close

वर्षैपिच्छे हराउँदै सीटीईभीटीप्रति विद्यार्थीको आकर्षण, यस्तै रहे खाली हुनसक्छन् मातहतका कलेज

रञ्जिता उप्रेती रञ्जिता उप्रेती

साउन २०, २०८२ १३:२८

वर्षैपिच्छे हराउँदै सीटीईभीटीप्रति विद्यार्थीको आकर्षण, यस्तै रहे खाली हुनसक्छन् मातहतका कलेज

काठमाडौँ ।  प्रविधि क्षेत्रमा आम मानिसहरूको रुचि बढ्दै गइरहेको बेला प्राविधिक शिक्षालाई नै लक्षित गरी खोलिएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) मा भने विद्यार्थीको आकर्षण लगातार घट्दै गएको छ । अचेल सीटीईभीटीका प्रि-डिप्लोमा र डिप्लोमाका कार्यक्रममा निर्धारित कोटा अनुरूप विद्यार्थी पाउनै मुस्किल छ । 

गत वर्ष (२०८१) प्रि-डिप्लोमाका विभिन्न कार्यक्रमका लागि सीटीईभीटीले भर्ना खुलाएकोमा एक तिहाइभन्दा कम विद्यार्थीले भर्ना लिए । २४ हजार ५९३ विद्यार्थी सिट खुलाइएको भए पनि ७ हजार ३०० जना अर्थात् २९.६७ % विद्यार्थी मात्रै भर्ना भए । 

गएको वर्ष मात्रै हैन, पछिल्ला पाँच वर्षकै तथ्याङ्क हेर्ने हो भने प्रि-डिप्लोमा तहमा विद्यार्थी भर्ना निरन्तर घटिरहेको देखिन्छ । २०७७ मा सीटीईभीटीले २८ हजार ६९५ कोटामा भर्ना खुलाएको थियो । जसमध्ये १२ हजार २६५ जनाले अर्थात् ४२.७४% ले भर्ना लिए । 

२०७८ मा २८ हजार ३७८ सिट रहेकोमा १०,६५८ जना भर्ना भए । जुन कूल क्षमताको केवल ३७.५३ % मात्र हो । त्यसैगरी २०७९ मा सीटीईभीटीले खुलाएको कोटामध्ये ३४.१६% मात्रै विद्यार्थी भर्ना भएका थिए । त्यस वर्ष २९ हजार ३६४ विद्यार्थी भर्नाका लागि आवेदन माग गर्दा १० हजार ३० जनाले मात्रै भर्ना लिए  ।

२०८० मा विद्यार्थी भर्ना दर घट्ने क्रम निरन्तर जारी रह्यो । २६ हजार ९०२ सिटका लागि भर्ना आह्वान गर्दा ३२.४०% अर्थात् ८ हजार ७१८ जना विद्यार्थी मात्रै भर्ना भए । 

प्रि-डिप्लोमा तहमा विद्यार्थी भर्ना दर क्षमताको एक तिहाइभन्दा न्यून रहँदा डिप्लोमाका कोर्समा पनि विद्यार्थीको आकर्षण निरन्तर घटिरहेको तथ्याङ्कले देखाएको छ । 

२०८१ मा सीटीईभीटीले डिप्लोमा तहका विभिन्न कार्यक्रममा गरेर ५३ हजार ७५९ सिटका लागि भर्ना खुलाएको थियो । जसमध्ये ४६.९६% अर्थात् २५ हजार २४९ जना विद्यार्थी मात्र भए । उक्त भर्ना दर २०७७ सालको तुलनामा २७ प्रतिशतले कम हो । 

