फ्याक्टचेक: चितवनका ९०० सुकुम्बासी परिवारलाई बालेन सरकारले लालपुर्जा बाँड्यो भन्दै फैलिएको दाबी भ्रामक
साउन १, २०८३ ०:३०
काठमाडौं । सामाजिक सञ्जालमा वालेन्द्र शाह (बालेन) नेतृत्वको वर्तमान सरकारले चितवनका ९०० सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण गरेको भन्दै विभिन्न सामग्री भाइरल भएका छन् । ३५-३६ वर्षसम्म कसैले नगरेको काम बालेन सरकारले गरेको दाबी ती पोस्टमा गरिएको छ ।
तर, टेकपाना फ्याक्टचेक डेस्कको अनुसन्धानमा यो दाबी भ्रामक रहेको पाइएको छ । वास्तवमा, भाइरल भिडिओ वर्तमान सरकारले अध्यादेशमार्फत खारेज गरिसकेको भूमि समस्या समाधान आयोगको पालाको हो । वर्तमान सरकारले हालसम्म बर्दिया र झापामा गरी जम्मा ३४ परिवारलाई मात्र लालपुर्जा बाँडेको सरकारी तथ्याङ्क छ । चितवनमा हालै ९०० परिवारलाई लालपुर्जा वितरण गरिएको दाबीमा कुनै सत्यता छैन ।
दाबी
फेसबुक प्रयोगकर्ता रमेश मल्लले १६ जुलाई २०२६ (३२ असार २०८३) बेलुकी ८:०४ बजे एउटा भिडिओ पोस्ट गर्दै लेखेका छन्, “ताजा खबर दर्शकवृन्दहरु, ताजा खबर! बालेन सरकारले फेरि पनि नेपाली ३ करोड जनताको मन जिते। साथसाथै सुकुम्बासी जनताहरुको पनि भित्रैदेखि मन जितेका छन्। भर्खरै चितवनमा ९०० घरधुरीलाई चाहिँ सुकुम्बासी पीडितहरुलाई चाहिँ लालपुर्जा वितरण गरेको छ बालेनको सरकारले। अब यस्तै गर्दै गर्दै हरेक ठाउँको, हरेक जिल्ला-जिल्लामा सुकुम्बासीका परिवारहरुलाई चाहिँ लालपुर्जा वितरण गर्दै आउने भन्ने निर्णय गरेको छ। भिडियोलाई सक्दो सेयर गरेर सुकुम्बासी बस्ती मात्रै होइन, नेपाली ३ करोड जनता सामु पुर्याइदिनुहोला।”
उनले राखेको भिडिओको तलपट्टि लालपुर्जा पाएका केही सर्वसाधारणको दृश्य देख्न सकिन्छ । ६३ हजार बढी भ्युज आएको यो पोस्टमा हालसम्म ४.१ हजार रियाक्सन, ७३ ओटा कमेन्ट आएका छन् ३६२ पटक शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल लिङ्क, आर्काइभ पोस्ट र स्क्रिनशट ।

अनुसन्धान
१६ जुलाई २०२६ मै फेसबुक प्रयोगकर्ता श्याम तामाङले सोही भिडिओ राख्दै क्याप्सनमा लेखेका छन्, “साथीहरू एकदमै नयाँ न्युज सबैजनालाई सेयर गरिदिनुहोला चितवन जिल्लामा सुकुम्बासी घरपरिवार ९०० जनाले धनी पुर्जा पाएको छ राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको काम एकदमै राम्रो छ सबैजनाले उहाँको साथ दिनुपर्छ र ३६ वर्षदेखि देश लुटेर खाएको हरुले सुकुम्बासीलाई धनीपुर्जा दिन्छु भन्दै बसेकोहरुले अहिलेसम्म दिन सकेन अब यिनीहरुको गाँडमा यति जलन हुन्छ नि हेर्दै जानुहोला ।”
उनले भिडिओमा भनेका छन्- “३६ वर्षदेखि राजनीति गर्दै आएको बलात्कारी यो कांग्रेस-एमाले सा*ला कुकु*रहरुले अहिलेसम्म जनतालाई भोट बैंक मात्रै बनाएर युज गर्नेहरुलाई केही भन्नु छैन । यति भए त देख्छौ होला नि तिमीहरुको आँखाले ! चितवन जिल्लामा ९०० भन्दा बेसी घर परिवार सुकुम्बासी परिवारलाई धनीपुर्जा लालपुर्जा दिएको छ । अब देशैभरिको लालपुर्जा देशैभरिको सुकुम्बासीहरुले लालपुर्जा पाउँदैछ। र एमाले कांग्रेसहरुको अब पत्ता साफ हुने दिन आउँदैछ…”
उनको पोस्टमा यो सामग्री तयार पार्दासम्म २०.२ हजार रियाक्सन, ९१३ कमेन्ट र २.१ हजार बढी शेयर छ । हेर्नुहोस् ओरिजिनल लिङ्क र स्क्रिनशट ।

