close

फ्याक्टचेक: ‘नेपाली ब्रो’ लाई जन्मकैद सजाय भइसकेको दाबी भ्रामक, मुद्दा दर्ता मात्र भएको हो

रञ्जिता उप्रेती रञ्जिता उप्रेती

असार १९, २०८३ ९:५६

फ्याक्टचेक: ‘नेपाली ब्रो’ लाई जन्मकैद सजाय भइसकेको दाबी भ्रामक, मुद्दा दर्ता मात्र भएको हो

काठमाडौं । सामाजिक सञ्जालमा ‘नेपाली ब्रो’ का रूपमा चिनिने कुमार थापालाई श्रीमतीको हत्या गरेको अभियोगमा अदालतले जन्मकैदको सजाय सुनाएको भनी गरिएका दाबीहरू भाइरल भइरहेका छन् । गत २२ जेठमा तारकेश्वर नगरपालिकाको पैयाँटारस्थित सडकमा चक्कु प्रहार गरी श्रीमती ईश्वरी भुजेलको हत्या गरेको अभियोगमा उनलाई जन्मकैदको फैसला भएको भन्दै फेसबुक र टिकटकमा सूचनाहरू फैलाइएका हुन्।

तर, टेकपाना फ्याक्टचेक डेस्कको अनुसन्धानले ‘नेपाली ब्रो’ लाई जन्मकैदको सजाय तोकिएको दाबी भ्रामक रहेको फेला पारेको छ । उनलाई सजाय भइसकेको नभई, जन्मकैदको सजाय माग गर्दै मुद्दा मात्र दर्ता भएको पाइएको हो । 

दाबी 

‘Laligurash Media network’ ले २ जुलाई बिहान ७:३७ बजे एक पोस्ट शेयर गरेको छ । उक्त पोस्टमा प्रयोग गरिएको तस्बिरमा नेपाली ब्रोलाई जन्मकैदको सजाय भएको उल्लेख गरिएको छ । तस्बिर लेखिएको छ, “श्रीमतीको हत्या गरेको अभियोगमा नेपाली ब्रोलाई जन्मकैदको सजाय” ।

‘Laligurash Media network’ ले सो समयमा राखेको पोस्टको क्याप्सनमा लेखेको थियो- “श्रीमतीको हत्या गरेको अभियोगमा नेपाली ब्रोलाई जन्मकैदको सजाय” । बिहान ८:३७ मा सोही पोस्टको क्याप्सन एडिट गरिएको छ, जसमा लेखिएको छ- “श्रीमतीको ह त्या गरेको अभियोगमा नेपाली ब्रोलाई जन्मकै दको स जाय” । त्यस अवधिमा पोस्टमा १७ सय बढी रियाक्सन आइसकेको थियो । सोही दिन बिहान ९:१५ मा क्याप्सन एडिट गरी लेखिएको छ, “श्रीमतीको ह त्या गरेको अभियोगमा नेपाली ब्रोलाई जन्मकै दको स जाय माग” । 

क्याप्सन दुई पटक एडिट गरिए पनि पोस्टको फोटो भने यथावत् छ । शुक्रबार दिउँसो १:४३ बजेसम्ममा यो पोस्टलाई ४५ सयभन्दा बढिले रियाक्ट गरेका छन् । हेर्नुहोस् पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट ।
 

अनुसन्धान

२ जुलाई बिहान नै ९:२० मा ‘Royal Online Tv’ नामको फेसबुकले नेपाली ब्रोलाई जन्मकैदको सजाय भएको दाबी सहितको पोस्ट गरेको पाइयो । पोस्टको क्याप्सनमा लेखिएको छ, “नेपाली ब्रोलाई श्रीमतीको ह*त्या गरेको अभियोगमा जन्म कै*दको स*जाय” हेर्नुहोस् पोस्ट र स्क्रनिशट । 


बिहीबार (२ जुलाई) बिहान ९:५६ मा ‘Routine of Hetauda’ नामको फेसबुक पेजले नेपाली ब्रोलाई जन्मकैदको सजाय दिइएको दाबी सहितको पोस्ट गरेको छ । क्याप्सनमा लेखिएको छ, “श्रीमतीको ह त्या गरेको अभियोगमा नेपाली ब्रोलाई जन्मकै दको स जाय” हेर्नुहोस् पोस्ट र स्क्रिनशट । 

