५० मेगापिक्सेल लाइका क्यामेरा र ६५०० एमएएच ब्याट्रीसहित नेपालमा ‘साओमी १७टी’ को बिक्री सुरु
जेठ २८, २०८३ २३:३
काठमाडौँ । साओमीले नेपाली बजारमा आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन ‘साओमी १७टी’ (Xiaomi 17T) को बिक्री सुरु गरेको छ । मुख्य आकर्षणको रूपमा ५० मेगापिक्सेलको लाइका ट्रिपल क्यामेरा सिस्टम रहेको फोन खरिदमा ग्राहकले दुई हजार ४९९ रुपैयाँ मूल्य बराबरको ‘रेड्मी बड्स सिक्स प्ले’ (Redmi Buds 6 Play) नि:शुल्क प्राप्त गर्नेछन् ।
फोनमा प्रयोग गरिएको लाइका फाइभ एक्स टेलिफोटो क्यामेरा ‘लाइका अल्ट्राप्योर’ अप्टिकल डिजाइन र ‘१जी प्लस ६पी लाइका समिलुक्स’ लेन्स संरचनामा आधारित छ । यसले ३० सेन्टिमिटरको म्याक्रो फोटोग्राफीदेखि १० गुणा अप्टिकल जुम र १२० गुणासम्मको एआई अल्ट्रा जुम प्रदान गर्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
भिडिओतर्फ यसमा फोरके ६० एफपीएस सिनेम्याटिक रेकर्डिङको सुविधा छ । जसले प्राकृतिक ‘बोके’ (Bokeh) इफेक्टका साथ प्रोफेसनल भिडिओ अनुभव दिने कम्पनीको दाबी छ । साथै, यसमा समावेश ‘लाइका लाइभ मोमेन्ट’ फिचरले स्थिर तस्बिर मात्र नभई त्यस क्षणको मोसन र इमोसनलाई समेत कैद गर्न मद्दत पुर्याउने बताइएको छ ।
फोनमा १/१.५५ इन्चको ठुलो इमेज सेन्सर प्रयोग गरिएको छ । डिस्प्लेको कुरा गर्दा साओमीले पहिलो पटक ‘भिजन केयर’ प्रविधि भित्र्याएको छ । यसमा ब्राइटनेस ३५०० निट्सको पिक ब्राइटनेस भएको १.५के एमोलेड डिस्प्ले छ । जसले आँखाको सुरक्षाका लागि ब्लु-लाइट र फ्लिकर नियन्त्रण गर्दछ ।
त्यस्तै यो स्मार्टफोन ‘TÜV Rheinland’ बाट चारवटा आई केयर सर्टिफिकेट (आँखा सुरक्षा प्रमाणपत्र) प्राप्त गर्ने पहिलो साओमी फोन समेत बनेको छ ।
पर्फमेन्सका लागि यसमा ४ नानोमिटर आर्किटेक्चरमा आधारित ‘मिडियाटेक डाइमेन्सिटी ८५००-अल्ट्रा’ प्रोसेसर राखिएको छ । गेमिङ र मल्टिटास्किङका लागि यो प्रोसेसर सहज हुने बताइएको छ ।
फोनमा ६५०० एमएएचको ठुलो ब्याट्री छ, जुन अघिल्लो जेनेरेसनको तुलनामा १८ प्रतिशतले बढी हो । यसलाई ६७ वाटको हाइपर चार्जले ५८ मिनेटमै फुल चार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।
नेपालमा साओमी १७टी बैजनी, नीलो र कालो गरी तीन रङहरूमा उपलब्ध छ । १२ जीबी र्याम र ५१२ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध यस फोनको मूल्य ८९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
पछिल्लो अध्यावधिक: जेठ २८, २०८३ २३:४
