close

डिजिटल अर्थतन्त्रको मेरूदण्ड बनेका राइड शेयरिङ चालकहरूको नीतिगत संरक्षण गरियोस् - सांसद विदुषी राणा

टेकपाना टेकपाना

असार ३०, २०८३ १४:३५

डिजिटल अर्थतन्त्रको मेरूदण्ड बनेका राइड शेयरिङ चालकहरूको नीतिगत संरक्षण गरियोस् - सांसद विदुषी राणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विदुषी राणाले राइड शेयरिङ तथा डेलिभरी सेवामा संलग्न चालकहरू नेपालको डिजिटल अर्थतन्त्रको मेरूदण्ड बन्दै गए पनि उनीहरू अझै नीतिगत संरक्षणबाट वञ्चित रहेको बताएकी छन् ।

मङ्गलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राणाले मोटरसाइकल र साइकल राइड शेयरिङ तथा डेलिभरी चालकका लागि केवल सवारीसाधन मात्र नभई जीविकोपार्जनको आधार भएको उल्लेख गरिन् । यही आम्दानीबाट उनीहरूले परिवार पाल्ने, छोराछोरीको शिक्षा खर्च धान्ने र नागरिकलाई समयमै सेवा उपलब्ध गराउने काम गरिरहेको उनको भनाइ थियो ।

तर यति महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका चालकहरूको श्रमको सम्मान र सामाजिक सुरक्षा अझै सुनिश्चित हुन नसकेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराइन् । बैठकमा सांसद राणाले भनिन्, "दुर्घटना हुँदा सुरक्षा छैन, बिरामी पर्दा स्वास्थ्य सुरक्षा छैन, आयको स्थायित्व छैन र चालकहरूको कानुनी पहिचान समेत स्पष्ट छैन ।" यस्तो अवस्थामा डिजिटल अर्थतन्त्रलाई चलायमान बनाइरहेका श्रमिकहरूलाई नीतिगत संरक्षणबाट वञ्चित राख्नु न्यायोचित नहुने उनले बताइन् ।

सांसद राणाले राइड शेयरिङ तथा डेलिभरी क्षेत्रमा कार्यरत श्रमिकका लागि कानुनी मान्यता, सामाजिक सुरक्षा, बीमा, न्यूनतम श्रम मापदण्ड र सुरक्षित कार्य वातावरण सुनिश्चित गर्ने स्पष्ट नीति तथा कानुनी व्यवस्था तत्काल ल्याउन सरकारसँग माग गरेकी छिन् ।

 

पछिल्लो अध्यावधिक: असार ३०, २०८३ १४:४८