टेकपाना फ्याक्टचेकः बालेनले गरेका छैनन् केपीले जिते झापालाई नेपालको नक्साबाट हटाउने पोस्ट
पुस १७, २०८२ १५:१५
काठमाडौँ । पछिल्ला केही दिन यता काठमाडौँ महानगरपालिकाका प्रमुख तथा रास्वपाले आगामी प्रधानमन्त्रीका लागि अगाडि सारेका बालेन शाहको भन्दै एउटा पोस्ट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको तयारी सुरु भएसँगै बालेनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अघि सारेको छ ।
प्रधानमन्त्रीको उम्मेदवार बन्ने भएपछि उनले काठमाडौँ महानगरको प्रमुखबाट राजीनामा दिएर कुनै निर्वाचन क्षेत्रबाट संसदीय निर्वाचनमा भाग लिनेछन् । यसै क्रममा उनी कुन निर्वाचन क्षेत्रबाट चुनाव लड्छन् भन्ने स्पष्ट नभए पनि काठमाडौँ, महोत्तरी र झापालाई सम्भावित रूपमा हेरिएको छ ।
पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापाबाट बालेन स्वयँले चुनाव लड्ने चाहन व्यक्त गरेको भन्दै केही दिनयता सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म चर्चा भइरहेको छ । यही चर्चाका बिच ‘झापामा केपी ओलीले जित्यो भने झापालाई नेपालको नक्साबाट हटाउनु पर्छ…’ भन्ने किसिमको पोस्ट बालेनले गरेको भन्दै एक स्क्रिनशट भाइरल भएको हो । तर टेकपाना फ्याक्ट चेकका क्रममा बालेनले उक्त पोस्ट नगरेको र केही सामाजिक सञ्जाल प्रयोगकर्ताले फोटो एडिट गरी बालेनकै पोस्ट भएजस्तो गरी भ्रम सिर्जना गरिरहेको पुष्टि भएको छ ।
दाबी
टिकटकमा Ujwal Thapa🇳🇵 (ujwalthapa36) नाम राखेका एक प्रयोगकर्ताले १ जनवरी २०२५ को दिन बिहान करिब १० बजेतिर बालेनको पोस्ट जस्तो देखिने स्क्रिनशट सहित भिडिओ राखेका छन् । स्क्रिनशटमा लेखिएको छ, “अरू कुरा त्यस्तै हो झापामा केपिले जित्यो भने झापालाई नेपालको नक्साबाट हटाउनु पर्छ । एउटा जिल्लाका मतदाताले गलत मत प्रयोग गर्दा सारा नेपाली ले दुःख पाएका छन् । यसको जिम्मा झापाली जनताले लिनु पर्छ । ७६ जनाको gen-z को रगत पिएको अपुतो केपी ओली लाई ठेगान लगाउनै पर्छ। रवि दाइ, यो यात्रा एकल सफलताका लागि हो देशलाई सक्षम बनाउने सपना बोकेर शोधको बाटो रोजिएको हो। त्याग यही हो -”
‘तराई भारतलाई बेच्ने कुरा आयो’ भन्ने टेक्स्ट ओभरले राख्दै उनले भिडिओमा बोलेका छन्, “देखियो हैन त । अनि त जितेकै छैन, नेपाल बेच्ने कुरा बालेनले गरिसक्यो । भारतको एजेन्ट हो यो घण्टी पार्टी भनेको । अब सुरु भयो । अब केपी ओलीले झापामा जित्छ । अब झापा जितिसकेपछि तराई भाग सबै इन्डियालाई जिम्मा लगाउने भन्ने कुरो चाहिँ बालेनले ग रिसक्यो । गाह्रो छ । अस्ति डेढ सय जति एम्बुलेन्स भारतले पठाइद्या थ्यो, बालेनले यसो बाँड्या जस्तो गर्या थे । अनि भारतलाई पहिला विरोध गर्या जस्तो ग र्यो, पछि अब भारतसँग च्यानल मिलायो । यदि झुक्किएरै सबैले प्रधानमन्त्री नै बनाए भने पनि नेपाल त बेचिने भयो । भारतलाई । अब कुन कुन जिल्ला बेच्ने भन्ने कुरामा सबैले भागबन्डा गरेकै होलान् । अब मख्ख पर्दैछ इन्डिया ।”
यो सामग्री तयार पार्दासम्म उक्त भिडिओ करिब ४९ हजारले हेरेका छन् भनेकरिब २००० लाइक, २५ कमेन्ट, १२५ सेभ र १२१ पटक शेयर भएको छ ।
हेर्नुहोस्, उज्वल थापाको टिकटक भिडिओ, भिडिओको अर्काइभ र स्क्रिनशट ।
अनुसन्धानः
स्क्रनशट भाइरल भइरहेको देखेपछि टेकपाना फ्याक्टचेक डेस्कले अनुसन्धान अगाडि बढायो । त्यस क्रममा अन्य प्रयोगकर्ताले समेत सो स्क्रिनशट फैलाइरहेको पाइयो । नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीले समेत उक्त स्क्रिनशट फेसबुकमा शेयर गरेकी छिन् । नागरिक दैनिक (नेपाली), रिपब्लिका (अङ्ग्रेजी दैनिक), नागरिक न्युज डटकम, माई रिपब्लिका डटकम नामक अनलाइन न्युजपोर्टल जस्ता मिडियाको सञ्चालक जस्तो पदमा रहेकी उनले क्याप्सनमा लेखेकी छिन्, “यो बीचार के हो मैले अली बुझीन हजुर राष्ट्र भावना होइन, जिम्मेवारी र एकताले बन्छ। नक्सा, सार्वभौमिकता र मताधिकार सबै नेपालीको साझा दायित्व हुन्। दोषारोपण होइन, सचेत निर्णय र सहकार्यले मात्र देश सक्षम बन्छ। जस्तो लाग्छ हजुर झापा नेपालकै अभिन्न अङ्ग हो। देश कहिल्यै गलत हुँदैन, गल्ती निर्णय र सोचमा हुन्छ। एकता, जिम्मेवारी र राष्ट्रिय गौरवले नै नेपाल बलियो बन्छ”
