close

फ्याक्टचेकः ‘चितवनमा एक महिलाले ५ ओटा कुकुरको बच्चा जन्माइन्’ भन्दै ‍एआई सिर्जित फोटो भाइरल

हिक्मत आचार्य हिक्मत आचार्य

जेठ १६, २०८३ १४:१३

फ्याक्टचेकः ‘चितवनमा एक महिलाले ५ ओटा कुकुरको बच्चा जन्माइन्’ भन्दै ‍एआई सिर्जित फोटो भाइरल

काठमाडौँ । विगत केही दिनदेखि सामाजिक सञ्जालका विभिन्न माध्यमहरूमा चितवनकी एक महिलाले पाँचवटा कुकुरका छाउराहरूलाई जन्म दिएको भन्ने दाबीसहितको खबर भाइरल भइरहेको छ । अस्पतालको शय्यामा रहेकी ती महिलाले काखमा कुकुरका छाउराहरू लिएको तस्बिर समेत देखाइएको छ । टेकपाना फ्याक्टचेक डेस्कले गरेको तथ्यजाँचबाट उक्त दाबी पूर्णतः मिथ्या र तस्बिर एआई (आर्टिफिसियल इन्टेलिजेन्स) बाट सिर्जना गरिएको पुष्टि भएको छ ।

दाबी

टिकटक प्रयोगकर्ता सहदेव राईले २६ मे २०२६ मा एउटा सामग्री पोस्ट गरेका छन्, जसमा कुनै क्याप्सन राखिएको छैन । उक्त पोस्ट वास्तवमा फेसबुकबाट लिइएको एउटा स्क्रिनशट हो । स्क्रिनशटमा ‘चितवन हस्पिटल’ लेखिएको पृष्ठभूमि र त्यसको अगाडि एउटा बेड देखिन्छ ।

बेडमा रहेकी एक महिलाले हातमा कुकुरका छाउराहरू लिएकी छिन् भने नजिकै एक नर्स पनि उभिएकी देखिन्छिन् । उक्त स्क्रिनशटको माथिल्लो भागमा लेखिएको छ, “चितवन अस्पतालमा अचम्मको घटना ! एक महिलाले एकैपटक ५ वटा कुकुरका बच्चा जन्माइन् भन्ने खबरले सबै चकित ।” तलपट्टि ‘चीतबन मा कुकुर को जन्म’ लेखिएको छ ।

यो सामग्री तयार पार्दासम्म उक्त भिडिओ (पोस्ट) मा ८० लाखभन्दा बढी भ्युज आइसकेको छ भने २ लाख १५ हजारभन्दा बढी लाइक, झन्डै ५ हजार कमेन्ट र १२ हजारभन्दा बढी पटक सेभ भइसकेको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट र स्क्रिनशट ।

अनुसन्धान

टेकपाना फ्याक्टचेक डेस्कले यसबारे तथ्यजाँच गर्न पहिले ‘चितवन महिला कुकुर जन्म’ जस्ता कीवर्ड सर्च गरेर हेर्‍यो । त्यस क्रममा ‘Nepali News | नेपाली समाचार |☑️’ नामको ग्रुपमा ‘Lokesh Chettry’ नामका प्रयोगकर्ताले २६ मे २०२६ बिहान ११ः२२ बजे सोही दाबी पोस्ट भएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट ।

‘हात्ती गोठालो’ नामको फेसबुक पेजले २३ मे २०२६ मा उक्त दाबीसहितको पोस्ट राखेको छ । सो पोस्टमा ४०० बढी रियाक्सनम ६७ कमेन्ट र १५ पटक शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट र स्क्रिनशट ।

‘कालीकोट खबर’ नामको फेसबुक पेजले पनि सोही दाबीसहितको पोस्ट राखेको छ । यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा २३३ रियाक्सन, १९ कमेन्ट आएका छन् भने २४ पटक शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट र स्क्रिनशट ।

