close

स्पेसएक्सको रकेटबाट पृथ्वीको जुनसुकै ठाउँमा १ घण्टाभित्रै यात्रा ! बोइङ र एयरबसलाई दिन सक्ला चुनौती ?

टेकपाना टेकपाना

जेठ २८, २०८३ १६:३८

स्पेसएक्सको रकेटबाट पृथ्वीको जुनसुकै ठाउँमा १ घण्टाभित्रै यात्रा ! बोइङ र एयरबसलाई दिन सक्ला चुनौती ?

काठमाडौँ । विश्वको सबैभन्दा ठुलो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने तयारी गरिरहेका बेला स्पेसएक्सलाई केवल एउटा रकेट कम्पनीका रूपमा मात्र नभई अझ व्यापक सम्भावना बोकेको कम्पनीका रूपमा मूल्याङ्कन गर्न थालिएको छ । धेरैको ध्यान स्टारलिङ्क, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र उदीयमान अन्तरिक्ष अर्थतन्त्रतर्फ केन्द्रित भए पनि कम्पनीको पृथ्वीमै केन्द्रित अर्को ठुलो महत्त्वाकाङ्क्षाका बारेमा भने कमै चर्चा हुने गरेको छ । 

स्पेसएक्सले चन्द्रमा र मङ्गल ग्रहको यात्रा मात्र नभई आफ्नो रकेट स्टारशिपलाई विश्वव्यापी द्रुत यातायात सञ्जालमा रूपान्तरण गर्ने योजना पनि बनाएको छ । स्पेसएक्सले स्टारशिपमार्फत पृथ्वीको कुनै पनि स्थानमा एक घण्टाभन्दा कम समयमा पुग्ने वाचा गरेको छ । उक्त वाचा पूरा गर्न सफल भएमा भविष्यमा स्पेसएक्सले प्रत्यक्ष रूपमा व्यावसायिक हवाई उड्डयन उद्योगसँग प्रतिस्पर्धा गर्न सक्ने देखिन्छ । 

फोर्ब्सको रिपोर्ट अनुसार यसले दीर्घकालीन रूपमा बोइङ र एयरबस मात्र होइन, तिनका विमान सञ्चालन गर्ने एयरलाइन्सहरूका लागि पनि चुनौती खडा गर्न सक्छ । पृथ्वीको कुनै पनि कुनामा एकै दिनमा गएर फर्किन सकिने बिजनेस क्लास यात्रा स्टारशिपको मुख्य लक्षित क्षेत्र हुनेछ । 

स्पेसएक्सका अनुसार यसको पूर्ण रूपमा पुनःप्रयोग गर्न मिल्ने स्टारशिप यातायात प्रणालीले भविष्यमा मानिस र सामानलाई पृथ्वीको जुनसुकै स्थानमा करिब एक घण्टा वा त्योभन्दा कम समयमा पुर्‍याउन सक्ने क्षमता राख्नेछ । यो प्रणाली द्रुत पुनःप्रयोग (rapid reusability) अवधारणामा आधारित छ । अर्थात् स्टारशिप अन्तरिक्षयान र त्यसलाई अन्तरिक्षमा लैजाने सुपर हेभी बुस्टर दुवैलाई छोटो समयमै प्रक्षेपण, अवतरण र पुनः उडान गर्न मिल्ने गरी डिजाइन गरिएको छ । 

स्पेसएक्सको यो प्रविधि व्यावसायिक रूपमा सफल भएमा स्टारशिप केवल अन्तरिक्ष मिसनका लागि मात्र नभई विश्वव्यापी तीव्र यातायात सेवाका रूपमा पनि प्रयोग हुन सक्नेछ । यसले लामो दूरीका अन्तरमहादेशीय यात्राको स्वरूप नै बदल्न सक्ने विश्लेषण गरिएको छ । स्पेसएक्सले प्रस्ताव गरेको यात्रा समय हालको हवाई यात्राको तुलनामा अभूतपूर्व र अविश्वसनीय हुने देखिन्छ । कम्पनीका अनुसार लन्डनदेखि न्यूयोर्कसम्मको यात्रा केवल २९ मिनेट, लस एन्जलसदेखि टोकियोसम्म ३७ मिनेट र सिड्नीदेखि लन्डनसम्म ५१ मिनेटमै पूरा गर्न सकिनेछ । 

यदि यो लक्ष्य हासिल भयो भने हालका लामो दूरीका अन्तर्राष्ट्रिय उडानहरूको यात्रा समय ९० प्रतिशतभन्दा बढीले घट्न सक्छ । हाल विश्वकाे सबैभन्दा मूल्यवान र उच्च आम्दानी दिने बिजनेस क्लास हवाई मार्ग लन्डनको हीथ्रो विमानस्थल र न्यूयोर्कको जोन एफ केनेडी विमानस्थलबिचको रुट मानिन्छ । स्पेसएक्सको स्टारशिपले यस्तै उच्च मूल्यका अन्तरमहादेशीय यात्रालाई लक्षित गर्दै परम्परागत हवाई सेवासँग प्रतिस्पर्धा गर्न सक्ने सम्भावना देखिएको फोर्ब्सले लेखेको छ । 

घण्टौँ लामो हवाई यात्रा केही मिनेटमै  

स्पेसएक्सको पृथ्वीबाट पृथ्वीमै पुग्ने (Earth-to-Earth) यातायात अवधारणाअनुसार स्टारशिपले विश्वका केही सबैभन्दा लामो हवाई यात्राको समय घण्टाबाट मिनेटमा झार्न सक्ने दाबी गरिएको छ । 

