close

मधेसका विद्यालयमा मेकर स्पेस र टेक ल्याब स्थापना, विद्यार्थीले प्राविधिक शिक्षा व्यवहारबाटै सिक्न पाउने

टेकपाना टेकपाना

जेठ ११, २०८३ ८:१५

मधेसका विद्यालयमा मेकर स्पेस र टेक ल्याब स्थापना, विद्यार्थीले प्राविधिक शिक्षा व्यवहारबाटै सिक्न पाउने

 

काठमाडौँ । मधेस प्रदेशका विद्यार्थीमा सृजनशीलता र नवप्रवर्तन क्षमता विकास गर्ने उद्देश्यले बारा र महोत्तरीका विद्यालयमा मेकर स्पेस र टेक ल्याब स्थापना गरिएको छ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को सहयोगमा सञ्चालित ‘इन्स्पायर परियोजना’ अन्तर्गत सेभ द चिल्ड्रेनले बाराका दुई विद्यालयमा मेकर स्पेस र टेक ल्याब सञ्चालनमा ल्याएको हो ।

सोही अवसरमा विद्यालयमा प्रविधि प्रदर्शन कार्यक्रमसमेत आयोजना गरिएको संस्थाले जनाएको छ । कार्यक्रममा रोबोट, डिजिटल डिजाइन, सर्किट मोडेल, ड्रोन, होलो ग्राम कला लगायतका प्रविधिमा आधारित परियोजनाहरू प्रदर्शनमा राखिएका छन् । इन्स्पायर परियोजनाको मुख्य उद्देश्य मधेस प्रदेशमा आधारभूत शिक्षालाई सुदृढ बनाउनु, डिजिटल साक्षरता बढाउनु तथा किशोर किशोरी र युवालाई भविष्यका अवसरका लागि तयार पार्नु रहेको छ ।

मेकर स्पेस र टेक ल्याबलाई अन्तरक्रियात्मक सिकाइ केन्द्रका रूपमा विकास गरिएको परियोजनाले जनाएको छ । यहाँ विद्यार्थीहरूले विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित (स्टिम) सम्बन्धी विषयहरू व्यवहारिक अभ्यासमार्फत सिक्न सक्ने उल्लेख छ  ।

यी केन्द्रहरूमा डिजिटल उपकरण, टेक किट र सिर्जनात्मक सिकाइ सामग्री राखिएका छन् । यसबाट विद्यार्थीहरूमा सृजनशीलता, समस्या समाधान क्षमता, नवप्रवर्तन सोच र समूहमा काम गर्ने सीप विकास गर्न सक्नेछन् । कोइकाका निर्देशक मुहयुन कोङ्गले यस्ता केन्द्रहरूले विद्यार्थीलाई विज्ञान र प्रविधिसँग प्रत्यक्ष रूपमा जोड्ने बताए । 

कार्यक्रममा बोल्दै सेभ द चिल्ड्रेनका कार्यक्रम विकास, गुणस्तर तथा प्रभाव निर्देशक आयुष श्रेष्ठ जोशीले मेकर र टेक स्पेस केवल कोठा नभई सृजनशीलता र समस्या समाधान क्षमता विकास गर्ने सिकाइ वातावरण समेत भएको बताए । उनले प्रविधि र नवीन सोचमार्फत बालबालिकालाई विद्यालय, घर, समुदाय र देशका चुनौती समाधान गर्न सक्षम बनाउने विश्वास व्यक्त गरे । 

इन्स्पायर परियोजना सन् २०२५ देखि सञ्चालनमा आएको हो । हाल यो बारा जिल्लाको महागढीमाई नगरपालिका, करैयामाई गाउँपालिका र देवताल गाउँपालिका तथा महोत्तरी जिल्लाको औरही र लोहारपट्टी नगरपालिकामा कार्यान्वयन भइरहेको छ । परियोजना जनजागरण युवा क्लब बारा र सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल महोत्तरीसँगको साझेदारीमा सञ्चालन भइरहेको छ ।

पछिल्लो अध्यावधिक: जेठ ११, २०८३ ८:१७