दूरसञ्चार प्राधिकरण अध्यक्षका आवेदकमध्ये ३ जना अयोग्य, कानुन सदस्यमा पुनः आवेदन खुलाइने
जेठ २०, २०८३ १५:१४
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका ३२ जनामध्ये २९ जना मात्रै प्रारम्भिक योग्यतामा सफल भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक गरेको अध्यक्ष तथा सदस्य पदका योग्य उम्मेदवारहरूको नामावली अनुसार अध्यक्ष पदका लागि आवेदन दिएका तीन जना उम्मेदवारहरू प्रक्रियाबाट बाहिरिएका हुन् ।
मन्त्रालयले मङ्गलबार प्रकाशित गरेको विवरण अनुसार अध्यक्ष पदका लागि योग्य ठहरिन नसक्नेहरूमा राकेश ताम्राकार, माधव अधिकारी र दिपेश शिवाकोटी रहेका छन् । यसअघि मन्त्रालयले आह्वान गरेको दरखास्तमा कूल ३२ जनाले आवेदन दिएका थिए । न्यूनतम योग्यता, अनुभव र आवश्यक कागजातहरूको छानबिनपछि मन्त्रालयले २९ जनाको नामावली शर्टलिस्टका लागि योग्य उम्मेदवारको रूपमा सार्वजनिक गरेको छ ।
प्राधिकरणको बोर्डलाई पूर्णता दिने क्रममा सदस्य पदहरूमा पनि उम्मेदवारहरूको छनौट प्रक्रिया चलिरहेको छ । तर, कानुन तर्फको सदस्य पदमा भने समस्या देखिएको छ । यस पदका लागि अमृतप्रसाद रुपाखेती, विनोद आचार्य, श्रीकृष्ण सुवेदी र असगरुल हक गरी चार जनाले आवेदन दिएका थिए ।
मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख भए अनुसार कानुन तर्फको सदस्य पदका लागि अयोग्य आवेदनहरू अलग्याउँदा उम्मेद्वार नै अपर्याप्त हुन पुगेका छन् । परिणामस्वरूप मन्त्रालयले सो पदका लागि पुनः आवेदन माग गर्नेछ ।
अध्यक्ष बाहेक अन्य प्राविधिक र प्रशासनिक पदहरूमा पनि उल्लेख्य सङ्ख्यामा आवेदकहरू अयोग्य ठहरिएका छन् । लेखा तथा लेखापरीक्षण सदस्य तर्फ नाै जना आवेदक मध्ये छ जना मात्र योग्य देखिएका छन् । यसमा प्रतीक श्रेष्ठ, मनोज अधिकारी र तीर्थप्रसाद यादव बाहिरिएका हुन् ।
यसैगरी बजार व्यवस्थापन सदस्य पदका लागि पाँच जनाको आवेदन परेकोमा चार जना योग्य भएका छन् भने ओमलाल श्रेष्ठको नाम योग्य सूचीमा छैन ।
सदस्य मध्ये सबैभन्दा धेरै १५ जनाले आवेदन दिएको प्रशासन र प्राविधिक सदस्य विधामा ११ जना योग्य ठहरिएका छन् । धनेश्वर झा, मिनु केसी, फूलबाबु झा र विकास आचार्य यो सूचीमा अटाउन सकेनन् ।
मन्त्रालयले प्राधिकरणको अध्यक्षका लागि सम्बन्धित क्षेत्रमा स्नातकोत्तर गरी १० वर्षको अनुभव र सदस्यका लागि स्नातक गरी सात वर्षको अनुभव अनिवार्य गरेको छ । साथै, सबै उम्मेदवारहरूले प्राधिकरण सुधारका लागि तीन हजारदेखि पाँच हजार शब्दसम्मको व्यावसायिक कार्ययोजना (Business Plan) समेत बुझाएका छन् ।
अब योग्य ठहरिएका उम्मेदवारहरूको कार्ययोजना मूल्याङ्कन, अन्तर्वार्ता र प्रस्तुतीकरणका आधारमा उपयुक्त व्यक्तिको सिफारिस गरिने मन्त्रालयले जनाएको छ । अध्यक्ष पदका लागि योग्य ठहरिएका २९ जनामा रोहित रौनियार, अनिल कुमार झा, बुद्धिप्रसाद आचार्य, राजिव सुब्बा लगायत प्रतिस्पर्धामा छन् ।
पछिल्लो अध्यावधिक: जेठ २०, २०८३ १६:८