हेर्नुहोस्, शोभा ज्ञवालीको फेसबुक पोस्ट, फेसबुक पोस्टको अर्काइभ र तलको स्क्रिनशट ।
माथिको स्क्रिनशट गुगल रिभर्स इमेज सर्च प्रयोग गरी खोज्दा Gen-z (@gen_z.870) नाम गरेको टिकटक अकाउन्ट भेटियो । ३१ डिसेम्बर राति करिब ११ बजेतिर पोस्ट भएको उक्त भिडिओमा @gen_z.870 ह्यासट्याग राख्दै म्युजिकसहित उक्त स्क्रिनशट राखिएको छ । यो सामग्री तयार पार्दासम्म त्यसमा १८५ हजार भ्युज, करिब ५ हजार लाइक, ३६० कमेन्ट र २१६ पटक शेयर भइसकेको थियो ।
हेर्नुहोस् जेन-जी नामक टिकटक आईडीबाट पोस्ट भएको टिकटक भिडिओ, त्यसको अर्काइभ र तलको स्क्रिनशट ।
शोभा ज्ञवालीले पोस्ट गरेको स्क्रिनशट माथिको यही जेन-जी नामक टिकटक आईडीमा पोस्ट भएको भिडिओबाट लिएको जस्तो देखिन्छ ।
यसैक्रममा हामीले भाइरल स्क्रनशटमा भएका किवर्डहरू राखेर गुगल गरेर खोज्यौँ । त्यस क्रममा यस्तै दाबी देखिने २७ डिसेम्बर २०२५ को बिहान ८ः३८ बजेको समयमा गरिएको एक फेसबुक ग्रुपको पोस्ट फेला पर्यो । Bikram Chhetry नाम गरेका व्यक्तिले शिक्षक सेवा आयोग
हेर्नुहोस् उक्त पोस्ट, त्यसको अर्काइभ र तलको स्क्रिनशट ।
यस्तै फेसबुकमा ‘बालेन झापा नक्साबाट’ किवर्ड राखेर सर्च गर्दा Sisir Budhathoki नाम गरेका प्रयोगकर्ताले राखेको पोस्ट भेटियो । पूर्व प्रधानमन्त्री तना नेकपा एमालेका अध्यक्ष केपी ओली र बालेनको फोटो जोडेर राखिएको उक्त पोस्टमा उनले लेखेका छन्, “बालेन झापा बाट चुनाब लडे र फेरि केपिको नै जित भयो भने झापालाई नेपालको नक्साबाट हटाउनु पर्छ 😃Note: म पनि झापाली हु है 😃”
अब भाइरल भइरहेको स्क्रिनशट र त्यसमा गरिएको दाबीको सत्यता तर्फ लागौँ । यस क्रममा हामीले भाइरल स्रिनशटमा रहेको टेक्ट कपी गरेर फेसबुकमा पोस्ट गर्यौँ र क्रमशः एन्ड्रोइड र आईफोनबाट त्यसको स्क्रिनशट लियौँ । यसरी हेर्दा भाइरल स्क्रिनशटमा रहेको फन्ट र एन्ड्रोइड तथा आईफोनको स्क्रिनशटमा देखिने फन्ट मेल खाएन । हेर्नुहोस् तलको स्क्रिनशट बिचको भिन्नताः
यसैगरी हामीले बालेनको फेसबुक पेजबाट अक्षरमा मात्र लेखिएको एउटा पछिल्लो पोस्टको स्क्रिनशट लियौँ । यसरी लिइएको स्क्रिनशट र भाइरल स्क्रिनशट दाँजेर हेर्दा वास्तविक स्क्रिनशटमा बालेनको नामभन्दा मुनी र पोस्टभन्दा माथि उक्त पोस्ट गरिएको मिति र भिजिबिलिटी इन्डिकेटर देखिन्छ । तर भाइरल पोस्टमा पब्लिक भिजिबिलिटीको इन्डिकेटर भए पनि मिति गायब छ । तल हेर्नुहोस् बालेनको एउटा पोस्टको स्क्रिनशटः
अब पोस्टको विषयवस्तु र सन्दर्भको विश्लेषण गरौँ । भाइरल पोस्टमा लेखिएको भाषा जेनजी आन्दोलनपछिको परिस्थिति र चुनावको विषयमा केन्द्रित रहेको भन्ने बुझिन्छ । काठमाडौँ महानगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि उनका हरेक पोस्टको चर्चा सामाजिक सञ्जालदेखि स्थापित मिडियासम्म हुने गरेको छ । उनको सामाजिक सञ्जालको उपस्थिति र चर्चाले नै उनी अहिले भावी प्रधानमन्त्रीको रूपमा सबैभन्दा बढी चर्चामा छन् ।
२३-२४ भदौ २०८२ को जेनजी आन्दोलनपछि त झन् उनले गर्ने सामाजिक सञ्जालका सामान्य पोस्ट पनि सबैको नजरमा हुने गर्छन् । एकछिनलाई मानौँ नेपालको कुनै जिल्लालाई देशको नक्साबाटै मेटाउने जस्तो विवादित र राष्ट्रघाती विषय उनले पोस्ट नै गरे भने के होला ? स्थापित सामाजिक सञ्जालदेखि देश तथा विदेशका सानाठुला सञ्चार माध्यमको कभरेजको विषय होला कि नहोला ?
