close

सरकारको लगानी रहेका ४५ मध्ये नेपाल टेलिकमसहित ३ संस्थानको नाफा सबैभन्दा धेरै

टेकपाना टेकपाना

जेठ १४, २०८३ १५:१५

सरकारको लगानी रहेका ४५ मध्ये नेपाल टेलिकमसहित ३ संस्थानको नाफा सबैभन्दा धेरै

काठमाडौँ । नेपाल टेलिकम सबैभन्दा धेरै सञ्चित नाफा आर्जन गर्ने सार्वजनिक संस्थान मध्ये एक बनेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार टेलिकम नेपाल सरकारको लगानी रहेका सार्वजनिक संस्थान मध्ये समग्र सञ्चित नाफा आर्जन गर्ने शीर्ष ३ कम्पनीमा परेको हो ।

पहिलो स्थानमा नेपाल विद्युत् प्राधिकरण रहेको छ । त्यसपछि टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चित नाफा पनि सबैभन्दा धेरै रहेको सर्वेक्षणले देखाएको छ । आर्थिक वर्ष २०८१/८२ मा सार्वजनिक संस्थानहरूको कूल सञ्चित नाफा ९ प्रतिशतले बढेर १ खर्ब ५ अर्ब ४५ करोड ४२ लाख रुपैयाँ पुगेको छ ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा यस्तो नाफा ९२ अर्ब ७२ करोड ३६ लाख रुपैयाँ रहेको थियो । त्यसैगरी सार्वजनिक संस्थानहरूको कूल सञ्चालन आय ०.७ प्रतिशतले बढेर ६ खर्ब ७२ अर्ब ४० करोड २६ लाख रुपैयाँ पुगेको छ । जुन देशको कूल गार्हस्थ्य उत्पादनको १०.८ प्रतिशत हुन आउँछ ।

२७ संस्थान नाफामा, १६ नोक्सानीमा

२०८२ असारसम्म नेपाल सरकारको पूर्ण तथा अधिकांश स्वामित्व भएका सार्वजनिक संस्थानको कूल सङ्ख्या ४५ रहेको छ । सञ्चालनमा रहेका यी संस्थानमध्ये २७ वटा नाफामा रहेका छन् भने १६ वटा नोक्सानीमा र २ वटा बन्द अवस्थामा रहेका छन् । अघिल्लो आर्थिक वर्षमा भने २८ वटा नाफामा, १५ वटा नोक्सानीमा र २ वटा बन्द अवस्थामा रहेका थिए ।

नाफामा सञ्चालन भएका संस्थानहरूबाट नेपाल सरकारले आर्थिक वर्ष २०८१/८२ मा ८ अर्ब ३७ करोड ७६ लाख रुपैयाँ लाभांश प्राप्त गरेको थियो । यद्यपि अघिल्लो वर्षको (८ अर्ब ८३ करोड ५६ लाख रुपैयाँ) तुलनामा गत वर्ष सरकारले प्राप्त गरेको लाभांश भने केही घटेको छ । समग्रमा सरकारको कुल लगानी १३.४ प्रतिशतले बढे पनि प्राप्त लाभांश भने ५.२ प्रतिशतले घटेको सर्वेक्षणले औँल्याएको छ ।

सरकारको कुल लगानी करिब ८ खर्ब

२०८२ असारसम्म सार्वजनिक संस्थानमा नेपाल सरकारको कूल लगानी (शेयर तथा ऋण) वृद्धि भई ७ खर्ब ९८ अर्ब ५६ करोड ३५ लाख रुपैयाँ पुगेको छ । यसमध्ये शेयर लगानीतर्फ ३ खर्ब ७० अर्ब २५ करोड २० लाख र ऋण लगानीतर्फ ४ खर्ब २८ अर्ब ३१ करोड १५ लाख रुपैयाँ रहेको मन्त्रालयले जनाएको छ । सार्वजनिक संस्थानहरूको कूल सम्पत्ति पनि ९.५ प्रतिशतले बढेर ३२ खर्ब ६ अर्ब ९१ करोड पुगेको छ, जुन देशको कूल गार्हस्थ्य उत्पादनको ५० प्रतिशतभन्दा बढी हुन आउँछ ।

पुँजी बजारको सन्दर्भमा हेर्दा २०८२ असारसम्म नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा सूचीकृत कूल ४६६ कम्पनीमध्ये जम्मा ७ वटा मात्र सार्वजनिक संस्थान रहेका छन् । सङ्ख्यात्मक रूपमा कम भए तापनि सूचीकृत सार्वजनिक संस्थानको बजार पुँजीकरणको हिस्सा भने समग्र धितोपत्र बजारको १५.१ प्रतिशत रहेको तथ्याङ्कमा उल्लेख छ ।

पछिल्लो अध्यावधिक: जेठ १४, २०८३ १५:१६