नागरिक एप, हेलो सरकार र जीआईओएमएस प्रणालीको सुदृढीकरणमा सघाउने राष्ट्रसङ्घीय निकायहरुको प्रतिबद्धता
जेठ २२, २०८३ १९:१७
काठमाडौँ । राष्ट्रसङ्घीय निकायहरुले नेपालका नागरिक एप, एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जीआईओएमएस), हेलो सरकारजस्ता प्रणालीको सुदृढीकरण र प्रभावकारी उपयोगमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
शुक्रबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग औपचारिक भेट गर्दै राष्ट्रसङ्घीय निकायका प्रतिनिधिहरुले नेपालमा डिजिटल साक्षरता, मिडियाको क्षमता विकास, प्रविधिमैत्री सेवा प्रवाह, साइबर अपराध नियन्त्रण तथा डिजिटल सुरक्षा सुदृढ गर्ने लगायतका क्षेत्रमा पनि सहकार्य गर्न इच्छुक रहेको बताएका छन् ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार सिंहदरबारमा भएको भेटमा मन्त्री तिमिल्सिनाले डिजिटल रूपान्तरण, साइबर सुरक्षा, मिडिया सुधार, विश्वसनीय सूचना प्रवाह तथा संस्थागत क्षमता अभिवृद्धिका क्षेत्रमा सहकार्यलाई थप विस्तार गर्न सरकार इच्छुक रहेको जानकारी गराएका थिए ।
सरकारको प्रमुख प्राथमिकतामा डिजिटल रूपान्तरण रहेकाले इन्टरनेट पहुँच विस्तार र डिजिटल पूर्वाधार विकास गर्ने विषयमा पनि छलफल भएको थियो । यसका साथै हुलाक सेवा सुधार र सरकारी संस्थाहरूको क्षमता अभिवृद्धिमार्फत सेवा प्रवाहलाई थप सहज र नागरिकमैत्री बनाउने विषयमा समेत कुराकानी भएको मन्त्रालयले जानकारी गराएको छ
पछिल्लो अध्यावधिक: जेठ २२, २०८३ १९:२४