‘Manoj Pathak Sanu’ नामका फेसबुक प्रयोगकर्ताले श्रीमतीको हत्याको आरोपमा पक्राउ परेका नेपाली ब्रोलाई जन्मकैदको सजाय भएको दाबीसहितको सर्ट भिडिओ बनाएर पोस्ट गरेका छन् । भिडिओको क्याप्सनमा लेखिएको छ, “श्रीमतीको ह त्या गरेको अभियोगमा नेपाली ब्रोलाई जन्मकै दको स जाय” हेर्नुहोस् भिडिओ । 

 


सामाजिक सञ्जालमा नेपाली ब्रोलाई जन्मकैदको सजाय भएको दाबी सहितका पोस्टहरू भाइरल भइरहेको पाइएपछि हामीले ‘नेपाली ब्रो जन्मकैद सजाय’ ‘कुमार थामा जन्म कैद’ ‘श्रीमती हत्या जन्मकैद’ लगायतका किवर्ड राखेर गुगल एड्भान्स सर्च गर्‍यौँ । खोज्ने क्रममा विभिन्न अनलाइन मिडियामा श्रीमतिको हत्याको आरोपमा नेपाली ब्रो भनेर चिनिने कुमार थापाविरुद्ध जन्मकैद सजायको माग गर्दै ‘अभियोगपत्र’ दर्ता भएको जानकारी सहितका समाचार फेला परे ।  

१७ असार (१ जुलाईमा) “नेपाली ब्रोविरुद्ध जन्मकैद सजायको माग, मुद्दा फिर्ता लिन नमानेपछि हत्या गरेको बयान” शीर्षकमा नयाँ पत्रिकाले समाचार लेखेको छ । 

यस्तै, ‘नेपाल प्रेस’ले पनि जन्मकैदको सजाय माग गर्दै मुद्दा दायर गरेको उल्लेख गरेको छ । १८ असारमा  “‘नेपाली ब्रो’ विरुद्ध जन्मकैदको सजाय माग गर्दै मुद्दा दायर, के छ अभियोगपत्रमा ?” शीर्षकमा समाचार लेखेको हो । 

यस्तै रातोपाटीले “श्रीमती हत्या प्रकरण : ‘नेपाली ब्रो’सहित चार जनाविरूद्ध जन्मकैद माग गर्दै मुद्दा दर्ता” शीर्षकमा १७ असारमा समाचार लेखेको पाइएको हो । 

यस्तै टेकपानाले टिकटकको लत र विवाहेत्तर सम्बन्धको परिणाम- श्रीमतीको विभत्स हत्या” शीर्षकमा १९ असारमा समाचार लेखेको भेटियो ।

यसरी विभिन्न अनलाइन पोर्टलमा सजाय दिइएको नभई सजाय माग गरेर मुद्दा दर्ता गरेको पाएपछि हामीले नेपाली ब्रोसँग सम्बन्धित अभियोगपत्र खोजी गर्‍यौँ । १६ असारमा जिल्ला अदालत काठमाडौंमा जिल्ला सरकारी वकिल कार्यालयले उक्त अभियोगपत्र दायर गरेको देखियो । उक्त अभियोगपत्रमा नेपाली ब्रोलाई मुलुकी अपराध संहिता, २०७४ को  दफा १७७ को उपदफा (२) बमोजिम सजायको माग गरिएको छ । 

अभियोगपत्रमा लेखिएको छ, “प्रतिवादी नेपाली ब्रो भन्ने कुमार थापामगरले मुलुकी अपराध संहिता, २०७४ को दफा १७७ को उपदफा (१) विपरीतको कसुर गरेको हुँदा निज प्रतिवादीलाई सोही संहिताको दफा १७७ को उपदफा (२) बमोजिम सजाय हुन...

