फ्याक्टचेकः भारतीय पर्यटकलाई बढीमा ३० दिनमात्र बस्न दिने नियम आएको भन्दै फैलिएको दाबी झुटो
बैशाख ३०, २०८३ १८:३७
काठमाडौँ । सामाजिक सञ्जालका विभिन्न माध्यममा नेपाल सरकारले भारतीय पर्यटकका लागि कडा नियम ल्याएको भन्ने दाबीसहितका पोस्टहरू पछिल्ला केही दिनयता फैलिरहेका छन् । ती पोस्टहरूमा भारतीय पर्यटक ३० दिनभन्दा बढी नेपालमा बस्न नपाउने, परिचयपत्र अनिवार्य बुझाउनुपर्ने र तोकिएको समयभन्दा बढी बसेमा कारबाही हुने दाबी गरिएको छ । टेकपाना फ्याक्टचेक डेस्कले गरेको तथ्यजाँचबाट यी दाबीहरू पूर्णतः भ्रामक रहेको पुष्टि भएको छ ।
दाबी
११ मे २०२६, दिउसो २ः५१ बजे ‘The Voice of Sikkim’ नामको फेसबुक पेजले नेपालमा ‘भारतीय पर्यटकसँग सम्बन्धित नयाँ नियम’ लागु भएको दाबी गर्दै एक पोस्ट राख्यो । पोस्टमा लेखिएको छ, “Nepal's Balen Govt New Rule For Indian Tourists : Allowed To Stay For 30 Days Only, ID Card Mandatory.” अर्थात् ‘भारतीय पर्यटकका लागि नेपालका बालेन सरकारको नयाँ नियमः ३० दिनसम्म बस्न पाउनेदेखि परिचयपत्र अनिवार्यसम्म’ । सो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा १२०० बढी रियाक्सन, ४४३ कमेन्ट र २५ पटक शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

अनुसन्धान
टेकपाना फ्याक्टचेक डेस्कले यसबारे तथ्यजाँच गर्न सबैभन्दा पहिले कीवर्ड सर्च विधि प्रयोग गर्यो । त्यस क्रममा ‘India Now’ नामको फेसबुक पेजले भने नेपालले भारतीय पर्यटकका लागि कडाइ गरेको भन्ने दाबीसहित बुधबार बिहान १ बजे पोस्ट राखेको फेला पर्यो । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

त्यस्तै एक्स प्रयोगकर्ता ‘@Manik_M_Jolly’ ले ‘Znews’ को पोस्टर राख्दै नेपाल सरकारले भारतीय पर्यटकका लागि नयाँ नियम ल्याएको दाबी गरेका छन् । उक्त पोस्टमा हिन्दीमा लेखिएको छ, “नेपाल में 30 दिन ही रुक सकेंगे भारतीय पर्यटक, बालेन सरकार का नया नियम ।” उनले आफ्नो पोस्टमा नेपालले भारतीय पर्यटकमाथि काडई गरेको आशयसहितको क्याप्सन राखेका छन् । यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा ९७ हजार भ्युज आएको छ भने १२ लाइक, ३३१ रिपोस्ट र २५१ ओटा कमेन्ट आएका छन् । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

इन्स्टाग्राममा ‘mewsinsta’ नामको फेसबुक पेजले पनि नेपालले ‘भारतीय पर्यटकलाई कडाई गरेको र ३० दिनसम्म मात्र बस्न पाउने नीति ल्याएको’ दाबी गरेको छ । यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा ४ हजार बढी रियाक्सन र १३५ कमेन्ट आएका छन् । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

