काठमाडौं । सरकारले ‘हेलो सरकार’ मार्फत आउने नागरिकका गुनासाको शीघ्र सम्बोधन गर्न विशेष ‘र्यापिड रेस्पोन्स टिम’ बनाउने योजना अघि सारेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारको यस्तो योजना रहेको बताए ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति पौडेलले सार्वजनिक सेवा प्रवाहलाई सरल र सहज बनाउँदै नागरिकको पहुँच सुनिश्चित गर्न सरकारले निरन्तर सूक्ष्म निगरानी गर्ने उल्लेख गरे । “हेलो सरकारमार्फत प्राप्त गुनासाहरूको शीघ्र सम्बोधनका लागि र्यापिड रेस्पोन्स टिम परिचालन गरिनेछ,” राष्ट्रपति पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भनिएको छ ।
यो टिमको परिचालनले नागरिकका समस्या र गुनासाहरूलाई तत्काल सम्बोधन गरी सरकारी सेवालाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास सरकारले लिएको छ ।