सुकुम्बासी परिवारले लालपुर्जा पाएको जस्तो देखिने भिडिओ अन्यत्र पनि फैलिएको पाइयो । अधिकांश पोस्टमा वर्तमान सरकारले लालपुर्जा दिएको भन्दै दाबी गरिएको छ भने सामाजिक सञ्जाल प्रयोगकर्ताले सरकारको प्रशंसा गरेका छन् ।
रास्वपाका बागलुङका नेता राजेन्द्र शर्माले समेत सोही भिडिओ फेसबुकमा पोस्ट गर्दै लेखेका छन्, “चितवनका झन्डै ९०० परिवारले सुकुम्बासिले लालपुर्जा पाएका छन्। विगत ३५ वर्षदेखि विभिन्न आयोगहरू बन्दै विघटन हुँदै गरेको परिवेशमा अहिले आएर लालपुर्जासहित राज्यबाट न्याय पाउँदा अत्यन्तै खुसी भएका छन् ।”
उक्त भिडिओ कुनै सरकारी कार्यालयकै हो भनेर सहजै अनुमान लगाउन सकिन्छ । कार्यालयको भित्तामा वर्तमान वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को अफिसियल फोटो देख्न सकिन्छ । भिडिओमा लालपुर्जा पाएर खुसी व्यक्त गर्दै एक व्यक्तिले भनेका छन्- “हामीले आज धेरै समयपछि विभिन्न आयोगहरु चाहिँ ५६-५७ साल देखिको आयोग देखि हामी धेरै पटक प्रयत्न रह्यौँ। पटक पटक आयोग बन्ने, विघटन हुने । आयोग बन्ने, विघटन हुने। र प्राप्त हुन सकेको थिएन । अहिले हाम्रो मानसिंह तामाङ सरको नेतृत्वमा भएको आयोगबाट हामीले आज पुर्जा प्राप्त गरेका छौँ। हामी सम्पूर्ण गाउँबासीहरु चाहिँ यो क्षणमा एकदम खुसी व्यक्त गर्दछौँ । उहाँलाई पनि हार्दिक धन्यवाद दिन्छौँ सर ।”
रास्वपा नेता शर्माले राखेको पोस्टको ओरिजिनल लिङ्क, आर्काइभ लिङ्क र स्क्रिनशट

हेर्नुहोस्, चितवनमा ९०० सुकुम्बासी परिवारले लालपुर्जा पाएको दाबी सहितका केही पोस्टहरू:



यसपछि हामीले सबैभन्दा पहिले भाइरल भिडिओमा देखिएको BIPS Media को लोगो र त्यसमा बोलिएका कुराहरूलाई आधार बनाएर अनुसन्धान सुरु गर्यौँ ।

