फ्याक्टचेकः छतबाट फोटो खिच्नेलाई पेस्तोल हान्ने मान्छे भन्दै झुटो प्रचारमा एमाले कार्यकर्ता
असोज ६, २०८२ १६:२७
काठमाडौँ । सामाजिक सञ्जालमा आइतबारदेखि एउटा भिडिओ भाइरल भइरहेको छ, जसमा नयाँ बानेश्वर स्थित सङ्घीय संसद अगाडि भएको प्रदर्शनमा एक व्यक्तिले छतबाट गोली हानेको दाबी गरिएको छ । 'सुटबुट' लगाएका ती व्यक्तिले प्रदर्शनकारीलाई ताकेको देखिने उक्त भिडिओलाई लिएर सामाजिक सञ्जालमा अनेक अड्कल काट्ने काम भइरहेको छ ।
तर, टेकपानाले गरेको फ्याक्टचेक अनुसार ती व्यक्तिले गोली हानेको नभई आफ्नो मोबाइलबाट प्रदर्शनको फोटो तथा भिडिओ खिचिरहेको पुष्टि भएको छ ।
दाबी
एमाले नेता एवम् पूर्वमन्त्री महेश बस्नेतले सोमबार २२ सेप्टेम्बर २०२५ बिहान ९ः११ बजे एक भिडिओ राखे । उनले सङ्घीय संसद भवनको अगाडि तर्फको एक भवनमा दुई व्यक्तिले भिडलाई ताकिरहेको जस्तो देखिने अस्पष्ट भिडिओ राखेका छन् । सो भिडिओको क्याप्सनमा उनले लेखेका छन्, “हेर्नुस। छतबाट लुकेर गोली हान्दै सुट–बुट लगाएको मानिस को हो? अदृश्य र अमूर्त शक्तिहरूको एउटा ठूलो षड्यन्त्रको चाल हो यो। क्रमश खुल्दै जाने नै छ्। जनता सचेत रहनुपर्छ, प्रश्न उठाउनु सबको कर्तव्य हो।”
यो सामग्री तयार पार्दासम्म उक्त भिडिओमा ४४०० बढी रियाक्सन, १४०० बढी कमेन्ट र छ लाख बढी भ्युज आएको छ भने ६९५ पटक शेयर गरिएको छ । हेर्नुहोस्, ओरिजिनल भिडिओ, आर्काइभ भिडिओ र स्क्रिनशट ।
अनुसन्धान
भिडिओ व्यापक रूपमा फैलिरहेको पाइएपछि टेकपाना फ्याक्टचेक डेस्कले यसमाथि अनुसन्धान अगाडि बढायो । त्यस क्रममा एक्समा रमिला नेपालीले २२ सेप्टेम्बर २०२५ बिहान ७ः५६ बजे भिडिओ राखेको पाइयो । उक्त भिडिओमा भने, “बज्यै अनुसन्धान गर्ने कि यस्ता प्रमाण मेटाउछौ ?” लेखिएको छ । भिडिओको क्याप्सनमा लेखिएको छ, “सांसद भवन अघाडी माथिबाट लुकेर #पेस्तोल चलाउने को होला? यस्ता प्रमाण हरु सुरक्षीत रहलान कि नरहलान? Nepal Police”
उनको फेसबुक आईडी हर्दा उनी एमाले कार्यकर्ता रहेको थाहा हुन्छ । यो सामग्री तयार पार्दासम्म उक्त भिडिओमा १२ हजार बढी भ्युज, १३७ लाइक ६२ रिपोस्ट र ४७ कमेन्ट आएका छन् । हेर्नुहोस्, ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।
फेसबुकमै सोमबार बिहान ८ः१० बजे अघिल्लो पटकको केपी शर्मा ओली सरकारले नेपाल रेल्वे कम्पनीको महाप्रबन्धकमा नियुक्त गरेका गुरु भट्टराईले पनि उक्त २८ सेकेन्डको क्लिप राखेका छन् । उनले लेखेका छन्, “Hello आमै ! घरको छतबाट पेस्तोल हान्नेको झै देखिने सुटेड बुटेड मान्छे को थियो? पत्ता लाउने कि? टुप्पितिरबाट गोली लाग्नुका कारण यस्तै हैनन् र ? घरका झ्यालबाट लुकेर हानिएका त अझ प्रमाण नै भेटिन्न ।”
हेर्नुहोस्, ओरिजिनल भिडिओ, आर्काइभ भिडिओ र स्क्रिनशट ।
फेसबुकमा राजन थापा नामका प्रयोगकर्ताले सोमबार ७ः४३ बजे सोही भिडिओ राखेका छन् । उक्त भिडिओको क्याप्सनमा लेखिएको छ, “ए म्यादी सरकार ढिलो चांडो मात्र हो यि यस्ता अराजग प्रमाणहरू फेला पर्दै छन्, जेन्जीको नाममा माथीबाट कसले गोली चलायो? अब कार्बाही गर्ने कि विदेशी दलालको ईसारामा चल्ने?”
