close

नेपालमा औपचारिक रूपमा सुरु भयो उबरको राइड-शेयरिङ सेवा

टेकपाना टेकपाना

जेठ २२, २०८३ १५:१४

नेपालमा औपचारिक रूपमा सुरु भयो उबरको राइड-शेयरिङ सेवा

काठमाडौं । विश्वकै चर्चित राइड-शेयरिङ एप उबर नेपालमा आफ्नो सेवा आधिकारिक रूपमा सुरु गरेको घोषणा गरेको छ । यससँगै नेपाल उबरको एसिया प्यासिफिक क्षेत्रको ११औँ बजार र विगत एक दशकमा दक्षिण एसियामा थपिएको पहिलो नयाँ बजार बनेको छ ।

राजधानीमा शुक्रबार एक कार्यक्रम गर्दै उबरले चारपांग्रे र दुईपांग्रे दुवै श्रेणीमा आफ्नो सेवा सुरु भएको जानकारी दियो । चारपांग्रे सवारीतर्फ उबर गो (Uber Go) र उबर कम्फर्ट (Uber Comfort) सेवा उपलब्ध गराइएको छ भने दुईपांग्रेतर्फ उबर बाइक (Uber Bike) सेवा सुरु गरिएको छ ।

नेपालमा सेवा विस्तार भएसँगै उबरको विश्वव्यापी सञ्जाल ७० भन्दा बढी देशमा पुगेको छ । अब काठमाडौंमा यात्रा गर्ने स्थानीय बासिन्दादेखि अन्तर्राष्ट्रिय पर्यटकहरूले एउटै परिचित एपमार्फत सहजै सवारी साधन बुक गर्नसक्ने कम्पनीले जनाएको छ ।

कार्यक्रममा पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले पर्यटन क्षेत्रको विकासमा उबरको भूमिका महत्त्वपूर्ण हुने विश्वास राखे । "पर्यटन नेपाली अर्थतन्त्रको मुख्य आधार हो । उबर जस्तो विश्वसनीय अन्तर्राष्ट्रिय प्लेटफर्मको प्रवेशले नेपाललाई विश्व पर्यटन मानचित्रमा थप मजबुत बनाउनेछ र पर्यटक तथा स्थानीयका लागि यात्रा सहज तुल्याउनेछ," उनले भने ।

उबरका एसिया प्यासिफिक राइड्सका रिजनल जनरल म्यानेजर डमिनिक टेलरले नेपालको जीवन्त बजार र बढ्दो डिजिटल प्रयोगले आफूहरू उत्साहित भएको बताए । उनले भने, "नेपाल हाम्रो लागि एक महत्त्वपूर्ण गन्तव्य हो । हामी यहाँको यातायातको आवश्यकतालाई सम्बोधन गर्दै नेपालको समृद्धिको कथाको हिस्सा बन्न चाहन्छौँ ।"

सन् २०१० मा स्थापना भएको उबरले हालसम्म विश्वभर ७५ अर्बभन्दा बढी राइड पूरा गरिसकेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

पछिल्लो अध्यावधिक: जेठ २२, २०८३ १५:२४