष्णु पौडेल’ भन्दै कभरेज दिए । अमानवीय तवरमा आक्रमण गरी हत्या प्रयास हुँदा समेत अर्थमन्त्री ठानेर धेरैले हँस्सीमजाक र रमाइलोको रूपमा त्यसलाई लिएको देखिन्थ्यो ।

त्यसको भोलिपल्ट अर्थात् १० सेप्टम्बर २०२५ का दिन अर्थमन्त्रीको सचिवालयले पौडेलमाथि कुनै पनि आक्रमण नभएको र प्रचार गरिएका भिडिओ भ्रामक रहेको स्पष्टीकरण दियो । स्पष्टीकरणपछि पनि खोलामा लखेट्दै बर्बर ढङ्गले आक्रमण गरिएका व्यक्तिको पहिचान बाहिर आएको छैन । तर ती व्यक्ति को थिए ? उनको अवस्था अहिले कस्तो छ ? किन उनीमाथि यसरी आक्रमण गरियो ?

दाबी

खोलामा एक व्यक्तिलाई प्रदर्शनकारीले कुटेको भिडिओलाई तत्कालीन अर्थमन्त्री विष्णु पौडेल भएको दाबीसहित विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले फैलाएका थिए । यो सूचना फैलाउनेमा एबीपी लाइभ, इन्डिया डट नाव, रिपब्लिक वर्ल्ड, प्रयास मिडिया, हिमाली पत्रिका, मनी कन्ट्रोल, नेपाली हिपहप आर्ट, हवर्लर डट कम, र info24hrs7 जस्ता सञ्चार माध्यम तथा प्लेटफर्महरू संलग्न थिए ।

नेपाली हिपहप आर्ट नामक फेसबुकबाट ९ सेप्टेम्बर अपराह्न ४ः०० बजेको समयमा 'Finance minister Bishnu Paudel #GenZPower' शीर्षकमा एक भिडिओ अपलोड भएको छ । यो सामग्री तयार पार्दासम्म उक्त भिडिओमा ६ लाख ४९ हजार बढी भ्युज आइसकेको छ । (हेर्नुहोस् भिडिओ लिंक, अर्काइभ लिंक र स्क्रिनशट ।)

९ सेप्टेम्बरकै अपराह्न ४ः०८ बजेको समयमा ‘फलानो ले के भन्ला’ नामक फेसबुक पेजले 'Part - 2 अर्थमन्त्री विष्णु पौडेल।’ क्याप्सन राख्दै सोही भिडिओ राख्यो । जसमा यो सामग्री तयार पार्दासम्म ६३ हजारभन्दा बढी भ्युज आएको छ । (भिडिओको लिंक, अर्काइभ लिङ्क र स्क्रिनशट)

 

उत्तम कुमार एनपीएल नाम गरेका अर्का फेसबुक प्रयोगकर्ताले ९ सेप्टेम्बरको अपराह्न ४ः१२ बजेको समयमा ‘अर्थमन्त्री विष्णु पौडेल #नेपाल #KPOli #kathmandu #jng’ क्याप्सन सहित खोलामा एक जनालाई हातपात गर्दै गरेको भिडिओ राखेका छन् । जसमा यो फ्याक्टचेक तयार पार्दा करिब दुई लाख भ्युज आइसकेको छ । (भिडिओको लिंक, अर्काइभ लिंक र स्क्रिनशट ।)

११ सेप्टेम्बर १०ः३२ बजेको समयमा सन्जयकुमार मिश्र नाम गरेका फेसबुक प्रयोगकर्ताले क्याप्सनमा “अर्थ मंत्री विष्णु पौडेल को अवस्था” लेख्दै उक्त भिडिओ राखेका छन् । भिडिओमाथि टेक्स्ट हाल्दै लेखेका छन्, “कान समातेर उठबस गरिरहेको अवस्था छ नेताहरूले।” यो फ्याक्टचेक गर्दासम्म सो भिडिओमा २७ लाखभन्दा बढी भ्युज आइसकेको थियो ।  (भिडिओको लिङ्क, अर्काइभ लिङ्क र स्क्रिनशट ।)

