काठमाडौँमा उबरले सुरु गर्यो आफ्नो राइड हेलिङ सेवा, पठाओ, इनड्राइभ र याङ्गोलाई चुनौती
जेठ ७, २०८३ ८:३८
काठमाडौँ । विश्व चर्चित अमेरिकी राइड-हेलिङ प्लेटफर्म उबरले नेपाली बजारमा आफ्नो सेवा अनौपचारिक रूपमा सुरु गरेको छ । बुधबार (६ जेठ २०८३) देखि ‘टेस्ट लन्च’ गरी काठमाडौँ उपत्यकामा आफ्नो राइड शेयरिङ सेवा सुरु गरेको उबरको रणनीतिक साझेदार ट्याक्सीमाण्डुका प्रतिनिधिले जानकारी दिएका छन्।
यससँगै अब यात्रुहरूले उपत्यकाका विभिन्न गन्तव्यका लागि उबर एपमार्फत राइड बुक गर्न सक्ने सुविधा उपलब्ध भएको छ । उबरले केही दिनदेखि नै बाइक राइडर, कार तथा ट्याक्सी चालक र यात्रुहरूको रजिस्ट्रेसन कार्यलाई तीव्रता दिएको थियो ।
नेपालमा आफ्नो सेवालाई प्रभावकारी बनाउन उबरले स्थानीय राइड-हेलिङ कम्पनी ट्याक्सीमाण्डुसँग रणनीतिक साझेदारी गरेको छ । ट्याक्सीमाण्डुसँगको साझेदारीसँगै नेपालमा सेवा सञ्चालनमा आएको औपचारिक घोषणा अबको केही दिनमा हुने बताइएको छ ।
दुई कम्पनीबिचको सम्झौता अनुसार उबरले आफ्नो विश्वव्यापी रूपमा स्थापित प्रविधि र एप उपलब्ध गराउनेछ भने नेपालभित्रको व्यवस्थापन, चालक अनबोर्डिङ र सञ्चालनको जिम्मा ट्याक्सीमाण्डुले सम्हाल्नेछ ।
मङ्गलबार मात्रै कम्पनीले ईमेलमार्फत आफू काठमाडौँमा आइसकेको जानकारी गराएको थियो । काठमाडौँमा यसअघि नै पठाओ, इनड्राइभ र याङ्गो जस्ता प्लेटफर्महरूले बलियो पकड जमाएका छन् । उबरको आगमनले यो क्षेत्रमा प्रतिस्पर्धा थप रोचक हुने भएको छ । साथै यात्रुहरूले पनि नयाँ विकल्प पाएका छन् ।
यात्रुहरूलाई आकर्षित गर्न उबरले आफ्नो एपको इन्बक्समा ३० रुपैयाँ र १५ रुपैयाँको छुट समेत अफर गरेको छ । विशेष गरी नेपाल आउने वैदेशिक पर्यटकहरू, जो पहिलेदेखि नै उबरको सेवामा अभ्यस्त छन्, उनीहरूका लागि यो सेवाले यात्रा थप सहज बनाउने विश्वास गरिएको छ ।
सन् २००९ मा स्थापना भएको उबरले हाल विश्वका ७० भन्दा बढी देशका १० हजार बढी सहरमा सेवा दिइरहेको छ । नेपालको हकमा सुरुवाति चरणमा काठमाडौँ उपत्यकामा मात्र केन्द्रित रहेको उबरले आगामी दिनमा आफ्नो सेवालाई देशका अन्य प्रमुख सहरहरूमा समेत विस्तार गर्ने रणनीति बनाएको छ ।
राइड-हेलिङ बाहेक विश्वबजारमा उबरले उबर इट्स मार्फत खाना डेलिभरी र उबर फ्रेट मार्फत सामान ढुवानी जस्ता सेवाहरू समेत प्रदान गर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: जेठ ७, २०८३ ८:५२
