काठमाडौँ । राइड शेयरिङ सेवाबाट सुरु भई ‘सुपर एप’ बन्ने दिशामा अग्रसर पठाओ नेपालले अब मोबाइल एपमार्फत नै हेलिकप्टर बुक गर्न मिल्ने सेवा विस्तार गरेको छ । सिम्रिक एयरसँगको सहकार्यमा कम्पनीले हेलिकप्टर बुकिङ सेवा ‘पठाओ हेली’ सुरु गरेको हो ।
अब यात्रुले पठाओ एप वा पठाओ हेलीको आधिकारिक वेबसाइटमार्फत तोकिएको मूल्यमै सहज रूपमा हेलिकप्टर बुक गर्न सक्ने कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ ।
कम्पनीका अनुसार मुक्तिनाथ, गोसाइँकुण्ड, सगरमाथा आधार शिविर र अन्नपूर्ण आधार शिविरलगायतका धार्मिक, प्राकृतिक तथा पर्यटकीय गन्तव्यका लागि हेलिकप्टर बुक गर्न सकिनेछ । एउटा हेलिकप्टरमा एकपटकमा चारदेखि पाँच जनासम्मले यात्रा गर्न सक्नेछन् ।
तीर्थयात्रा, नवविवाहित दम्पतीका लागि रमणीय यात्रा, पारिवारिक भ्रमण तथा साथीभाइसँग छोटो समयमा पर्यटकीय स्थल घुम्नका लागि यो सुविधा उपयुक्त हुने कम्पनीको विश्वास छ ।
पठाओ नेपालका प्रबन्ध निर्देशक यशु थकालीले भने, “नेपालको डिजिटल इकोनोमीलाई १० गुणाले बढाउनु हाम्रो लक्ष्य हो, मोबिलिटी, पार्सल डेलिभरी, फुड डेलिभरी र ई-कमर्सलाई एकै प्लेटफर्ममा जोड्दै हामी अघि बढिरहेका छौँ ।”
नेपाल सरकारले घोषणा गरेको ‘नेपाल पर्यटन वर्ष २०८५’ लाई समेत मध्यनजर गर्दै पठाओ नेपालले यो नयाँ सेवा सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।
पछिल्लो अध्यावधिक: जेठ १४, २०८३ १६:०