२०७७ मा डिप्लोमा तहका विभिन्न कार्यक्रममा सीटीईभीटीले ४३ हजार ५९७ कोटामा भर्ना खुलाएको थियो । त्यस बेला ३२ हजार ४२२ जना अर्थात् ७४.३६% विद्यार्थीले भर्ना लिएका थिए ।  २०७८ मा डिप्लोमा तहमा ४१ हजार ७९८ जनाको कोटामा विद्यार्थी आवेदनको माग भएको थियो । जसमा ६८.९६% अर्थात् २८ हजार ८३० जना विद्यार्थीले भर्ना लिए । 

२०७९ मा सीटीईभीटीले डिप्लोमा तहमा ४६ हजार ९८९ कोटा खुलाउँदा ५६.६७ % अर्थात् २६ हजार ६४२ जना भर्ना भए । यस्तै, २०८० मा ५२ हजार ९८९ ओटा कोटामा डिप्लोमाका विभिन्न कार्यक्रममा भर्ना खुलाइएको थियो । जसमध्ये २७ हजार ४३२ जना अर्थात् ५१.७८% भर्ना भए ।

 किन घट्दैछन् सीटीईभीटीमा अध्ययन गर्ने विद्यार्थी ?

सीटीईभीटीले नियामक निकायको काम गर्नुको सट्टा आफैँले पढाउँदा विद्यार्थी सङ्ख्या निरन्तर घटिरहेको शिक्षाविद् बालाचन्द्र लुइटेल बताउँछन् । स्थानीय सरकार, विद्यालय र प्राविधिक सङ्घसंस्थाहरू मार्फत काम गराउनु पर्नेमा सीटीईभीटी केन्द्रीकृत प्रणालीबाट सञ्चालित रहेको उनले बताए । 

उनले भने, “सीटीईभीटीको मुख्य उद्देश्य स्किल सेट उत्पादन गर्नु हो । तर, यसले पहिले पीएसएलमा पढाइने इन्जिनियरिङ, भेटनरी, नर्सिङ जस्ता विषयहरू मात्र पढाउँछ । जसले टिबेट (प्राविधिक तथा व्यावसायिक शिक्षा) को उद्देश्य पूरा गर्दैन ।”

सीटीईभीटीलाई प्राविधिक र व्यावसायिक शिक्षा पाउने ठाउँ भनिए पनि कुनैमा पनि सफल हुन नसकेको उनको विश्लेषण छ । प्राविधिक शिक्षा सीपमा आधारित हुनुपर्नेमा यसको पाठ्यक्रम परिभाषा र प्रक्रियामा मात्र केन्द्रित हुँदा विद्यार्थीको रुचि घट्दै गइरहेको उनले बताए । 

यस्तै सीटीईभीटीको शिक्षा महँगो हुनुलाई पनि विद्यार्थीको आकर्षण घट्दै जानुको कारण मान्छन् उनी । शिक्षाविद् लुइटेल भन्छन्, “विद्यार्थी भर्ना कम भएपनि शिक्षकको तलब र प्रशासनिक खर्च त धान्नै पर्‍यो । निजी विद्यालयको तुलनामा पनि सीटीईभीटी निकै महँगो छ ।” आर्थिक अवस्था कमजोर भएका व्यक्तिले पनि पढ्न सक्ने शिक्षा हुनुपर्नेमा महँगो शिक्षा भएको उनले बताए । 

साथै प्रि-डिप्लोमा कोर्समा एसईई पास नभएका विद्यार्थीहरूलाई भर्ना अवसर दिइन्छ । तर त्यस्ता विद्यार्थीहरूलाई सीपमा अब्बल बनाउन नसकेको उनको भनाई छ । प्राविधिक शिक्षा पढाउन सक्ने दक्ष जनशक्तिको समेत कमी रहेको बताउँदै उनले भने, “एक सामान्य इन्जिनियरले प्राविधिक शिक्षा पढाउन सक्दैन । यसका लागि प्राविधिक शिक्षा पढेका मान्छे नै चाहिन्छन् ।” 

