नेपाल टेलिकमका प्याकेज अब सब्सक्रप्सन मोडेलमा, हट्यो हरेक महिना प्याकेज लिनुपर्ने झन्झट
असार १४, २०८३ १२:४६
काठमाडौं । नेपाल टेलिकमले आफ्ना प्रिपेड मोबाइल प्रयोगकर्ताहरूका लागि सब्सक्रिप्सन मोडेल ल्याएको छ । कम्पनीले आइतबारदेखि मासिक रूपमा स्वतः नवीकरण (Auto-Renew) हुने सब्स्क्रिप्सन बेस्ड मोडेल अन्तर्गत विभिन्न नयाँ प्याकेजहरू सञ्चालनमा ल्याएको हो ।
नयाँ व्यवस्था अनुसार, अब प्रिपेड ग्राहकहरूले हरेक महिना झुक्किएर वा बिर्सिएर प्याकेज सकिने समस्या भोग्नु पर्ने छैन । एक पटक यो सेवा सक्रिय (Subscribe) गरिसकेपछि, ग्राहकको मोबाइलमा पर्याप्त ब्यालेन्स भएमा प्रत्येक ३० दिनमा उक्त प्याकेज आफैं नवीकरण हुनेछ ।
यस अन्तर्गत नमस्ते रिकरिङ २९९ (रु) प्याकेजमा ग्राहकले ३०० मिनेट सबै नेटवर्कमा कल गर्न मिल्ने ‘अल-नेट भ्वाइस’ सुविधा पाउनेछन् । साथै, ४ जीबी अल-टाइम डेटा र राती ११ बजेदेखि बिहान ६ बजेसम्म चलाउन मिल्ने थप २ जीबी नाइट डेटा उपलब्ध हुनेछ । यसमा कम्पनीको आफ्नै नेटवर्कमा पठाउन सकिने २० वटा एसएमएस पनि समावेश गरिएको छ ।
त्यस्तै दोस्रो नमस्ते रिकरिङ ४९९ प्याक रहेको छ । ४९९ रुपैयाँ शुल्क लाग्ने यो प्याकेजमा ५०० मिनेट अल-नेट भ्वाइस कल सुविधा उपलब्ध छ । डेटातर्फ ८ जीबी अल-टाइम र ४ जीबी नाइट डेटा (राती ११ देखि बिहान ६ बजेसम्म) पाइनेछ । साथै, सबै नेटवर्कमा पठाउन मिल्ने १०० वटा अल-नेट एसएमएसको सुविधा पनि यसमा रहेको छ ।
तेस्रो प्याकेजको रूपमा नमस्ते रिकरिङ ७९९ प्याक ल्याइएको छ । ७९९ रुपैयाँमा उपलब्ध हुने यस प्याकेजमा सबै नेटवर्कमा असीमित (अनलिमिटेड) कल गर्न सकिने ‘अल-नेट भ्वाइस’ सुविधा दिइएको छ । यसमा प्रतिदिन १० जीबीका दरले मासिक कूल ३०० जीबी डेटा र ३०० वटा अल-नेट एसएमएस प्राप्त हुनेछ ।
थप डेटा आवश्यक पर्ने ग्राहकहरूलाई लक्षित गर्दै ‘एड-अन’ सुविधा पनि ल्याइएको छ । जसअनुसार सब्स्क्रिप्सन प्याकेज लिने ग्राहकहरूले आफ्नो डेटा बिचैमा सकिएमा वा थप आवश्यकता परेमा विशेष ‘एड-अन’ (Add-on) प्याकेजहरू पनि लिन सक्नेछन् । जसअनुसार ३० रुपैयाँमा १ दिनका लागि १ जीबी डेटा, ५० रुपैयाँमा ३ दिनका लागि २ जीबी डेटा र ९९ रुपैयाँमा ७ दिनका लागि ४ जीबी डेटा खरिद गर्न सकिनेछ ।
कसरी गर्ने सक्रिय ?
कम्पनीका सेवाग्राहीले आफ्नो मोबाइलबाट *१४१५# डायल गरी प्राप्त निर्देशन अनुसार यी प्याकेजहरू सजिलै खरिद र सक्रिय गर्न सक्नेछन् । नेपाल टेलिकमको यो नयाँ पहलले प्रयोगकर्तालाई डिजिटल रूपमा थप सहज र झन्झट मुक्त बनाउने विश्वास गरिएको छ ।
पछिल्लो अध्यावधिक: असार १४, २०८३ १२:५१
