close

जनआस्थाका किशोर श्रेष्ठलाई रक्सीसँगै ५० हजार घुस दिएको विषयमा छानबिन गर्न चिनियाँ दूतावासको अनुरोध

टेकपाना टेकपाना

जेठ ११, २०८३ १०:४१

जनआस्थाका किशोर श्रेष्ठलाई रक्सीसँगै ५० हजार घुस दिएको विषयमा छानबिन गर्न चिनियाँ दूतावासको अनुरोध

काठमाडौँ । नेपालस्थित चिनियाँ दूतावासले सामाजिक सञ्जालमा भाइरल भइरहेको अडियो प्रकरणको विषयलाई लिएर ध्यानाकर्षण जनाएको छ । यसको निष्पक्ष र गहिरो छानबिन गर्न नेपाल सरकारसँग अनुरोध गर्दै दूतावासले चिनियाँ नागरिकले नेपाली पत्रकारलाई घुस दिएको भनिएको प्रकरणमा गम्भीर चासो देखाएको हो ।

केही दिनदेखि जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र एक चिनियाँ नम्बरबाट फोन गर्ने व्यक्तिबिचको संवाद र घुस प्रकरणलाई लिएर दूतावासले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो । चिनियाँ दूतावासका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै चिनियाँ नागरिकले नेपाली राजनीतिज्ञविरुद्ध नकारात्मक रिपोर्टिङ गर्न पत्रकारलाई घुस दिएको भन्ने हल्लालाई 'भ्रामक र कपोलकल्पित' भन्दै पूर्ण रूपमा खण्डन गरेका छन् ।

चीनले अरूको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तमा अडिग रहेको स्पष्ट पार्दै दूतावासले यस्ता हल्लाहरू चीनको बदनाम गर्ने उद्देश्यले फैलाइएको बताएको छ । दूतावासले यस घटनाका दोषी र यसको पछाडि रहेका तत्त्वहरूलाई नेपाली कानुन अनुसार कडा कारबाही गर्न समेत नेपाल सरकारलाई आग्रह गरेको छ ।

घटनाको पृष्ठभूमि र जनआस्थाको दाबी

यो विवाद जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई आएको एउटा फोन कलबाट सुरु भएको हो । बेइजिङबाट यिङ नाम गरेका व्यक्तिले चिनियाँ नम्बर (+८६१८८२५२४१६२४) बाट श्रेष्ठलाई फोन गरी पूर्व गृहमन्त्री तथा रास्वपा सांसद सुदन गुरुङविरुद्ध नकारात्मक समाचार लेख्न प्रस्ताव गरेका थिए । त्यस बापत १० लाख रुपैयाँ नगद दिने प्रलोभन देखाइएको थियो ।

सम्पादक श्रेष्ठले उक्त प्रस्तावलाई अस्वीकार गरेको दाबी गरे पनि सानेपास्थित जनआस्थाको कार्यालयको गेटमा एक अज्ञात युवतीले रक्सीको बोतल र ५० हजार रुपैयाँ नगद छाडेर गएकी थिइन् । मास्क र कालो चस्मा लगाएकी ती युवतीले 'ह्वाइट क्रेन' नामक सिग्नल अकाउन्टमार्फत समन्वय गरी उक्त 'उपहार' छाडेको बताइएको छ ।

सोही घटनालाई लिएर सामाजिक सञ्जालमा श्रेष्ठले घुस लिएको भन्दै अडियो र मेसेजका स्क्रिनशटहरू भाइरल भइरहेका छन् ।

किशोर श्रेष्ठको दाबी

जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठले सामाजिक सञ्जालमा भाइरल भएको अडिओमा भएको आवाज आफ्नै भएको स्वीकार गरेका छन् । उनले एक अन्तर्वार्ताका क्रममा स्पष्ट रूपमा भनेका छन्, "त्यो आवाज मेरै हो, यसमा मैले होइन भन्नुपर्ने कुरो छैन ।"

आवाज आफ्नै भएको स्वीकार गरे तापनि उनले उक्त अडिओका सम्बन्धमा स्पष्टीकरण समेत दिएका छन् । श्रेष्ठले उक्त अडिओ फेब्रिकेटेड (तोडमरोड गरिएको) र एडिटेड (काटछाँट गरिएको) दाबी गरेका छन् । गिरोहले आफ्नो अनुकूल हुने गरी कुराकानीका केही अंशहरू मात्र राखेर भ्रामक रूपमा सार्वजनिक गरेको उनको आरोप छ ।

उनले सो अडिओमा सुदन गुरुङका बारेमा मात्र नभई शेरबहादुर देउवा र केपी ओलीका विषयमा पनि कुराकानी भएको उल्लेख गर्दै ती सबै जवाफहरू सहितको पुरा अडिओ बाहिर ल्याउन चुनौती दिएका छन् ।

पछिल्लो अध्यावधिक: जेठ ११, २०८३ ११:४९