उनले भने, “अहिलेको सीटीईभीटी मोडल ठीक छैन । यस्तै अवस्था हुने हो भने सीटीईभीटीका सबै कलेजहरू खाली हुनेछन् ।” सीटीईभीटी कुनै सामान्य क्याम्पस नभएर सिधै रोजगारीमा जान सक्ने जनशक्ति तयार पार्ने संस्था बन्नुपर्ने शिक्षाविद् लुइटेलले सुझाए ।

उनले थपे, “प्राविधिक शिक्षाका लागि कक्षा कोठामा लेक्चर दिएर मात्र पुग्दैन, प्रविधिमा आधारित भएर सिकाउनु पर्छ । सीपमा आधारित र समुदायमा काम लाग्ने शिक्षा दिनुपर्छ ।” विद्यार्थीलाई पहिलो वर्षदेखि नै काम गर्दै सिक्ने वातावरण मिलाएर अध्ययन पूरा गरी सक्ने बित्तिकै रोजगारीमा जान सक्ने गरी तयार पार्नुपर्नेमा उनले जोड दिए । 

अहिलेको पुस्तामा सोचेको काम तत्काल गर्न चाहने मानसिकता हुने शिक्षाविद् विद्यानाथ कोइराला बताउँछन् । उनी भन्छन्, “तर सीटीईभीटीले यो कुरा बुझ्दैन । इन्टरनेटबाट केही समयमै सिक्न सकिने कुराहरू सीटीईभीटीमा १८ महिने र तीन वर्षे कोर्सको रूपमा राखिएका छन् । प्राविधिक शिक्षा पनि कक्षाकोठामा नै गएर लिनुपर्ने मान्यता राख्छ ।”

प्राविधिक शिक्षा पनि सीटीईभीटीले परम्परागत तरिकाबाट पढाउँदा विद्यार्थीको चासो घटेको उनको बुझाई छ । अनलाइन माध्यम, प्रविधि र प्रयोगात्मक कार्यबाट नै धेरै कुरा सिकाउन सकिने उनले बताए । धेरै कुरा इन्टर्नशिप गराएर अनि सीप आदानप्रदान गरेर सिकाउन सकिन्छ भन्ने बारेमा सोच्ने दृष्टिकोण नरहेको उनको भनाई छ । 

उनी थप्छन्, “विद्यार्थी एउटै कुरामा धेरै समय खर्च गर्न चाहँदैनन् । कोर्समा एउटै कुरा सिक्न महिनौँ लाग्छ । उनीहरू आफैँले खोजेर १० मिनेटमा त्यही कुरा सिक्न सक्ने भएका छन् ।”

अध्ययनसँगै विद्यार्थीले काम गर्न खोज्ने, तर सीटीईभीटीबाट प्राविधिक शिक्षा लिइसकेपछिको समयमा पनि आम्दानी गर्न सक्ने अवस्था नरहेको उनले बताए । उनले भने, “इन्टरनेट सेवा प्रदायक कम्पनीलाई नै हेर्ने हो भने त्यहाँ सीप नभएका व्यक्तिलाई पनि ५/१० दिनका लागि पैसा नदिइ काममा राखेर सिकाउँछन् । काम सिकाइ सकेपछि पैसा नै दिएर काममा लगाउँछन् ।” त्यसैले सिक्दै कमाउने तरिकाबाट पढाउन ध्यान दिनुपर्ने उनको सुझाव छ । 

प्राविधिक शिक्षामा गणित र विज्ञान विषयलाई लिएर विद्यार्थीको मनमा डर रहेको उनले बताए । उनले थपे, “गणित र विज्ञान विषयलाई पनि सजिलो तरिकाले सिकाउन सकिन्छ भन्ने चिन्तन छैन । गणित र विज्ञानलाई साह्रै गाह्रो विषयको रूपमा चित्रण गरिएको छ ।”