यसैगरी सामाजिक सञ्जालमा सेप्टेम्बर ९ को अपराह्न ३:५३ मा यमन पौड्याल नामक प्रयोगकर्ताले फेसबुकमा ‘एक नेताको अवस्ता’ भन्दै यो भिडिओ पोस्ट गरेका थिए (भिडिओ लिङ्क) भने सोही दिन साँझ ५:१७ मा गोविन्द कुँवरले ‘अर्थमन्त्री विष्णु पौडेल’ लेख्दै पोस्ट गरे (भिडिओ लिङ्क) । त्यसैगरी, ‘नेपाल खबर’ नामक फेसबुक पेजले साँझ ५:३० बजे 'अर्थमन्त्री विष्णु पौडेल खुट्टा ढोग्दै' भन्ने क्याप्सनसहित भिडिओ शेयर गरेको थियो (भिडिओ लिङ्क) । यस्तै दाबीसहित भुपेन लिम्बु (फेसबुक लिङ्क), अस्टिन अपडेट (एक्स लिङ्क) र वार एन्ड गोरे (एक्स लिङ्क) जस्ता अन्य कयौँ सामाजिक सञ्जाल ह्यान्डलहरूले पनि उक्त भिडिओलाई व्यापक बनाए । यतिसम्मकी विकिपिडियामा रहेको ‘विष्णु पौडेल’को पेजमा उनलाई पानीमा चोपलिएको र लुगा समेत प्रदर्शनकारीले च्यातेको भन्दै घटनाक्रम अपडेट गरिएको छ । (हेर्नुहोस् लिङ्क, अर्काइभ लिंक र स्क्रिनशट)

अनुसन्धान

अर्थमन्त्री विष्णु पौडेलको सचिवालयले उनीमाथि आक्रमण नभएको स्पष्टीकरण दिएपछि, आन्दोलनकारीले ढुङ्गामुढा र लाठीले हिर्काउँदै खोलामा लखेटेका हेल्मेटधारी व्यक्ति को हुन् भन्ने विषयमा टेकपानाको फ्याक्टचेक डेस्कले अनुसन्धान अघि बढायो । अनुसन्धानको पहिलो चरणमा ओपन सोर्स इन्टेलिजेन्स (ओएसआईटी) विधि प्रयोग गरियो । त्यस क्रममा ‘विष्णु पौडेल’, ‘अर्थमन्त्री’, ‘जेन जी आन्दोलन’, ‘विष्णु पौडेलको अवस्था’ जस्ता विभिन्न किवर्डहरू विभिन्न ढाँचामा राखेर गुगल तथा सामाजिक सञ्जालमा सर्च गरी त्यस सम्बन्धी भिडिओहरू सङ्कलन गर्‍यौँ ।

भिजुअल खोज्ने क्रममा हामीले सङ्कलन गरेका क्लिपहरूमा प्रहरी वृत्त नयाँबानेश्वरका प्रहरी कर्मचारीहरूलाई बाटो, पुलमुनि र खोला लगायतका विभिन्न स्थानमा भेट्टायौँ । हाम्रो अनुसन्धानको केन्द्रविन्दु, ‘अर्थमन्त्री’ भन्दै भाइरल भएका तिनै हेल्मेटधारी व्यक्ति विभिन्न स्थानमा देखिएका थिए । उनी जहाँ-जहाँ र जुन-जुन अवस्थामा देखिए, ती सबै भिडिओ सङ्कलन गरेर हामीले एउटा टाइमलाइन तयार पार्‍यौँ ।

केही प्रदर्शनकारी त खोलामै पसेर उनीमाथि लात्ता र लाठीले प्रहार गर्छन् ।  अन्तिममा उनले लगाएको हेल्मेट फुकालेका छन् । हेल्मेट निकालेपछि पनि उनीमाथिको आक्रमण रोकिँदैन ।

ज्यान बचाउन खोलाको किनारमा भाग्दै गरेका उनलाई प्रदर्शनकारीले खोला किनारामा लखेट्छन् र उनीमाथि निरन्तर ढुङ्गामुढा वर्षीरहन्छन् ।

भिडिओलाई क्रमबद्ध रूपमा हेर्दै जाँदा, खोलाको पानीमा बग्दै गर्दा अलिमाथि उनीसँगै अन्य केही व्यक्ति पनि देखिए ।

 

 

