close

रकेटको अनुसन्धानमा आविष्कार केन्द्रले खर्च गर्‍यो ३० लाख रुपैयाँ

टेकपाना टेकपाना

साउन ५, २०८० १०:१९

रकेटको अनुसन्धानमा आविष्कार केन्द्रले खर्च गर्‍यो ३० लाख रुपैयाँ

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले रकेट अनुसन्धानमा हालसम्म करिब ३० लाख रुपैयाँ खर्च गरेको कुरा बाहिरिएको छ । केन्द्रका संस्थापक तथा अध्यक्ष महावीर पुनले फेसबुकमा एक पोस्ट गर्दै यस विषयमा जानकारी दिएका हुन् । 

उक्त पोस्ट मार्फत केन्द्रले विगत तीन वर्षदेखि रकेट अनुसन्धानको क्षेत्रमा काम गरिरहेको जानकारी पनि दिएका छन् । यही साता भारतले चन्द्रयान ३ को सफल प्रक्षेपण गरेपछि पुनले यस विषयमा जानकारी दिएका हुन् ।  

पुनका अनुसार हालसम्म अनुसन्धानका लागि केन्द्रले २९ लाख ७४ हजार १ सय ४५ रुपैंया खर्च गरिसकेको छ । यही कामलाई निरन्तरता दिनका लागि उनले विज्ञहरूको सल्लाह र सुझाव पनि मागेका छन् । सोही पोस्टमार्फत उनले नेपालमा रकेट सम्बन्धी अनुसन्धानका लागि सल्लाह-सुझाव दिने विभिन्न क्षेत्रका इन्जिनियरलाई आह्वान गरेका हुन् । 

पुनले एभिओनिक्स, स्ट्रक्चर, प्रोपल्सन र कन्ट्रोल विषयमा विज्ञता हासिल गरेका इन्जिनियरलाई छलफलमा आउनका लागि अनुरोध गरेका छन् । पोस्टमार्फत उनले स्वदेश तथा विदेशमा रहने सम्बन्धित विषयका विज्ञलाई मेसेज गर्न आग्रह गरेका हुन् ।

"नेपालमा अहिले नै रकेट बनाएर अन्तरिक्षमा पुर्‍याउन सकिँदैन र भू-उपग्रहरू छोड्न सकिँदैन । चन्द्रमा र मंगल ग्रहमा जाने त कुरै छोडौं," उनले सामाजिक सञ्जालका पोस्टमा लेखेका छन्, " तर सो क्षेत्रमा एकदमै चाख भएका र एरोनटिकल इन्जिनियरिङ विषय पढेका नेपाली युवाहरूको क्षमता वृद्धि गर्न सानो स्केलमा भए पनि त्यो क्षेत्रमा अनुसन्धानको काम गर्ने मौका दिनु पर्छ भन्ने मेरो मान्यता हो ।"

पछिल्लो अध्यावधिक: साउन ५, २०८० १०:१९