यदि हो भने अब बालेनको भन्दै भाइरल पोस्टमा रहेका केही किवर्डलाई पुनः गुगल, फेसबुक, एक्स(ट्वीटर), टिकटक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जाल प्लेटफर्ममा खोजेर हेर्दा पक्कै भेटिन्छ । त्यसैले हामीले ‘बालेन केपी झापा’, ‘बालेन नेपालको नक्सा’, ‘बालेन झापा नक्सा’ जस्ता किवर्ड राखेर गुगल गर्यौँ । त्यस क्रममा ‘बालेन र ग्रेटर नेपालको नक्सामा गोविन्द थापाको कडा प्रश्न’, ‘बालेनको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा’, ‘झापा–५ मा बालेन आउने चर्चाले नै हल्लियो एमालेको गढ’, ‘बालेन झापा ५ बाट चुनावमा उठ्ने हल्लाले एमाले तरंगित’, ‘नेपालको चुचे नक्सा नस्वीकारेकोमा बालेनको चीन भ्रमण रद्द’, ‘झापा–५ मा ओलीसँग भिडे बालेनको जमानत जफत गरिदिने चेतावनी’, ‘नक्सा समेत पास गरिएको छैन दमक भ्यु टावरको’ जस्ता शीर्षकका समाचार भेटिए ।
तर पछिल्लो समय भाइरल भएको पोस्टको विषयमा कुनै पनि स्थापित सामाजिक सञ्जाल पेज, प्रयोगकर्ता वा सञ्चारमाध्यमले कभरेज गरेको वा लेखेको देखिएन । यसबाट बालेन शाहको भन्दै भाइरल पोस्ट झुटो तथा भ्रामक भएको र फोटोशप तथा अन्य फोटो एडिटिङ एप-सफ्टवेयर मार्फत एडिट गरी बनाइएको भन्ने पुस्टि हुन्छ ।
दाबी
“झापामा केपिले जित्यो भने झापालाई नेपालको नक्साबाट हटाउनु पर्छ…”, “तराई भारतलाई बेच्ने कुरा आयो”, “नेपाल बेच्ने कुरा बालेनले गरिसक्यो”
दाबी कर्ता
Gen-z (@gen_z.870) र Ujwal Thapa🇳🇵 (ujwalthapa36) जस्ता टिकटक आईडी तथा फेसबुक प्रयोगकर्ता शोभा ज्ञवाली, Sisir Budhathoki र Bikram Chhetry ।
तथ्य
केही सामाजिक सञ्जालले उक्त स्क्रिनशट फैलाइरहेको भए पनि स्थापित सामाजिक सञ्जाल पेज तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियाले त्यस बारेमा कुनै पनि कभरेज गरेका छैनन् । भाइरल पोस्टमा प्रयोग गरिएको फन्ट एन्ड्रोइड तथा आईफोनमा देखिने फन्टसँग समेत मेल खाँदैन । बालेनले गर्दै नगरेको पोस्ट उनी आफैले आफ्नो फेसबुकमा पोस्ट गरेको जस्तो देखिने गरी फोटो एडिटिङ एप तथा सफ्टवेयर प्रयोग गरी बनाइएको एउटा स्क्रिनशट केही दिनदेखि सामाजिक सञ्जालमा भाइरल गराइएको हो ।
निष्कर्ष
बालेन शाहले “झापामा केपिले जित्यो भने झापालाई नेपालको नक्साबाट हटाउनु पर्छ…” भन्दै लेखेको जस्तो देखिने स्क्रिनशट एडिट गरी भ्रम छर्न बनाइएको हो । बालेनले त्यस्तो कुनै पोस्ट गरेका छैनन् ।
प्रतिक्रिया
तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नु हुनेछ ।
पछिल्लो अध्यावधिक: पुस १७, २०८२ १७:१८
