नेपालमा एरोस्पेस क्षमता अभिवृद्धिका लागि सहकार्य गर्न एयरबस र त्रिभुवन विश्वविद्यालयबिच समझदारी
जेठ १५, २०८३ १०:२०
काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयले एरोस्पेस क्षेत्रका लागि आवश्यक मानव संसाधन विकास गर्ने उद्देश्यसहित विश्वप्रसिद्ध एरोस्पेस कम्पनी एयरबससँग साझेदारीका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको छ । यस सहकार्यले शैक्षिक विकास, अनुसन्धान, तालिम, उद्योग अनुभव तथा एरोस्पेस प्रविधिसम्बन्धी संयुक्त पहललाई केन्द्रमा राख्ने एयरबसले जनाएको छ ।
समझदारीपत्रमा एयरबस साउथ एसियाका अध्यक्ष तथा प्रबन्ध निर्देशक युर्गेन वेस्टरमेयर र त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुशील बहादुर बज्राचार्यले बिहिबार हस्ताक्षर गरेका हुन् । हस्ताक्षर कार्यक्रममा नेपालका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल तथा नेपालका लागि फ्रान्सकी राजदूत एच.ई. भर्जिनी कोर्टेभालको पनि उपस्थिति रहेको एयरबसले जनाएको छ । साथै, कार्यक्रममा पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयका वरिष्ठ अधिकारीहरू तथा एयरबसका उच्च अधिकारीहरूको पनि सहभागिता थियो ।
हस्ताक्षरपछि एयरबस साउथ एसियाका अध्यक्ष तथा प्रबन्ध निर्देशक वेस्टरमेयरले बलियो एरोस्पेस इकोसिस्टमको मुख्य आधार प्रतिभा विकास भएको बताए । उनले भने, “त्रिभुवन विश्वविद्यालयसँगको यस साझेदारीमार्फत हामी एयरबसको विश्वव्यापी विशेषज्ञता प्रयोग गरी एरोस्पेस इन्जिनियरिङ र डिजिटल क्षेत्रमा तालिम तथा सीप विकास मार्फत नेपालमा क्षमता विकासलाई सहयोग गर्नेछौँ ।”
त्यसैगरी उपकुलपति बज्राचार्यले एयरबस जस्तो विश्वव्यापी एरोस्पेस कम्पनीसँगको सहकार्यले त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रमलाई सुदृढ र आधुनिक बनाउन सहयोग गर्ने बताए । उनले भने, “यसले नेपालको उड्डयन क्षमतालाई पनि मजबुत बनाउने र नेपालको एरोस्पेस क्षेत्रको भविष्य पनि उज्ज्वल हुनेमा हामी विश्वस्त छौँ ।”
समझदारीपत्र अनुसार एरोस्पेस र उड्डयनसँग सम्बन्धित वैज्ञानिक, प्राविधिक र व्यवस्थापकीय विषयहरूमा विद्यार्थीहरूको बुझाइलाई थप सुदृढ बनाउन एयरबस र त्रिभुवन विश्वविद्यालयले अनुसन्धान, शिक्षण र तालिमका क्षेत्रहरूमा सहकार्य गर्नेछन् । दुवै संस्थाहरुले एरोस्पेस, उड्डयन र डिजिटल प्रविधिहरू (एआई एमएल, एड्भान्स्ड एनालिटिक्स र साइबर सुरक्षासमेत) सँग सम्बन्धित शैक्षिक पाठ्यक्रम विकासमा सहयोग गर्न मिलेर काम गर्नेछन् ।
यसका साथै, दुवै पक्षले एयरबसका विशेषज्ञहरूमार्फत उद्योग अनुभव, अन्तर्राष्ट्रिय संस्थाहरूसँग साझेदारी, विद्यार्थीका लागि इन्टर्नसिप तथा प्लेसमेन्ट अवसरहरू तथा अनुसन्धानसम्बन्धी सेमिनार, प्राविधिक महोत्सव, सम्मेलन र कार्यशालाजस्ता संयुक्त कार्यक्रमहरूको सम्भावना पनि खोजी गर्नेछन् ।
पछिल्लो अध्यावधिक: जेठ १५, २०८३ १३:१