त्यसभन्दा अघिका भिडिओहरू पछ्याउँदै जाँदा अनुसन्धान एउटा पुलमुनि पुग्यो । उक्त पुल तीनकुनेस्थित बागमती नदीको भएको पाइयो । त्यहाँ निलो हेल्मेटधारी व्यक्ति प्रहरी भएको तथ्य खुल्छ । किन भने त्यहाँसम्म उनी लगायतका अन्य व्यक्तिहरू प्रहरी बर्दीमै देखिए ।

 

बागमतीको पुलभन्दा उत्तरतर्फसम्मका भिडिओमा प्रहरीहरू सबै वर्दीमै देखिन्छन् । त्यसअघि खोला किनारको एक सडकमा हात उठाएर लाइनमा उत्तरतर्फ हिँडाइएका प्रहरीहरूको भिडिओ पनि फेला पर्‍यो । उक्त भिडिओमा ‘मदन भण्डारी स्मृति पार्क’ लेखिएको बोर्ड पनि देखिन्छ, जसबाट घटनास्थल तीनकुने प्रहरी कार्यालय बाहिर बागमती किनारको क्षेत्र भएको सङ्केत मिल्यो ।

उक्त भिडमा पनि ती हेल्मेटधारी प्रहरी देखिन्छन् । यी भिडिओहरूलाई क्रमबद्ध रूपमा हेर्दा, सुरुमा ती प्रहरीले वर्दीको माथिल्लो भाग खोलेर कम्मरमा बाँधेको तर पाइन्टचाहिँ वर्दीकै लगाएको देखिन्छ । जब उनी लखेटिँदै पुलमुनि पुग्छन्, त्यहाँ उनलाई वर्दीको पाइन्ट पनि खोल्न लगाइन्छ । त्यसपछि उनको टाउकोमा निलो हेल्मेट र शरीरमा माथिल्लो भागमा फिका खैरो रङ्गको ज्याकेट र तल्लो भागमा खरानी रङ्गको अन्डरवेयर बाँकी रहन्छ ।

को थिए अर्थमन्त्री विष्णु पौडेल भनिएका ती व्यक्ति ?

सङ्कलित भिडिओहरू विश्लेषण गरिसकेपछि हेल्मेट लगाएर खोलामा मरणासन्न हुने गरी कुटपिट गर्दै लखेटिएका व्यक्ति तीनकुने क्षेत्रका प्रहरीहरू मध्येकै कोही हुनसक्ने अनुमान निकाल्यौँ । तर, उनको वास्तविक पहिचान खुलिसकेको थिएन ।

भिडिओमा कतै पनि स्पष्ट रूपमा अनुहार नदेखिएकाले पनि ओपन सोर्स इन्टेलिजेन्सबाट व्यक्ति पहिचान हुनसक्ने अवस्था देखिएन । त्यसपछि टेकपानाको फ्याक्टचेक टिम तीनकुने प्रहरी कार्यालयमा पुग्यो । आगजनीबाट ध्वस्त भएको कार्यालयमा प्रहरीहरू विस्तारै लयमा जुट्न खोजीरहेका थिए ।

त्यहीँ हात भाँचिएको अवस्थामा भेटिए, डीएसपी हरि खतिवडा । उनी लगायतका प्रहरी कर्मचारीहरूसँग हामीले त्यस दिनको घटनाक्रमबारे बुझ्ने प्रयास गर्‍यौँ । उनीहरूका अनुसार जेन जी प्रदर्शनको दोस्रो दिन अर्थात् २४ भदौको दिन करिब दुई बजेको समयमा प्रदर्शनकारीको भिड प्रहरी कार्यालयतर्फ प्रवेश गर्‍यो ।

ढुङ्गामुढा, तोडफोड, आगजनी हुन थालेपछि सबै प्रहरीहरू पछाडि सर्दै गए र ज्यान जोगाउन सँगै रहेको विश्वनिकेतन कलेजको बिल्डिङको छततर्फ लागे ।

