पेस्तोल बोकेको तस्विर र भिडिओ भाइरल बनेपछि टीओबीका संयोजक तेन्जिङ दावा प्रहरी नियन्त्रणमा
असोज २६, २०८२ २१:१६
काठमाडौँ । केही दिनदेखि सामाजिक सञ्जालमा भाइरल भएको पेस्तोल समातेको भिडिओ तथा फोटोमा देखिने युवक प्रहरी नियन्त्रणमा परेका छन् । उनी आइतबार जिल्ला प्रहरी परिसर, काठमाडौँमा आफैँ उपस्थित भएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले ती व्यक्ति तेन्जिङ दावा भएको पुष्टि गरे । “भिडिओ भाइरल भएपछि त्यसमा सर्वत्र चासो बढेको थियो, हामीले पनि अनुसन्धान गरिरहेका थियौँ,” एसपी भट्टराईले भने, “पछि उहाँ आफैँ कार्यालयमा आउनुभयो । अहिले उहाँ हामीसँगै हुनुहुन्छ ।”
आइतबारदेखि दाबाले कम्मरको पछाडि पेस्तोल लुकाएको भिडिओ भाइरल भएको थियो । भिडिओमा दावा अर्का एक व्यक्तिबाट बन्दुक लिइरहेको अवस्थामा देखिन्छन् । शनिबारदेखि सामाजिक सञ्जालमा २३-२४ भदौको जेन-जी प्रदर्शनका क्रममा ‘टीओबी’ अङ्कित लुगा लगाएका व्यक्तिको भिडिओहरू पनि भाइरल भइरहेका छन् ।
उक्त भिडिओलाई ‘स्वतन्त्र तिब्बत’ गतिविधिसँग जोडेर हेरिएको छ । दाबा पनि सोही ‘टीओबी’का नेतृत्वकर्ता हुन् । उनैको भिडिओलाई आधार बनाएर उनले पेस्तोलसहित प्रदर्शनमा घुसपैठ गरेको बताइएको छ ।
पछिल्लो अध्यावधिक: असोज २७, २०८२ १४:१६
