close

बक्यौता नतिर्ने अवैध क्लासिक टेकसँग सञ्चारमन्त्री खरेलको यो कस्तो मोह ? पाँचखालमा सँगसँगै

उन्‍नत सापकोटा उन्‍नत सापकोटा

पुस ११, २०८२ १७:५७

बक्यौता नतिर्ने अवैध क्लासिक टेकसँग सञ्चारमन्त्री खरेलको यो कस्तो मोह ? पाँचखालमा सँगसँगै

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल अवैध रूपमा सञ्चालन भइरहेको क्लासिक टेकका सञ्चालक प्रमेश खरेलको प्रभावमा परेको पाइएको छ । ५० करोड रुपैयाँभन्दा बढी सरकारी बक्यौता थुप्रिएको र लाइसेन्सको म्याद समेत समाप्त भइसकेको कम्पनीका सञ्चालक प्रमेशले मन्त्रीसँगको सामीप्यता बढाएका हुन् ।

राजनीतिक शक्ति प्रयोग गर्दै प्रमेशले आफ्नो व्यापारिक स्वार्थ अनुकूल वातावरण बनाउन मन्त्री खरेललाई प्रभावमा पारेका छन् । नेपालको दूरसञ्चार इतिहासमा अहिलेसम्म कसैले नपाएको सुविधा दिएर क्लासिक टेक जोगाउने प्रयासमा मन्त्री खरेल लागिसकेका छन् । उनले विद्युत प्राधिकरण अन्तर्गत ट्रङ्कलाइनको बक्यौता तिर्न उद्योगीहरूलाई किस्ताबन्दी सुविधा दिइएको जिकिर गर्दै सोही मोडालिटीमा क्लासिक टेकलाई जोगाउने उपाय निकालेका छन् । जब कि रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष दस्तुरको बक्यौता किस्ता बन्दीमा तिर्ने सुविधा अहिलेसम्म दूरसञ्चार क्षेत्रका कुनै पनि कम्पनीलाई दिइएको छैन । बरु उल्टै लाइसेन्स नवीकरण दस्तुर तिर्न टेलिकम कम्पनीहरूलाई किस्ताबन्दीको सुविधा दिइएको विषयमा समेत महालेखाले प्रश्न उठाएको छ ।  

यसैबिच सञ्चारमन्त्री खरेल र क्लासिक टेकका सञ्चालक प्रमेश खरेल बिहीबार काभ्रेको पाँचखालमा सँगै देखिएका छन् । राज्यलाई बुझाउनुपर्ने ५० करोड रुपैयाँभन्दा बढी कर नतिरेर बिना लाइसेन्स अवैध रूपमा इन्टरनेट सेवा सञ्चालन गरिरहेका खरेलले सुशासनको माग गर्दै भएको जेन-जी आन्दोलनपछि गठित सुशीला कार्की नेतृत्वको सरकारलाई समेत प्रभावमा पार्दै लगेका हुन् । क्लासिक टेकलाई उन्मुक्ति दिलाउने गृहकार्यमा रहेका सञ्चालक प्रमेश खरेल र सञ्चारमन्त्री खरेल एकसाथ देखिनुलाई रहस्यपूर्ण मानिएको छ । 

एकातिर बक्यौता नतिर्दा क्लासिक टेकले इन्टरनेट सेवा प्रदायक र विदेशबाट ब्यान्डविथ ल्याउन चाहिने नेटवर्क सेवा प्रदायक गरी दुवै लाइसेन्स गुमाइसकेको छ । वर्ल्डलिंक, भायानेट र सुबिसु लगायतका इन्टरनेट सेवा प्रदायकले बक्यौता बुझाउन किस्ताबन्दीको सुविधा माग गर्दा नसुनेको सरकार क्लासिक टेकबाट भने सजिलै प्रभावित भइरहेको छ । 

हाललाई बक्यौताको निश्चित रकम (करिब ५ करोड रुपैयाँ) बुझाएर लाइसेन्स नवीकरण गराउने दाउमा क्लासिक टेकका सञ्चालक प्रमेश खरेल लागिपरेका छन् । सोही योजना मुताविक सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल उनको सारथीको रूपमा उभिएका हुन् ।  

नियामक दूरसञ्चार प्राधिकरणका अधिकारीहरू बक्यौता नतिर्ने क्लासिक टेकमाथि कारवाही अघि बढाउनुपर्ने पक्षमा छन् । तर, सञ्चारमन्त्री खरेल र प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारी क्लासिक टेकको लाइसेन्स खारेजी प्रक्रिया अघि बढाउनको साटो सहजीकरण गर्नुपर्ने पक्षमा छन् ।  

मन्त्री खरेलकै दबाबमा दूरसञ्चार प्राधिकरणले २१ मङ्सिरमा सार्वजनिक गरेको लाइसेन्स खारेजीको ३५ दिने सूचनाबाट क्लासिक टेकको नाम हटाएको थियो । मन्त्री खरेलको चाहना अनुरूप प्राधिकरण अध्यक्ष भण्डारीले समेत क्लासिक टेकलाई उन्मुक्ति दिने भूमिका खेलिरहेका छन्  । 