यसबारे बुझ्न हामीले भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलालाई सम्पर्क गर्यौं । उनले भारतीय पर्यटकका लागि कडाइ गरेको भन्ने दाबी झुटो भएको बताए । “त्यस्तो कुनै नियम नै लागू भएको छैन,” बर्तौलाले टेकपाना फ्याक्टचेक डेस्कसँग भने, “भारतीय पर्यटक नेपालमा जति पनि बस्न सक्छन् ।”
तथ्यजाँचका क्रममा ‘नेपालले हालै भारतीय नाका हुँदै आउने विदेशी पर्यटकका सवारीसाधनलाई अस्थायी अनुमति दिने प्लेटफर्म सञ्चालनमा ल्याएको’ समाचार फेला परे । ती समाचारका अनुसार उक्त पोर्टलमा एक महिनासम्मका लागि मात्र सवारीसाधन दर्ता गर्न मिल्छ । र, दर्ता गर्नका लागि सवारी साधन, सवारी धनीको कागजात उपलब्ध गराउनुपर्ने हुन्छ । यसअघि भौतिक रूपमा भन्सार कार्यालयबाटै यी कागजात बुझाएर दर्ता गर्नुपर्ने अवस्था थियो । सरकारले त्यसैलाई सहज बनाउन अनलाइन प्रणाली सुरु गरेको हो । यही नियमलाई गलत तरिकाले बुझेर भ्रामक पोस्ट भाइरल बनाइएको पाइयो ।
“भारतीय पर्यटकले नेपालमा ३० दिन मात्र बस्न पाउने भनेर फैलिएको खबर भ्रामक हो,” बर्तौलाले भने, “यो नियम पर्यटकको हकमा नभई सवारी साधनको हकमा लागू हुने हो । नेपालको कानुन अनुसार एउटा भारतीय सवारी साधनले एक वर्ष (३६५ दिन) मा अधिकतम ३० दिनका लागि मात्र अस्थायी पैठारी सुविधा पाउँछ । त्यसैले अनलाइन प्रणालीमा पनि ३० दिनको मात्र दर्ता गर्न मिल्ने व्यवस्था गरिएको हो । उक्त सवारी साधनले ३० दिनको सुविधा प्रयोग गरिसकेपछि फेरि नेपाल आउनुपरेमा अर्को सवारी साधन लिएर आउनुपर्ने कानुनी प्रावधान छ ।”
नेपालमा ‘भारतीय पर्यटकका लागि कडा नियम लागू भएको’ दाबी फैलिएपछि नेपाल पर्यटन बोर्डले खण्डन गर्दै विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा भनिएको छ, “...नेपाल-भारत सीमा पार गर्ने भारतीयका लागि अनिवार्य परिचयपत्र, भारतीय पर्यटकको बसाइ अवधि ३० दिनमा सीमित गरिएको वा ओभरस्टे (बसाइ अवधिभन्दा बढी बसेको) का लागि सवारी साधन जफत गरिने जस्ता दाबी पूर्णतया झुटो, आधारहीन र भ्रामक छन् । नेपाल सरकारले भारतीय पर्यटकको बसाइ अवधिलाई सीमित गर्ने कुनै पनि नयाँ नीति ल्याएको छैन, न त नेपाल र भारतबीचको दीर्घकालीन खुला सिमानाको व्यवस्था र द्विपक्षीय समझदारीमा कुनै परिवर्तन गरिएको छ । दुई देशबीचको ऐतिहासिक जनस्तरको सम्बन्ध, सांस्कृतिक सम्बन्ध र पर्यटन सहयोग यथावत र सुदृढ छ ।”

यी विभिन्न तथ्यबाट के पुष्टि भयो भने नेपालले भारतीय पर्यटकका लागि कुनै नयाँ नियम ल्याएको छैन । भारत र अन्य देशबाट स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकका सवारी दर्ता गर्न अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको विषयलाई तोडमोड गरी मिथ्या सूचना फैलाइएको पुष्टि हुन्छ ।
दाबी
नेपाल सरकारले भारतीय पर्यटकका लागि कडा नयाँ नियम लागू गरेको छ, जसअनुसार भारतीय पर्यटक नेपालमा बढीमा ३० दिन मात्र बस्न पाउने, परिचयपत्र अनिवार्य देखाउनुपर्ने र तोकिएको समयभन्दा बढी बसेमा कारबाही हुने (वा सवारीसाधन जफत गरिने) छ ।
दाबीकर्ता
‘The Voice of Sikkim’, ‘India Now’ नामका फेसबुक पेज, ‘@Manik_M_Jolly’ नामको एक्स ह्यान्डल, ‘tark.india’ नामक इन्स्टाग्राम अकाउन्ट लगायत अन्य ।
तथ्य
नेपाल सरकारले भारतीय पर्यटकको हकमा त्यस्तो कुनै नियम लागु गरेको छैन । भारतीय पर्यटक नेपालमा जति दिन पनि बस्न सक्छन् । ३० दिनको नियम पर्यटकका लागि नभई उनीहरूले ल्याउने सवारीसाधनको हकमा मात्र हो । नेपालको कानुन अनुसार भारतीय सवारीसाधनले एक वर्षमा अधिकतम ३० दिनका लागि मात्र ‘अस्थायी पैठारी सुविधा’ पाउँछन् । सरकारले भौतिक रूपमा भन्सार कार्यालयबाट हुँदै आएको यही दर्ता प्रक्रियालाई सहज बनाउन हालै अनलाइन पोर्टलमात्र सञ्चालनमा ल्याएको हो । भन्सार विभाग र नेपाल पर्यटन बोर्ड दुवैले पर्यटकको बसाइ अवधि सीमित गरिएको वा खुला सिमानाको व्यवस्थामा परिवर्तन गरिएको भन्ने कुरालाई खण्डन गरेका छन् ।
निष्कर्ष
नेपालले भारतीय पर्यटकलाई बढीमा ३० दिन मात्र बस्न दिने नियम ल्याएको भन्ने दाबी भ्रामक हो ।

प्रतिक्रिया
तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।
पछिल्लो अध्यावधिक: बैशाख ३०, २०८३ १९:२९
