एआईले सन् २०३० सम्म १.३ अर्ब मानिसको बराबर पानी खपत गर्ने, विश्वको छैटौँ ठूलो विद्युत् उपभोक्ता बन्ने
जेठ २१, २०८३ ८:४६
काठमाडाैँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले प्रयोग गर्ने पानी सन् २०३० सम्ममा १.३ अर्ब मानिसको आवश्यकता बराबर पुग्ने अनुमान गरिएको छ । एआईको पानी खपतका कारण विश्वभरका अरबौँ मानिसका लागि प्राकृतिक स्रोतहरूमा खतरा निम्तिनसक्ने संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनले देखाएको छ । साथै, डेटा सेन्टरहरूको वातावरणीय प्रभाव मूल्याङ्कन गर्दा कर्बन उत्सर्जन सहित पानी र जमिनमा पार्ने प्रभाव पनि मूल्याङ्कन हुनुपर्ने रिपोर्टमा उल्लेख छ ।
संयुक्त राष्ट्रसंघको पानी, वातावरण र स्वास्थ्य संस्थानको नयाँ प्रतिवेदनले एआईको वातावरणीय लागतलाई प्रायः कार्बन उत्सर्जन (Carbon Footprint) मा मात्र सीमित गरेर गलत रूपमा मूल्याङ्कन गरिने गरेको निष्कर्ष निकालेको छ । तर, डेटा सेन्टरहरूलाई चिस्याउन (कुलिङ) र सञ्चालन गर्न आवश्यक ऊर्जा उत्पादनले गर्दा ‘पानीको फुटप्रिन्ट’ पनि पर्ने गर्छ भने डेटा सेन्टर निर्माणका लागि आवश्यक ऊर्जा पूर्वाधार र आपूर्ति शृङ्खलाले ‘जमिनको फुटप्रिन्ट’ सिर्जना गर्छ ।
प्रतिवेदनका अनुसार यी सबै पक्षहरूलाई ध्यानमा नलिई एआईको वातावरणीय प्रभावको सही विश्लेषण गर्न सकिँदैन । विशेषगरी कुनै क्षेत्रले डेटा सेन्टरहरूको कारण भोग्नुपर्ने सम्भावित दबाब मूल्याङ्कन गर्दा यी कारकहरू महत्वपूर्ण हुने प्रतिवेदनले उल्लेख गरेको छ ।
प्रतिवेदनका अनुसार सन् २०३० सम्ममा एआईलाई सञ्चालन गर्ने विश्वव्यापी डेटा सेन्टरहरूले ९४५ टेरावाट घण्टा विद्युत् खपत गर्ने अनुमान गरिएको छ । यो परिमाण पाकिस्तान, बङ्गलादेश र नाइजेरियाको संयुक्त वार्षिक विद्युत् खपतको करिब तीन गुणा हो । यी देशहरुमा ६५ करोडभन्दा बढी मानिस बसोबास गर्छन् । बिजुली खपतका आधारमा डेटा सेन्टरहरू विश्वको छैटौँ ठुलो विद्युत् उपभोक्ता हुने सम्भावना बनेकाे हाे ।
त्यस्तै, डेटा सेन्टरहरूले खपत गर्ने पानी सब सहारा अफ्रिकाका १.३ अर्ब मानिसहरूको एक वर्षको आधारभूत घरायसी पानी आवश्यकता सरह हुने अनुमान गरिएको छ । यस्तै, यसको जमिन खपत अर्थात जमिनको फुटप्रिन्ट ५ हजार ५९० वर्ग माइलभन्दा बढी पुग्न सक्ने देखाइएको छ । प्रतिवेदनले डेटा सेन्टरहरूको विकासले स्थानीय समुदायहरूलाई नोक्सान नपुर्याओस् भन्ने सुनिश्चित गर्न “जिम्मेवार एआई इकोसिस्टम” निर्माण गर्न आह्वान गरेको छ ।
प्रतिवेदनमा अनुमति प्रक्रिया, वातावरणीय प्रभाव मूल्याङ्कन र समुदायसँगको परामर्शलाई केवल कार्बन उत्सर्जनमा मात्र सीमित नराखी पानी र जमिनको प्रयोगसम्बन्धी वास्तविक प्रभावलाई पनि समेट्नुपर्ने उल्लेख गरिएको छ ।
पछिल्लो अध्यावधिक: जेठ २१, २०८३ ९:३६