थापाको फेसबुक टाइमलाइन हेर्दा उनी पनि एमाले कार्यकर्ता रहेको थाहा हुन्छ । हेर्नुहोस्, उनले शेयर गरेको ओरिजिनल भिडिओ, आर्काइभ भिडिओ र स्क्रिनशट ।
सागर नेपाली नामका फेसबुक प्रयोगकर्ताले सोमबार दिउसो १२ः३३ बजे भिडिओ राखेका छन् । एमाले कार्यकर्ता रहेका उनले उक्त झनै सनसनीपूर्ण बनाइएको भिडिओ राखेका छन् । यतिसम्मकी गोली चलेको आवाज मिसिएको उक्त भिडिओमा पाइन्छ । हेर्नुहोस् ओरिजिनल भिडिओ, आर्काइभ भिडिओ र स्क्रिनशट ।
यो भिडिओ एमाले निकट पत्रकार सङ्गठन प्रेस चौतारीको पूर्व अध्यक्ष गणेशबहादुर बस्नेत अध्यक्ष रहेको जनता टाइम्सले पनि फेसबुकमा राखेको छ । सोमबार बिहान १०ः०६ बजे अपलोड गरिएको उक्त भिडिओको क्याप्सनमा लेखिएको छ, “भदाै २३ गतेकाे दृष्यले सवैमा गम्भीर प्रश्न जन्माएकाे छ । हेर्नुस त छतबाट लुकेर गोली हान्दै गरेका सुट–बुट लगाएको मानिस को हो ? अदृश्य र अमूर्त शक्तिहरूको एउटा ठूलो षड्यन्त्रको याेजना हाे भन्ने तथ्य यसरी खुल्दैछ ।”
हेर्नुहोस्, ओरिजिनल भिडिओ, आर्काइभ भिडिओ र स्क्रिनशट ।

यो भिडिओ नेकपा (एमाले) समर्थक, नेकपा एमाले समर्थक समूह जस्ता फेसबुक ग्रुपमा पनि व्यापक रूपमा शेयर भइरहेको छ ।
आफूलाई एमाले निकटको राष्ट्रिय युवा सङ्घमा कार्यरत रहेको बताउने अमृत ओली धनुष नामका फेसबुक प्रयोगकर्ताले पनि उक्त भिडिओ राखेका छन् । उनको भिडिओमा ७२०० बढी रियाक्सन, ६५४ कमेन्ट र १० लाख बढी भ्युज आएको छ । हेर्नुहोस्, ओरिजिनल भिडिओ, आर्काइभ भिडिओ र स्क्रिनशट ।

‘छतबाट लुकेर गोली’ किवर्ड फेसबुकमा खोज्दा महेश बस्नेतले पोस्ट गरेकै प्याटर्नका भिडिओ आउँछन् भने ‘लुकेर #पेस्तोल’ किवर्ड सर्च गर्दा अमृत ओली धनुष नामक प्रयोगकर्ताले राखेकै प्याटर्नका भिडिओ भेटिन्छन् । यी भाइरल भएका अधिकांश भिडिओ धमिला र अस्पष्ट छन् ।
फ्याक्टचेकका क्रममा हामीले सबैभन्दा पहिले उक्त भिडिओको लोकेसन पत्ता लगाउने प्रयास गर्यौँ । त्यस क्रममा छतमा गोलो रेलिङ भएको देखियो । भिडिओमा केही अगाडि मिनभवनमा रहेको सङ्घीय संसद् भवनको १ नम्बर गेट देखिन्छ । गुगल म्याप्समा उक्त ठाउँ स्ट्यान्डर्ड चार्टर बैंक रहेको भवन भएको पाइयो ।

त्यसपछि हामीले भाइरल भइरहेका भिडिओबाट किफ्रेम निकाल्यौँ । त्यस क्रममा एउटा किफ्रेम गुगलमा रिभर्स इमेज सर्च गर्दा सोही भिडिओ टिकटकमा ‘sajnashrestha123’ नामक टिकटक अकाउन्टबाट ८ सेप्टेम्बर २०२५ मै अपलोड भएको पाइयो । अर्थात् यो जेनजी प्रदर्शनको पहिलो दिन खिचिएको भिडिओ थियो । यो भिडिओ २७ सेकेन्डको छ । भाइरल भइरहेको भिडिओ पनि २७ सेकेन्डकै हो ।