आन्दोलनकारीहरूले त्यति हुँदा पनि छोडेनन् । माथि छतसम्मै पुगेर हातपात गर्दै सबै प्रहरीहरूलाई तल सडकमा झारे । त्यसपछि कुटपिट तथा आक्रमण गर्दै त्यहाँ रहेका प्रहरीहरूलाई लाइन लगाएर हात उठाउन लगाइयो र उत्तरतर्फ रहेको पुलतर्फ लगियो । पुल नजिकै पुग्दा नपुग्दै आन्दोलनकारीहरू ढुङ्गामुढा बर्साउन थालेपछि लाइनमा रहेका प्रहरीहरू तितरबितर भए । त्यस मध्येका आठ दश जना प्रहरीहरू बागमती नदीमा हेलिए । त्यसमध्ये हेल्मेट लगाउने व्यक्ति प्रहरी हवलदार चक्रबहादुर कटुवाल रहेको डीएसपी खतिवडाले पुष्टि गरे ।

गम्भीर घाइते भएका उनको महाराजगन्ज स्थित प्रहरी अस्पतालमा उपचार चलिरहेको थाहा पाएपछि उनको मोबाइल नम्बर मागेर हामीले फोन सम्पर्क गर्ने प्रयास गर्‍यौँ । तर फोन अफ थियो । त्यसपछि प्रहरी अस्पताल पुगेर दोस्रो तलामा उपचाररत अवस्थामा कटुवाल भेटिए । उनको मोबाइल त्यही बागमती खोलामा हराएको रहेछ ।

हामीले फ्याक्टचेकका क्रममा जुटाएका भिडि‌ओको बारेमा उनलाई सोध्यौँ । उनले भिडिओमा देखिएको व्यक्ति आफू नै रहेको भन्दै घटनाको बेलीविस्तार लगाए ।

“आन्दोलनकारीले चौकीमाथि आक्रमण गर्न थालेपछि मैले आफ्नो मोटरसाइकलमा रहेको हेल्मेट लगाएको थिएँ,” उनले भने, “तर पछि निकाल्ने होसै भएन । म माथि जतिसुकै कुटपीट भए पनि मेरो भिडिओहरू त्यसरी भाइरल भएको देख्दा एकदमै नराम्रो लागेको छ । खिचेर सामाजिक सञ्जालमा नराखिदिएको भए हुन्थ्यो ।”

मरणासन्न हुने अवस्थामा पुगेका उनलाई केही व्यक्तिले उद्धार गरी नजिकैको एक घरमा लुकाए । त्यसपछि उनीहरूकै सहयोगमा बेलुका अबेर भीमसेनगोलामा रहेको डेरामा पुगे । त्यसपछि मात्र कटुवाललाई अस्पताल पुर्‍याइएको थियो । 

आन्दोलनकारीहरूको आक्रमणबाट तीन जना प्रहरीको ज्यान गइसकेको छ भने सयौँको सङ्ख्यामा घाइते छन् । प्रहरी कार्यालय जलाइनुका साथै हातहतियार, बर्दी लगायत बन्दोबस्तीका सरसामान समेत लुटिएका प्रहरीहरू चौकी नै छोडेर भागेका थिए ।

यसबाट सिङ्गो प्रहरी सङ्गठनको मनोबल निकै गिरेको छ । हामीले उपचाररत अवस्थामा रहेका कटुवालको फोटो खिच्ने अनुमति माग्यौँ । तर भयभीत अवस्थामा रहेका उनले थप असुरक्षा हुन सक्ने भन्दै आफ्ना हाकिमको अनुमति चाहे । डीएसपी खतिवडा हुँदै काठमाडौँ जिल्ला प्रहरी परिसरमा त्यसका लागि बुझ्ने प्रयास गर्‍यौँ, तर उनीहरूले आफ्नो तहबाट नमिल्ने जवाफ दिए । त्यसपछि काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालसँग कुरा हुँदा पीडित प्रहरीलाई एक्सपोज गर्नु ‘उपयुक्त नहुने’ तर्क अघि सारे । अनि हामी कटुवालको फोटो नखिचेरै फर्कियौँ ।

कटुवालका करङका हड्डीहरू भाँचिएका छन् । टाउकोमा थुप्रै टाँकाहरू लगाइएका छन् । हात-खुट्टामा जताततै घाउ नै घाउ छन् । डाक्टरले हड्डी नजोडिए प्यारालाइसिस हुनसक्ने सम्मको जोखिम औँल्याएको कटुवालले सुनाए । यी विभिन्न तरिकाले गरिएको अनुसन्धानबाट ‘कुटाइ खाने अर्थमन्त्री’ भन्दै भाइरल भइरहेका व्यक्ति प्रहरी हवलदार चक्रबहादुर कटुवाल रहेको पत्ता लाग्यो ।