खोज्ने क्रममा हामीले BIPS Media को आधिकारिक फेसबुक पेजमा १० मे २०२६ यो भिडिओ पोस्ट भएको फेला पार्यौँ । भिडिओमा देखिएका व्यक्तिहरूले वर्तमान बालेन सरकारलाई नभई तत्कालीन भूमि समस्या समाधान आयोग चितवनका अध्यक्ष इमानसिंह लामालाई धन्यवाद दिइरहेका छन् । हेर्नुहोस् भिडिओ:
हामीले भूमि समस्या समाधान आयोगको पछिल्लो अवस्थाबारे खोज्दा अनलाइनखबर लगायतका सञ्चार माध्यममा प्रकाशित समाचार फेला पार्यौँ । अनलाइन खबरको समाचार अनुसार, बालेन नेतृत्वको वर्तमान सरकारले एक अध्यादेशमार्फत भूमि समस्या समाधान आयोग खारेज गरिसकेको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले २०८१ असोजमा गठन गरेको र पछि सर्वोच्चको आदेशले पुनर्स्थापित भएको उक्त आयोगलाई वर्तमान सरकारले संरचना नै बदलेर कार्यदल वा समितिमार्फत काम गर्ने गरी विघटन गरिदिएको हो । पढ्नुहोस् अनलाइनखबरको समाचार ।
हामीले भिडिओको आधिकारिकताबारे बुझ्न त्यहाँ नाम लिइएका इमानसिंह लामाबारे बुझ्न थाल्याैँ । उनी तत्कालीन भूमि समस्या समाधान आयोग, चितवनका अध्यक्ष एवम् नेकपा एमालेका नेता रहेछन् । उनले टेकपाना फ्याक्टचेक डेस्कसँग भाइरल भइरहेको भिडिओ बालेन शाहको नेतृत्वमा सरकार बनेपछिकै समयको भए तापनि अध्यादेशमार्फत आयोग खारेज हुनुभन्दा अगाडिको भएको स्पष्ट पारे । आफूले १४ महिनाको कार्यकालमध्ये जम्मा तीन महिना मात्र सक्रिय रूपमा काम गर्न पाएको र सोही अवधिमा ९१६ परिवारलाई लालपुर्जा वितरण गरिएको उनले दाबी गरे । उनले भने, “यो अहिलेको सरकारले बाँडेको होइन, केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको आयोगमार्फत भएको काम हो । वर्तमान सरकारले त अध्यादेश ल्याएर सो आयोग नै खारेज गरिसक्यो, त्यसपछि यहाँ कुनै नयाँ लालपुर्जा वितरण भएको छैन ।”
थप स्पष्ट हुन हामीले भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सूचना अधिकारी एवं उपसचिव विवेक घिमिरेसँग कुरा गर्यौँ । उनले हालको सरकारले अहिलेसम्म जम्मा ३४ घरपरिवार (बर्दिया र झापामा) लाई मात्र लालपुर्जा वितरण गरेको जानकारी दिए । चितवनमा वर्तमान समिति वा कुनै कार्यदलबाट ९०० परिवारलाई लालपुर्जा बाँडिएको भन्ने दाबीमा कुनै सत्यता नभएको उनले स्पष्ट पारे ।
दाबी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वालेन्द्र शाह (बालेन) सरकारले चितवनका ९०० सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण गरेको छ ।
दाबीकर्ता
फेसबुक प्रयोगकर्ता रमेश मल्ल, श्याम तामाङ, राजेन्द्र शर्मा, विष्णु गुरुङ, दिपेन्द्र भण्डारी लगायत
तथ्य
-
भाइरल भिडिओ अहिलेको नभई करिब ९ हप्ता पुरानो (१० मे २०२६) हो ।
-
उक्त लालपुर्जा वर्तमान बालेन सरकारले नभई तत्कालीन भूमि समस्या समाधान आयोग (जसलाई अहिलेको सरकारले खारेज गरिसक्यो) ले बाँडेको हो ।
-
भिडिओमा देखिएका व्यक्तिहरूले एमाले नेता इमानसिंह लामा नेतृत्वको आयोगलाई धन्यवाद दिएका छन्, तर सामाजिक सञ्जालमा त्यसलाई वर्तमान सरकारको सफलता भन्दै तोडमोड गरिएको छ ।
-
मन्त्रालयका अनुसार हालको सरकारले अहिलेसम्म बर्दिया र झापामा गरी जम्मा ३४ थान मात्र लालपुर्जा वितरण गरेको छ ।
निष्कर्ष
चितवनका ९०० सुकुम्बासीलाई बालेन सरकारले लालपुर्जा दिएको भन्दै फैलाइएको दाबी भ्रामक छ । लालपुर्जा वितरण वर्तमान बालेन सरकार बनेको केही समयमा भएपनि उक्त कार्य केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको आयोगमार्फत भएको थियो । बालेन सरकारले अध्यादेशमार्फत सो आयोग नै खारेज गरी नयाँ समिति बनाएको छ । त्यसयता चितवनमा कुनै नयाँ लालपुर्जा वितरण भएको छैन । तसर्थ, अर्कै सरकारले गठन गरेको र हाल वर्तमान सरकारले नै विघटन गरिदिएको आयोगको पुरानो सफलतालाई अहिलेको सरकारको ‘ताजा ऐतिहासिक निर्णय’, ‘नयाँ उपलब्धि’ भन्दै गलत सन्दर्भमा शेयर गरेर भ्रम फैलाइएको देखिन्छ ।
प्रतिक्रिया
तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ । यो भिडिओ विगतको आयोगले लालपुर्जा बाँडेको समयको हो । वर्तमान सरकारले सो आयोग खारेज गरिसकेको छ र नयाँ संरचनाबाट चितवनमा यसरी ठुलो सङ्ख्यामा लालपुर्जा वितरण भइसकेको छैन ।
पछिल्लो अध्यावधिक: साउन १, २०८३ ०:५७