 

 

 मुलुकी अपराध संहिता २०७४ को दफा १७७ मा ज्यान मार्ने नियतले कुनै काम गर्न नहुने व्यवस्था उल्लेख गरिएको छ । उक्त दफाको उपदफा (१) मा लेखिएको छ, “कसैले कसैको नियतपूर्वक ज्यान मार्न वा ज्यान मार्ने कुनै काम गर्न वा गराउन हुँदैन ।”  

उपदफा (१) लाई स्पष्टिकरण दिँदै थप लेखिएको छ, “यस दफाको प्रयोजनको लागि कसैले कसैलाई निजको ज्यान मर्न सक्ने गरि नियतपूर्वक गम्भिर शारिरिक चोट वा क्षति पुर्याएकोमा तत्काल ज्यान नमरी सोही चोट पिडाको परिणाम स्वरुप पछि ज्यान मरेमा पनि सोही ब्यक्तिले ज्यान मारेको मानिनेछ ।” सोही दफाको उपदफा २ मा लेखिएको छ, “(१) बमोजिमको कसुर गर्ने गराउने ब्यक्तिलाई जन्म कैदको सजाय हुनेछ ।” 

यसरी ज्यान माग्ने कसुरमा जन्मकैद सजाय माग गर्दै सरकारी वकिल कार्यालयले अभियोगपत्र दायर गरेको पाइएपछि यस मुद्दामा कुनै फैसला भए/नभएको खोजि गर्‍यौँ । तर, काठमाडौं जिल्ला अदालतमा उक्त मुद्दासम्बन्धि फैसला भएको सम्बन्धि विवरण पाउन सकिनएन ।  

त्यसपछि हामीले जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सोमकान्ता भण्डारीसँग कुराकानी गर्‍यौँ । उनले भने, “मुद्दा दायर भएको दुई दिनमा नै फैसला भइसक्नु भनेको लगभग असम्भव कुरा हो । यदी नेपाली ब्रोलाई जन्मकैद सजाय तोकियो भन्ने किसिमका समाचारहरू आइरहेका छन् भने ती भ्रामक हुन् ।” अदालतमा मुद्दाको सुनुवाई र फैसलाको प्रक्रिया लामो हुने भएकाले मुद्दा दर्ता भएको यति छिट्टै फैसला आइसक्ने सम्भावना नरहेको उनले बताए ।

दाबी 

श्रीमती हत्याको अभियोगमा ‘नेपाल ब्रो’ भनिने कुमार थापालाई जन्म कैदको सजाय तोकियो । 

दाबीकर्ता

फेसबुक पेजहरू ‘Laligurash Media network’, ‘Royal Online Tv’, ‘Routine of Hetauda’, ‘Manoj Pathak Sanu’ लगायतका सामाजिक सञ्जाल प्रयोगकर्ता । 

तथ्य 

१६ असार (३० जुन) मा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले नेपाली ब्रो भनिने कुमार थापालाई ‘ज्यान मार्ने नियतले कुनै काम गर्न नहुने’ कसुरमा मुलुकी अपराध संहिता, २०७४ को  दफा १७७ को उपदफा (२) बमोजिम सजायको माग गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।  मुलुकी अपराध संहिता, २०७४ को दफा १७७ को उपदफा (२) मा ज्यान मार्ने कार्य गर्ने व्यक्तिलाई जन्मकैदको सजाय तोकिएको छ । हाल सरकारी वकिलले उक्त सजाय माग गरेर मुद्दा दायर गरेको हो । तर, यो मुद्दामा अदालति प्रक्रिया पूरा भएर सजायको फैसला भइसकेको छैन । 

निष्कर्ष 

श्रीमती हत्याको अभियोगमा ‘नेपाल ब्रो’ भनिने कुमार थापालाई जन्मकैदको सजाय भइसकेको भन्ने दाबी भ्रामक हो । हाल उनीविरुद्ध सो सजायको माग गर्दै मुद्दा दर्ता मात्र भएको छ, अदालतबाट फैसला हुन बाँकी छ ।

 

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, ​युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।

(अपडेट: समाचारको फिचर फोटो अपडेट गरिएको छ)

पछिल्लो अध्यावधिक: असार १९, २०८३ १३:४३