दाबी

जेन-जी विद्रोहको क्रममा प्रदर्शनकारीबाट काठमाडौँको एक खोलामा कुटपिट, ढुङ्गामुढा गर्दै निर्मम ढङ्गले आक्रमण खेपेका व्यक्ति तत्कालीन अर्थमन्त्री विष्णु पौडेल भएको दाबी गरिएको छ ।

दाबीकर्ता

यो दाबी फैलाउनेमा नेपाली हिपहप आर्ट, फलानो ले के भन्ला जस्ता फेसबुक पेज, उत्तम कुमार एनपीएल, सन्जयकुमार मिश्र, यमन पौड्याल, गोविन्द कुँवर जस्ता अनेकौँ सामाजिक सञ्जाल प्रयोगकर्ता छन् । साथै एबीपी लाइभ, न्युज एक्स लाइभ, इन्डिया डट नाव, रिपब्लिक वर्ल्ड, प्रयास मिडिया, हिमाली पत्रिका, विकिपिडिया जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले पनि यही दाबीसहितको सामग्री प्रकाशन तथा प्रसारण गरेका छन् ।

तथ्य

बागमती नदीमा प्रदर्शनकारीबाट मरणासन्न हुने गरी कुटिएका निलो हेल्मेटधारी व्यक्ति तत्कालीन अर्थमन्त्री विष्णु पौडेल रहेको दाबी गरिएको थियो । तर, अर्थमन्त्री विष्णु पौडेलको सचिवालयले उनीमाथि कुनै आक्रमण नभएको स्पष्ट पारिसकेको छ । टेकपानाको फ्याक्टचेक डेस्कले ओपन सोर्स इन्टेलिजेन्स विधि प्रयोग गरी गरेको अनुसन्धानमा सामाजिक सञ्जालमा ‘अर्थमन्त्री पौडेलले प्रदर्शनकारीबाट कुटाइ खाए’ भन्दै भाइरल भएका निलो हेल्मेटधारी व्यक्ति प्रहरी वृत नयाँ बानेश्वरका कर्मचारी रहेको सङ्केत मिल्यो ।

थप अनुसन्धानको क्रममा तीनकुने प्रहरी कार्यालय पुग्दा प्रदर्शनकारीले प्रहरी कार्यालयमा आगजनी र तोडफोड गरेपछि ज्यान जोगाउँदै भाग्ने क्रममा केही प्रहरीहरू नदीमा हाम फालेको खुल्यो । डीएसपी हरि खतिवडा भाइरल भिडिओमा कुटाइ खाने व्यक्ति प्रहरी हवलदार चक्रबहादुर कटुवाल भएको पुष्टि गरे । पछि प्रहरी अस्पतालमा उपचाररत पीडित कटुवाललाई नै टेकपाना टिमले गम्भीर घाइते अवस्थामा भेट्यो ।

आक्रमणकारीबाट बच्न आफूले बाइकको हेल्मेट लगाएको उनले बताए । प्रदर्शनका क्रममा आक्रमणबाट बच्न उनले प्रहरी बर्दी फुकालेर फालेका थिए । तर, प्रहरी हवलदार कटुवालले भने अरू सबै लुगा खोले पनि हेल्मेट हटाउन बिर्सिए । त्यही हेल्मेटकका कारण पनि उनी प्रदर्शनकारीको नजरमा परे । र, मरणासन्न हुने गरी कुटिए । पछि भाइरल भिडिओमा ती कुटाइ खाने व्यक्ति तत्कालीन अर्थमन्त्री विष्णु पौडेल रहेको भन्दै भ्रम फैलाइयो ।

निष्कर्श

अर्थमन्त्री विष्णु पौडेललाई खोलामा लखेटेर कुटपिट गरिएको भन्ने दाबी मिथ्या हो । भाइरल भिडिओमा देखिएका र प्रदर्शनकारीबाट मरणासन्न हुने गरी कुटिएका व्यक्ति अर्थमन्त्री नभई तीनकुने प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवलदार चक्रबहादुर कटुवाल हुन् ।

 

प्रतिक्रिया
तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नु हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज ३, २०८२ १८:३३