close

फ्याक्टचेक: बालेनले साम्बालाई ३ लाख सहयोग गरेको दाबी झुटो, भाइरल फोटो एआई सिर्जित

हिक्मत आचार्य हिक्मत आचार्य

फागुन १३, २०८२ १८:३८

फ्याक्टचेक: बालेनले साम्बालाई ३ लाख सहयोग गरेको दाबी झुटो, भाइरल फोटो एआई सिर्जित

काठमाडौँ । मङ्गलबारदेखि सामाजिक सञ्जालमा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर ५ का उम्मेदवार एवम्  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’लाई तीन लाख रुपैयाँ सहयोग गरेको दाबीसहितको पोस्टले चर्चा पाइरहेको छ । बालेनले अस्पताल पुगेर साम्बालाई रकम दिएको उक्त पोस्टमा देखाइएको छ ।

तर, टेकपाना फ्याक्टचेक डेस्कले गरेको तथ्यजाँचबाट उक्त दाबी मिथ्या पुष्टि भएको छ । वास्तवमा चुनावी अभियानमा होमिएका बालेनले साम्बालाई कुनै आर्थिक सहयोग गरेका छैनन् । भाइरल भइरहेको उक्त तस्बिर एआई सिर्जित हो ।

दाबी

बुधबार, २५ फेब्रअरी २०२६ बिहान ०५ः०३ बजे ‘Miss Pabi 41’ नामको फेसबुक पेजले एक पोस्ट राख्यो । फोटोमा बालेन र सावित्रा भण्डारी (साम्बा) जस्तो देखिने फोटो राखिएको छ । फोटोमा बालेनले अस्पतालको बेडमा रहेकी साम्बालाई रकम दिइएको जस्तो देखाइएको छ । त्यसको क्याप्सनमा लेखिएको छ, “बालेन शाहले साम्बा लाई गरे ३ लाख सहयोग, सबैले Get Well Soon लेख्नुहोला ❤️🙏😭😭 ।” यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा २६ हजार बढी रियाक्सन, १५०० बढी कमेन्ट र ३६३ पटक शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

अनुसन्धान

बालेनले साम्बालाई आर्थिक सहयोग गरेको विषयबारेका दाबी फेला पार्न फेसबुकमा ‘बालेन’, ‘साम्बा’ जस्ता कीवर्ड सर्च गरियो । त्यस क्रममा ‘Comrade jamu’ नामको फेसबुक पेजले बालेनले साम्बालाई दुई लाख दिएको दाबी गर्दै पोस्ट राखेको फेका पर्‍यो । उक्त पोस्टको क्याप्सनमा लेखिएको छ, “बालेन ले साम्बा लाइ 2 लाख सहयोग गरे सबै ले Get Well soon लेखिदिनुस❤️🙏🏻।” हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

त्यस्तै ‘Givina Magar Page’ नामक फेसबुक पेजले पनि बालेनले साम्बालाई दुई लाख रुपैयाँ सहयोग गरेको दाबी गर्दै पोस्ट राखेको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

त्यसैगरी ‘बालेन शाह समर्थक’ नामक ग्रुपमा ‘बालेन समर्थक’ नामको पेजबाट पनि उक्त फोटो पोस्ट गरिएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट र स्क्रिनशट ।

यीबाहेक केही क्लिकबेट वेबसाइट सञ्चालन गर्नेले पनि यही दाबी राख्दै लिङ्क तयार पारेका छन् । 

बालेनले साम्बाको उपचारका लागि सहयोग गरे नगरेको फेला पार्न हामीले गुगल एड्भान्स सर्चमा बालेन र साम्बाको नाममा पक्राशन भएका समाचार खोज्यौं । त्यस क्रममा पछिल्लो समय बालेनले साम्बालाई सहयोग गरेको भन्ने कुनै किसिमको समाचार भेटिएन ।

हामीले बालेनको आधिकारिक फेसबुक पेज, अकाउन्ट, इन्स्टाग्राम अकाउन्ट, एक्स टिकटकमा हेर्‍यौं । तर, कुनै पनि माध्यममा उनले सहयोग गरेको वा सहयोगको प्रतिवद्धता दिएको पोस्ट फेला परेन । त्यस्तै सावित्रा भण्डारी (साम्बा)का सामाजिक सञ्जालका अकाउन्टमा पनि यस विषयमा कुनै पोस्ट फेला परेन । 

हामीले भाइरल भइरहेको फोटो जाँच्न हाइभ मोडरेसन टुल प्रयोग गर्‍यौं । उक्त टुलले यी फरक फरक फोटो ९९.९ प्रतिशत एआई सिर्जित हुने देखियो । 

हामीले भाइरल भएका सबै फोटो विश्लेषण गर्‍यौं । त्यसमा फोटोमा देखिएका व्यक्तिको ओठ अस्वभाविक देखियो । त्यस्तै बालेन शाहको सन्दर्भमा कपाल र दाह्री फरक छ । साथै साम्बालाई नेपालको जर्सी लगाएर अस्पतालको बेडमा राखेको देखाइएको छ जुन अस्वाभाविक हो । हाल साम्बा न्युजिल्यान्डमा छिन् । बालेन आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चुनावी अभियानमा देशका विभिन्न जिल्लामा होमिएका छन् ।   

यी विभिन्न तथ्यलाई विश्लेषण गर्दा बालेनले साम्बालाई उपचार खर्चका लागि दुई लाख वा तीन लाख रुपैयाँ दिएको दाबी मिथ्या पुष्टि हुन्छ । साथै भाइरल भइरहेको फोटो पनि एआई सिर्जित हो । 

दाबी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र शाह (बालेन) ले अस्पतालको बेडमा रहेकी नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) लाई भेटेर २ देखि ३ लाख रूपैयाँ आर्थिक सहयोग गरे ।

दाबीकर्ता

‘Miss Pabi 41’, ‘Comrade jamu’, ‘Givina Magar Page’, ‘बालेन समर्थक’ नामक फेसबुक पेज तथा प्रयोगकर्ता ।

तथ्य

गुगल एड्भान्स सर्च गर्दा कुनै पनि आधिकारिक समाचार माध्यममा बालेनले साम्बालाई सहयोग गरेको समाचार भेटिएन । साथै, बालेन र साम्बा दुवैको आधिकारिक सामाजिक सञ्जाल अकाउन्टमा यसबारे कुनै जानकारी छैन ।

'हाइभ मोडरेसन टुल' प्रयोग गरेर जाँच्दा भाइरल फोटो ९९.९ प्रतिशत एआईबाट बनाइएको पुष्टि भएको छ । फोटोमा देखिएका व्यक्तिको ओठ अस्वाभाविक देखिएको छ । बालेनको कपाल र दाह्री फरक छ भने साम्बालाई अस्पतालको बेडमा पनि नेपालको जर्सी लगाएको देखाइएको छ, जुन अस्वाभाविक हो । हाल साम्बा न्युजिल्यान्डमा छिन् भने बालेन नेपालमै प्रतिनिधि सभा सदस्य निर्वाचनको चुनावी अभियानमा छन् ।

निष्कर्ष

बालेनले साम्बालाई उपचार खर्च सहयोग गरेको दाबी मिथ्या हो ।

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुकइन्स्टाग्रामटिकटकएक्स, ​युट्युबलिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: फागुन १३, २०८२ १८:३८