लस एन्जलस-न्युयोर्क (३,९८३ किमि): व्यावसायिक विमानबाट ५ घण्टा २५ मिनेट, स्टारशिपबाट २५ मिनेट ।

बैङ्कक-दुबई (४,९०९ किमि): व्यावसायिक विमानबाट ६ घण्टा २५ मिनेट, स्टारशिपबाट २७ मिनेट ।

टोकियो-सिङ्गापुर (५,३५० किमि): व्यावसायिक विमानबाट ७ घण्टा १० मिनेट, स्टारशिपबाट २८ मिनेट।

लन्डन-न्युयोर्क (५,५५५ किमि): व्यावसायिक विमानबाट ७ घण्टा ५५ मिनेट, स्टारशिपबाट २९ मिनेट ।

न्युयोर्क-पेरिस (५,८४९ किमि): व्यावसायिक विमानबाट ७ घण्टा २० मिनेट, स्टारशिपबाट ३० मिनेट ।

सिड्नी-सिङ्गापुर (६,२८८ किमि): व्यावसायिक विमानबाट ८ घण्टा २० मिनेट, स्टारशिपबाट ३१ मिनेट ।

लस एन्जलस-लन्डन (८,७८१ किमि): व्यावसायिक विमानबाट १० घण्टा ३० मिनेट, स्टारशिपबाट ३२ मिनेट ।

लन्डन-हङकङ (९,६४८ किमि): व्यावसायिक विमानबाट ११ घण्टा ५० मिनेट, स्टारशिपबाट ३४ मिनेट ।

स्टारशिपका चुनौती

स्पेसएक्सले आफ्नो आधिकारिक वेबसाइटमै स्टारशिपको लक्ष्य ‘अर्थ टु अर्थ’ यात्रा पनि रहेको उल्लेख गरेको छ । सन् २०१८ मा स्पेसएक्सकी तत्कालीन अध्यक्ष तथा प्रमुख सञ्चालन अधिकृत ग्विन शटवेलले पनि स्टारशिपले भविष्यमा गति र मूल्य दुवैका हिसाबले लामो दूरीका हवाई सेवासँग प्रत्यक्ष प्रतिस्पर्धा गर्न सक्ने बताएकी थिइन् । तर यससम्बन्धी पूर्ण व्यावसायिक योजना भने कम्पनीले सार्वजनिक गरेको छैन ।

पूर्वाधारको अभाव स्टारशिपको सबैभन्दा ठुलो चुनौती हुन सक्ने देखिएको छ । एयरलाइन्सहरूले विश्वभर रहेका हजारौं विद्यमान विमानस्थलहरू प्रयोग गर्न सक्ने भए पनि स्टारशिपमार्फत हुने पोइन्ट टु पोइन्ट यात्राका लागि पूर्ण रूपमा नयाँ विश्वव्यापी यातायात सञ्जाल निर्माण गर्नुपर्ने हुन्छ । स्पेसएक्सले यसअघि यात्रुहरू ठुला तटीय सहरहरूबाट डुङ्गामार्फत समुद्रमा रहेका प्रक्षेपण (लन्च) प्लेटफर्मसम्म जान सक्ने बताएको थियो । त्यसैले समुन्द्रमा निर्माण गरिने प्रक्षेपण तथा अवतरण प्लेटफर्महरूका साथै त्यससँग जोड्ने यातायात सम्पर्क, सुरक्षा निषेधित क्षेत्रहरू, प्रोपेलन्ट (इन्धन) भण्डारण सुविधा र नियामक स्वीकृतिहरू सबै आवश्यक हुने देखिन्छ । 

कम्पनीको हालको एकमात्र स्पेसपोर्ट टेक्सासस्थित स्टारबेस हो । तर स्पेसएक्सले नयाँ स्पेसपोर्ट निर्माण गर्न सम्भावित स्थानहरू खोजिरहेको भन्ने दाबीहरू पनि रहेका छन् । स्पेसएक्सले एक्समा पोस्ट गर्दै स्टारशिपलाई धेरै पटक उडाउन चाहेको र वर्षमा हजारौं उडानहरू गर्ने लक्ष्य रहेको उल्लेख गरेको थियो । यो स्तरको सञ्चालनका लागि विभिन्न स्थानहरूबाट प्रक्षेपण गर्न सक्ने क्षमता आवश्यक हुने भएकाले भविष्यमा स्टारशिप सञ्चालन विस्तार गर्न उपयुक्त साइटहरू निरन्तर खोजिरहेको पनि जानकारी गराएको थियो । 

रकेटबाट पृथ्वीमै एक ठाउँबाट अर्को ठाउँमा हवाई यात्रा गर्ने स्पेसएक्सको लक्ष्य महत्त्वाकाङ्क्षी देखिएपनि कतिपय विश्लेषकहरुले यसैलाई हवाई यात्राको भविष्यका रुपमा हेर्न थालेका छन् । भविष्यविद् लेखक तथा उद्यमी ब्रेट हर्टका अनुसार मानिसहरूले रकेटमा नभई वास्तवमा यातायातको भविष्यमा लगानी गरिरहेका छन् ।

पछिल्लो अध्यावधिक: जेठ २८, २०८३ १६:५२