close

रातारात ५ हजारबाट २४ लाख इन्स्टाग्राम फलोअर्स ! यसरी भाइरल बने न्युजिल्यान्डका फुटबल खेलाडी

टेकपाना टेकपाना

जेठ १६, २०८३ १२:१७

रातारात ५ हजारबाट २४ लाख इन्स्टाग्राम फलोअर्स ! यसरी भाइरल बने न्युजिल्यान्डका फुटबल खेलाडी

काठमाडौँ । न्युजिल्यान्ड राष्ट्रिय फुटबल टोलीका डिफेन्डर ‘टिम पेन’ सामाजिक सञ्जालमा रातारात चर्चित बनेका छन् । यसअघि खासै नाम नसुनिएका यी फुटबल खेलाडीको इन्स्टाग्राम फलोअर्स सङ्ख्या करिब पाँच हजारबाट बढेर केही दिनमै २४ लाख पुगिसकेको छ । अर्जेन्टिनाका एक इन्फ्लुएन्सरले चाएको अभियानका कारण पेनको फलोअर्स सङ्ख्या एकाएक न्युजिल्यान्डका कीर्तिमानी गोलकर्ता क्रिस उड र त्यहाँका प्रधानमन्त्री क्रिस्टोफर लक्सोनको संयुक्त फलोअर्स सङ्ख्याभन्दा पनि बढी पुगेको हो । 

पेनको इन्स्टाग्राममा केही दिन अघिसम्म ५ हजार फलोअर्स रहेकामा शुक्रबार नै उक्त सङ्ख्या १४ लाख पुगेको थियो । शनिबारसम्म फलोअर्स सङ्ख्या बढेर २४ लाख नाघिसकेको छ ।

कसरी बने भाइरल ?

सामाजिक सञ्जालमा ‘elscarso’ नामले चिनिने अर्जेन्टिनाका इन्फ्लुएन्सर भ्यालेन स्कार्सिनीले विश्वकप २०२६ कै ‘सबैभन्दा कम चिनिएका’ खेलाडीलाई प्रवर्द्धन गर्ने उद्देश्यले अभियान चलाएका थिए । स्कार्सिनीले आफ्ना ७ लाख ४० हजार टिकटक र ६ लाख ८७ हजार इन्स्टाग्राम फलोअर्सलाई वेलिङ्टन फोनिक्सका खेलाडी टिम पेनलाई फलो गर्न र उनका पोस्टमा कमेन्ट गर्न आग्रह गर्दै एउटा भिडिओ पोस्ट गरेका थिए । साेही भिडियाेपछि पेन भाइरल बनेका हुन् ।

इन्स्टाग्राम र टिकटकमा ६० लाखभन्दा बढी पटक हेरिएको उक्त भिडिओमा स्कार्सिनीले भनेका छन्, “मैले विश्वकप खेल्ने सबै टोलीका खेलाडीमध्ये सबैभन्दा कम चिनिएका खेलाडीको खोजी गरेँ । एक-एक गरी विश्लेषण गरेपछि मैले उनलाई फेला पारेँ ।”

उनले अगाडि थपेका छन्, “टिम पेन एक डिफेन्डर हुन् र उनीसामु न्युजिल्यान्डलाई विश्वकपको इतिहासमै पहिलो जित दिलाउन मद्दत गर्ने कठिन चुनौती छ । न्युजिल्यान्डले अहिलेसम्म विश्वकपमा कुनै पनि खेल जितेको छैन । उनलाई विश्वकपको नायक बनाउन के गर्नुपर्छ त ? सबैभन्दा पहिले टिम पेनलाई फलो गर्नुहोस् । म उनलाई ट्याग गर्दैछु । उनका पोस्टमा लाइक र कमेन्टको वर्षा गरिदिनुहोस् । हामीले जताततै टिम पेनको नाम फैलाउनुपर्छ ।”

स्कार्सिनीको यस आह्वानपछि पेनको प्रोफाइलमा गत मार्च महिनामा न्युजिल्यान्डका लागि ५०औँ खेल खेलेको अवसरमा राखिएको एउटा पोस्टमा ५० हजारभन्दा बढी कमेन्ट आइसकेका छन् ।

३२ वर्षीय पेनले न्युजिल्यान्डको विश्वकप छनोट खेलहरूमा १ गोल र ४ असिस्ट गरेका थिए । प्रशिक्षक ड्यारेन बेजलीले विश्वकपका लागि घोषणा गरेको २६ सदस्यीय टोलीमा उनलाई समावेश गरेका छन् । यो न्युजिल्यान्डको इतिहासमै तेस्रो विश्वकप सहभागिता हो ।

विश्वकपमा सहभागी टोलीमध्ये सबैभन्दा तल्लो वरीयतामा रहेको न्युजिल्यान्डले सन् २०१० पछि पहिलो पटक विश्वकप खेल्दैछ । समूह ‘जी’ मा रहेको न्युजिल्यान्डले इरानविरुद्ध खेल्दै आफ्नो यात्रा सुरु गर्नेछ भने यस समूहमा इजिप्ट र बेल्जियम पनि रहेका छन् ।

यसैबिच स्कार्सिनीले सार्वजनिक गरेको अर्को भिडिओमा पेनले आफूलाई पठाएको सन्देश देखाएका छन् । सन् २०१२ मा किशोर उमेरमै ब्ल्याकबर्न रोभर्ससँग अनुबन्धित भएका पेनले स्कार्सिनीलाई लेखेका छन्, “मेरो सामाजिक सञ्जालमा अचानक किन यति धेरै हलचल भइरहेको छ भनेर सोचिरहेको थिएँ र तिम्रो भिडिओ फेला पारेँ, साथी । यो मायाका लागि धन्यवाद !”

पेनले अहिले फ्लोरिडामा रहेको न्युजिल्यान्डको विश्वकप प्रशिक्षण शिविरबाट एउटा भिडिओ सन्देश पनि जारी गरेका छन् । सुरुमा स्पेनिस भाषामा बोल्दै उनले भने, “मेरो स्पेनिसका लागि माफ गर्नुहोला, म अझै पनि डुओलिङ्गोबाट सिक्दैछु ।” त्यसपछि उनले अंग्रेजीमा थपे, “भ्यालेन, म तिमीलाई धेरै-धेरै धन्यवाद दिन चाहन्छु, बितेका ४८ घण्टा मेरा लागि निकै अचम्मका रहे । यस विश्वकपमा आफ्नो देशको प्रतिनिधित्व गर्न पाउँदा म निकै कृतज्ञ छु र संसारभरबाट प्राप्त यस मायाको सम्मान गर्दछु । धेरै-धेरै धन्यवाद ।”

रातारात चर्चित बनेपछि अहिले टिमको हरेक पोस्टमा हराजौं लाइक र कमेन्ट आइरहेका छन् भने यो अझै बढ्ने क्रममा छ ।

इन्फ्लुएन्सर स्कार्सिनीले गत वर्ष पनि यस्तै एउटा अभियान चलाएका थिए । उनले स्विट्जरल्यान्डको दोस्रो डिभिजनको क्लब ‘एफसी बाल्जर्स’ लाई “सबैभन्दा सानो फ्यान बेस भएको फुटबल क्लब” भन्दै फलो गर्न आफ्ना फलोअर्सलाई आग्रह गरेका थिए । त्यसपछि उक्त क्लबको इन्स्टाग्राम फलोअर्स शीर्ष डिभिजनको च्याम्पियन टोली ‘एफसी बासेल’ को भन्दा पनि बढी भएको थियो ।

 

पछिल्लो अध्यावधिक: जेठ १६, २०८३ १३:२०