केही प्राविधिकले काम पाएपनि सबै प्राविधिकले कहाँ काम पाउन सक्छन् भनेर बजार देखाउन नसक्दा पनि विद्यार्थीको कमी आएको उनले बताए । विद्यार्थीलाई घोकाउने भन्दा पनि मार्गदर्शन गरेर विद्यार्थी आफैँले गर्दै सिक्ने पद्धतिमा जानुपर्ने उनको भनाइ छ । 

यता सीटीईभीटी अन्तर्गतका स्वास्थ्यसँग सम्बन्धित कार्यक्रममा विद्यार्थीहरूको चासो निकै रहेको सूचना अधिकारी एकराज अधिकारी बताउँछन् । स्वास्थ्यका कार्यक्रममा कोटाभन्दा चार गुणा भन्दा बढी सम्म आवेदन पर्ने गरेको उनले जानकारी दिए । तर, इन्जिनियरिङ विधामा भने विद्यार्थीको आकर्षण कम भएको उनले स्वीकारे । 

स्वास्थ्य क्षेत्रमा देशमै पनि रोजगारी खोज्न सहज र वैदेशिक रोजगारीमा जान तथा काम पाउन पनि सजिलो भएकाले यसतर्फ विद्यार्थीको आकर्षण रहेको उनको भनाइ छ । उच्च शिक्षाको सुनिश्चितता पनि यसको आकर्षणको अर्को कारण रहेको उनले बताए । 

स्वास्थ्य क्षेत्रमा अध्ययन गराउने संस्था खोल्न चिकित्सा शिक्षा आयोगको अनुमति पाउनुपर्ने भएकाले नयाँ शैक्षिक संस्था खुल्न सहज नहुँदा सीटीईभीटीमा आकर्षण देखिएको उनी बताउँछन् । तर, सीटीईभीटीले चलाउने कृषि, इन्जिनियरिङ र होटेल म्यानेजमेन्ट लगायतका कार्यक्रम अन्य शैक्षिक संस्थाले पनि ल्याएकाले विद्यार्थी बाँडिएको उनको भनाइ छ । 

उनले भने, “कक्षा ९ देखि १२ सम्म पनि प्राविधिक धारमा अध्यापन हुन्छ । प्राविधिक धारका विषय पढाउने पाँच सयभन्दा बढी विद्यालयमा सीटीईभीटीका विद्यार्थी बाँडिएका छन् ।”

माध्यमिक शिक्षाको मान्यता कक्षा १२ मा हुँदा यसको असर समेत सीटीईभीटीमा देखिएको उनको भनाइ छ । “अब कक्षा १० सम्म पढाउने विद्यालय पनि १२ कक्षासम्म पढाउने भइसके । त्यसैले एसईईपछि पनि त्यही शिक्षालयमा +२ पढ्ने गरी काउन्सिलिङ गर्दा विद्यार्थीहरू त्यतै होल्ड भइरहेका छन् ।”

+२ र सीटीईभीटीको मान्यता बराबर भएपनि सीटीईभीटीमा पढाइ पूरा हुन तीन वर्ष समय लाग्दा विद्यार्थीहरू कम भएको हुन सक्ने उनले बताए । “विद्यार्थीहरूलाई छिटो पढाइ पूरा गरेर एनओसी लिएर विदेश जाने हतारो छ,” उनले भने ।  

दूरदराज र आर्थिक रूपमा कमजोर भएका विद्यार्थीलाई छात्रवृत्ति र स्थानीय तहसँग मिलेर समेत छात्रवृत्ति प्रदान गरिरहेको उनले बताए । पछिल्लो वर्षमा सीटीईभीटीमा विद्यार्थी क्षमता बढ्दै गइरहेपनि विद्यार्थी भर्ना दर भने कम भएको उनले बताए ।

 

हाल आफ्नै ६७ आंगिक क्याम्पससहित एक हजार १८३ क्याम्पसहरूमा सीटीईभीटीका कार्यक्रमहरू अध्यापन हुन्छन् । 

पछिल्लो अध्यावधिक: साउन २०, २०८२ १३:३९