मन्त्रीले नियामकीय प्रक्रियालाई प्रभावित पार्दै क्लासिक टेकमाथिको कारवाही रोकिरहेको परिप्रेक्षमा बिहीबार मन्त्री र कम्पनीका सञ्चालक काभ्रेमा सँगै देखिए । सञ्चारमन्त्री खरेललाई बिहीबार क्लासिक टेककै सञ्चालक प्रमेश खरेलले काभ्रेको पाँचखाल नगरपालिकाको अवलोकन भ्रमणमा लगेको बुझिएको छ । 

अवलोकन भ्रमणको नाम दिए पनि क्लासिक टेकका प्रमेश खरेलको व्यापारिक स्वार्थमा सञ्चारमन्त्री खरेलसँगै पाँचखाल नगरपालिकाका मेयर महेश खरेल पनि जोडिएका छन् । 

सञ्चारमन्त्री खरेल पछिल्लो समय सरकारको दूत बनेर निरन्तर राजनीतिक नेतृत्वसँग भेटघाटमा कुदिरहेका छन् । मन्त्री खरेलको सचिवालयले धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण मानिने खरेलथोक स्वारामा प्रत्येक वर्ष हुने कुलपूजा तथा विविध धार्मिक कार्यक्रममा भाग लिन पाँचखाल पुगेको बताएको छ । 

क्लासिक टेकका प्रमेश पाँचखाल नगरपालिकाका मेयर महेशका काकाका छोरा हुन् । महेशलाई आर्थिक रूपमा प्रमेशले विगतदेखि नै सघाउँदै आइरहेका छन् । 

केही समय अघिसम्म नयाँ बानेश्वरको एभरेस्ट होटल पछाडि रहेको देवी टावरमा क्लासिक टेकको मुख्य कार्यालय थियो । देवी टावर मेयर महेश खरेलकै हो । क्लासिक टेक रहेकै अफिस स्पेसमा एकाएक एननेटको कार्यालय खडा गरियो । 

एननेटको नाममा प्राधिकरणबाट चार महिना अघि अर्थात् १५ वैशाख २०८२ मा मात्रै इन्टरनेट सेवा प्रदायक र नेटवर्क सेवा प्रदायक गरी दुई ओटा लाइसेन्स जारी भएका छन् । यो नयाँ इन्टरनेट सेवा प्रदायक कम्पनीको कार्यालय, बजार उपस्थिति र कभरेजले क्लासिक टेकसँगको सम्बन्ध सतहमा ल्याएको थियो । 

केही महिना अघिसम्म क्लासिक टेकको अफिस रहेको देवी टावरमा अहिले पनि एननेटकै कार्यालय छ । हाल प्राधिकरणले ट्यारिफ स्वीकृत नगराएको भन्दै एननेटलाई सेवा सञ्चालन गर्न रोक लगाएको छ । 

देवी टावरमा एननेट आएपछि क्लासिक टेकले आफ्नो मुख्यालय बुद्धनगरमा सारेको थियो । क्लासिक टेक सरेको बुद्धनगरको घर पनि उनै मेयर महेश खरेलकै हो । 

स्रोतका अनुसार बुद्धनगरको यही घर कुनै समय बैङ्कको लिलामीमा पर्न लाग्दा प्रमेश खरेलले जोगाइदिएका थिए । त्यसपछि दुई दाजु-भाइबिचको सम्बन्ध थप मजबुत बन्दै गइरहेको छ । 

दाइको राजनीतिक पहुँच र प्रभाव प्रयोग गर्दै प्रमेश खरेल अहिले क्लासिक टेक जोगाउने प्रयासमा छन् । यसरी मन्त्री खरेल क्लासिक टेकको प्रभावमा पर्दा दूरसञ्चार प्राधिकरण समेत करोडौँ बक्यौता नतिर्ने कम्पनीको लाइसेन्स खारेज गर्नुपर्ने कानुनी दायित्वबाट बिमुख भइरहेको छ । 

वर्तमान सरकार गठन हुनुअघि पनि क्लासिक टेकले राजनीतिक दबाबमा आफ्नो अस्तित्व जोगाएको थियो । त्यतिबेला एमाले र कांग्रेसको संयुक्त सरकार थियो । मेयर खरेल काँग्रेसबाट निर्वाचित मेयर हुन् । त्यही राजनीतिक पहुँच प्रयोग गरेर प्रमेश खरेलले तत्कालीन सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङमार्फत प्राधिकरणबाट क्लासिक टेकको कारवाही होल्ड गराउन सफल भएका थिए ।  

यसैबिच भर्खरै क्लासिक टेकलाई ब्यान्डविथ बेचिरहेको एनसेलले एक वर्षदेखि थुप्रिँदै गएको ३० करोड रुपैयाँभन्दा बढी बक्यौता नतिरेको भन्दै सम्झौता तोडेको छ ।

पछिल्लो अध्यावधिक: पुस ११, २०८२ १८:३१