भिडिओमा कालो सुट, कालो बुट, सेतो सर्ट र घाँटीमा आईडी कार्ड झुण्ड्याएका एक व्यक्ति प्रस्टसँग चिनिने गरी देखिएका छन् । भिडिओको १ सेकेन्डमै ती व्यक्तिले दायाँ हातले मोबाइल समातेर रेलिङबाट भिडिओ खिचिरहेका प्रस्ट देखिन्छ ।
त्यसको ३ सेकेन्डमा दुई हातले मोबाइल अर्को दिशातर्फ तेर्साउँछन् । त्यसपछि अलि वर आएर फेरि माथिबाट तल हेर्दै दुबै हातले फोन समातेर भिडतर्फ मोबाइल तेर्साउँछन् । त्यही बेला भिड तितरबितर भएको देखिन्छ । हेर्नुहोस्, ओरिजिनल भिडिओ, आर्काइभ भिडिओ र भिडिओ प्रिभ्यु।
हामीले सज्ना श्रेष्ठले अपलोड गरेका अन्य भिडिओ पनि हेर्यौँ । त्यस क्रममा उनले केही अगाडि बानेश्वर चोकमा भइरहेको प्रदर्शनको अर्को भिडिओ पनि राखेको पाइयो । अर्थात् यो भिडिओ सज्ना श्रेष्ठले डीएनसी बिल्डिङको माथिल्लो भागबाट खिचेको पुष्टि हुन्छ ।
हामीले त्यहीँका अरू भिडिओ खोज्न थाल्यौँ । त्यस क्रममा ‘dejavuu772’ नामका टिकटक प्रयोगकर्ताले ८ सेप्टेम्बरमै अर्को भिडिओ राखेको पाइयो । उक्त भिडिमा फोटो खिच्ने व्यक्तिको अनुहार प्रस्ट चिनिन्छ । यो भिडिओ भने २२ सेकेन्डको छ । हेर्नुहोस्, ओरिजिनल भिडिओ, आर्काइभ भिडिओ र भिडिओ प्रि-भ्यु ।
फरक फरक अकाउन्टबाट ८ सेप्टेम्बरकै दिन अपलोड भएका यी दुई भिडिओले ‘छतमा देखिएका कालो सुटबुट लगाउने व्यक्ति’ले बन्दुक नभई फोन समातेको पुष्टि हुन्छ । हामीले ती दुबै भिडिओ एआई भिडिओ डिटेक्टर हाइभ मोडेरेसनमा राखेर हेर्दा वास्तविक भएको पुष्टि भयो । अर्थात् यो भिडिओ बनाउन कुनै एआई टुल प्रयोग भएको छैन ।
त्यसपछि हामीले स्ट्यान्डर्ड चार्टर्ड बैंक नयाँ बानेश्वरका सेक्युरिटी सुपरभाइजर मित्रकुमार अधिकारीलाई सम्पर्क गर्यौँ । उनले उक्त भिडिओमा देखिएका व्यक्ति सेक्युरिटी अफिसर असिम फेदे रहेको पुष्टि गरे । “उहाँ हाम्रै सेक्युरिटी अफिसर असिम फेदे हुनुहुन्छ,” टेकपाना फ्याक्टचेक डेस्कसँगको कुराकानीमा अधिकारीले भने, “स्ट्यान्डर्ड चार्टर्ड बैँक रहेको भवन प्रदर्शनकारी र प्रहरीको बिचमा पर्यो । त्यसबेला बैँकका कर्मचारी, भवन कसैलाई पनि कतैबाट क्षति नहोस् भन्नका लागि उहाँ माथि गएर सबै डिरेक्सनको फोटो खिच्नु भएको हो । त्यसको बेलुकीपख नै तपाईँले फोटो खिचेको भिडिओ भाइरल भइरहेको छ भनेर हामीले मजाक समेत गरेका थियौँ ।”
यसरी निरीक्षणका क्रममा अवकाश प्राप्त कर्णेलसमेत रहेका फेदेले फोटो खिचिरहेको दृश्यलाई गोली हानेको भन्दै भाइरल भइरहेको पाइयो ।