यस पोस्टमा ‘फन्नी पोस्ट’, ‘काल्पनिक खबर’ जस्ता ह्याशट्याग राखिएको छ । यसले पनि यो पोस्ट मनोरञ्जनका लागि हो भन्ने सङ्केत गर्छ । गुगल रिभर्स इमेज सर्च गरेर हेर्‍यौं । त्यस क्रममा चितवन हस्पिटल प्रालिको वेबसाइट खुल्यो । तर, लोगो भने मिलेको थिएन । फोटोमा नर्सको एप्रनमा अस्पतालको नाम पनि अशुद्ध तरिकाले लेखिएको देखियो । उनले लगाएको कार्डमा पनि अक्षरहरू तोडमोड भएको देखियो । त्यहाँ रहेका कुकुरका छाउराछाउरीमा पनि दुई ओटा एक आपसमा मर्ज भएको देखियो भने स्पष्ट रूपमा पाँच ओटा छन् भन्ने छुट्टिँदैन । यसले पनि फोटो एआई सिर्जित हो भन्ने सङ्केत गर्‍यो ।

त्यसपछि हामीले हाइभ मोडरेसनमा उक्त फोटो जाँच गरेर हेर्‍यौं । त्यस क्रममा उक्त फोटो एआई सिर्जित हुने सम्भावना ९९.९ प्रतिशत रहेको देखियो । 

यसलाई थप जाँच गर्न हामीले जेमिनाईमा सिन्थ आईडी डिटेक्ट गर्ने प्रयास गर्‍यौं । तर, जेमिनाईले यो फोटो उसको एआई टुलले सिर्जना नगरेको जनायो । त्यसपछि हामीले ओपनएआईको टुलमा जाँच गर्‍यौँ । ओपनएआईको टुलले भने सो फोटो आफ्नै एआई टुलले बनाएको पुष्टि गर्‍यो ।

हामीले यस्ता किसिमका दाबीबारे समाचार खोज्यौं । तर, कुनै पनि समाचार सामग्री फेला परेनन् । यी विभिन्न तथ्यलाई विश्लेषण गर्दा चितवनमा महिलाले पाँच ओटा कुकुरको बच्चालाई जन्म दिएको भन्ने दाबी मिथ्या र फोटो ओपनएआईको टुलबाट तयार पारिएको पुष्टि हुन्छ । 

दाबी

चितवनको एक अस्पतालमा एक महिलाले एकैपटक पाँच वटा कुकुरका बच्चा जन्माएकी छिन् ।

दाबीकर्ता

टिकटक प्रयोगकर्ता सहदेव राई, फेसबुक ग्रुपमा पोस्ट गर्ने लोकेश क्षेत्री तथा ‘हात्ती गोठालो’ र ‘कालीकोट खबर’ जस्ता फेसबुक पेज लगायत अन्य ।

तथ्य

अनुसन्धानका क्रममा दाबीमा प्रयोग गरिएको तस्बिर वास्तविक नभई एआई प्रविधिको प्रयोग गरेर बनाइएको पुष्टि भएको छ । उक्त तस्बिरलाई सूक्ष्म रूपमा हेर्दा नर्सको एप्रनमा अस्पतालको नाम अशुद्ध लेखिएको, परिचयपत्रका अक्षरहरू तोडमोड भएको र कुकुरका छाउराहरू स्पष्ट रूपमा नदेखिएर एकापसमा जोडिएको पाइएको छ ।

प्राविधिक परीक्षणका क्रममा हाइभ मोडरेसन टुलले यो तस्बिर एआईबाट सिर्जना गरिएको सम्भावना ९९.९ प्रतिशत देखाएको छ भने ओपनएआईको टुलले समेत यो फोटो आफ्नै एआई उपकरणबाट बनेको पुष्टि गरेको छ । सामाजिक सञ्जालका केही पोस्टमा यसलाई मनोरञ्जनका लागि काल्पनिक खबर भनी ह्यासट्याग समेत प्रयोग गरिएको छ भने यसबारे कतै पनि कुनै आधिकारिक वा विश्वसनीय समाचार फेला परेको छैन ।

निष्कर्ष

चितवनको अस्पतालमा एक महिलाले पाँच ओटा कुकुरका बच्चा जन्माएको भन्ने दाबी मिथ्या हो । सामाजिक सञ्जालमा भाइरल भएको तस्बिर एआई प्रयोग गरेर बनाइएको भ्रमपूर्ण सामग्री मात्र हो ।

 

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, ​युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: जेठ १६, २०८३ १४:२४