‘छतमा बसेर गोली हान्ने सुटबुट धारी व्यक्ति’ भन्दै आइतबार पोस्ट राख्ने अधिकांश प्रयोगकर्ताले अस्पष्ट, ब्लर तथा धमिलो भिडिओ राखेको देखिन्छ । यसका दुई ओटा सम्भावित कारण हुन सक्छन् । पहिलो एउटै भिडिओ धेरै पटक डाउनलोड र अपलोड हुँदा स्वतः त्यसको क्वालिटी घटेको हुनसक्छ । अर्को जानाजान भ्रामक प्रचार गर्न भिडिओको क्वालिटी घटाएर ब्लर पारिएको हुनसक्छ ।
त्यसमा पछिल्लो समय ‘गन नक’ गरेको र गोली पड्केको आवाज समेत थपेर राखिएको छ । ओरिजिनल भिडिओ राख्ने सजना श्रेष्ठको भिडिओमा त्यस्तो कुनै बन्दुक पड्केको आवाज सुनिँदैन । पछि गोली चलेको भन्दै राखिएका भिडिओमा पछि आबाज थपिएको स्पष्ट हुन्छ ।
दाबी
नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवन अगाडि भएको प्रदर्शनमा एक 'सुटबुट' लगाएका व्यक्तिले भवनको छतबाट प्रदर्शनकारीलाई ताकेर बन्दुकले गोली हानेका थिए ।
दाबीकर्ता
एमाले नेता एवम् पूर्वमन्त्री महेश बस्नेत, रमिला नेपाली (एक्स प्रयोगकर्ता), गुरु भट्टराई (नेपाल रेल्वे कम्पनीका पूर्व महाप्रबन्धक), राजन थापा, सागर नेपाली, जनता टाइम्स (अनलाइन मिडिया), अमृत ओली धनुष (राष्ट्रिय युवा सङ्घ), विभिन्न नेकपा (एमाले) समर्थक फेसबुक ग्रुप लगायत अन्य सामाजिक सञ्जाल पेज तथा प्रयोगकर्ता ।
तथ्य
१. भाइरल भएको भिडिओमा देखिएका व्यक्तिले बन्दुक नभई आफ्नो मोबाइल फोन समातेका थिए ।
२. टिकटकमा पहिले नै अपलोड भएका स्पष्ट भिडिओमा ती व्यक्तिले मोबाइलबाट प्रदर्शनको फोटो र भिडिओ खिचिरहेको देखिन्छ ।
३. ती व्यक्ति स्ट्यान्डर्ड चार्टर्ड बैंक, नयाँ बानेश्वर शाखाका सेक्युरिटी अफिसर असिम फेदे (अवकाश प्राप्त कर्णेल) हुन् ।
४. प्रदर्शनको समयमा बैँक र कर्मचारीको सुरक्षा अवस्था निरीक्षण गर्न उनी छतमा गएर फोटो खिचिरहेका थिए ।
५. भाइरल गरिएका केही भिडिओमा राखिएको बन्दुक पड्किएको आवाज कृत्रिम रूपमा पछि थपिएको हो, मूल भिडिओमा त्यस्तो कुनै आवाज छैन ।
निष्कर्ष
‘छतबाट प्रदर्शनकारीलाई गोली हानेको’ भन्दै सामाजिक सञ्जालमा गरिएको दाबी मिथ्या हो । भाइरल भिडिओमा देखिएका व्यक्ति बन्दुकधारी नभई एक बैँकका सुरक्षा अधिकृत हुन्, जसले प्रदर्शनको समयमा सुरक्षा निरीक्षणका लागि आफ्नो मोबाइल फोनले फोटो तथा भिडिओ खिचिरहेका थिए ।
तत्कालीन केपी शर्मा ओली सरकार ढलेर हाल नयाँ अन्तरिम सरकार बनेको अवस्थामा केपी ओली र एमाले समर्थकले झुटो दाबीसहितका पोस्ट भाइरल बनाइरहेका हुन् ।

प्रतिक्रिया
तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नु हुनेछ ।
पछिल्लो अध्यावधिक: असोज ६, २०८२ १७:११
