close

भ्रामक एसएमएस र फिशिङ लिङ्कबाट सतर्क रहन नेपाल टेलिकमको आग्रह

टेकपाना टेकपाना

जेठ २०, २०८३ १४:१७

भ्रामक एसएमएस र फिशिङ लिङ्कबाट सतर्क रहन नेपाल टेलिकमको आग्रह

काठमाडौँ । नेपाल टेलिकमले आफ्नो एसएमएस सेवाको दुरुपयोग गरी आउने विभिन्न भ्रामक एसएमएस र फिशिङ लिङ्कबाट सतर्क रहन आग्रह गरेको छ । विभिन्न बैङ्क तथा कनेक्ट आईपीएसलगायत डिजिटल भुक्तानी प्रदायकहरूको नाममा नक्कली एसएमएस पठाएर ठगी गर्ने प्रयासहरू हुन थालेपछि टेलिकमले सचेत रहन आग्रह गरेको हो । 

ठगी गर्ने समूहले पठाउने यस्ता सन्देशहरूमा प्रयोगकर्ताको खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य प्राविधिक समस्या देखिएको उल्लेख गर्ने गरेको पाइएको छ । त्यसपछि समस्या समाधानका नाममा शंकास्पद वेबसाइट वा फिशिङ लिङ्कहरूमा प्रवेश गराइ गोपनीयता चोरी गर्ने गरेको टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमले आफ्ना ग्राहकहरूलाई यस्ता भ्रामक एसएमएस, फोन कल तथा शंकास्पद लिङ्क प्रति सचेत रहन अनुरोध गरेको छ । कुनै पनि लिङ्क प्रयोग गर्नुअघि सम्बन्धित बैङ्क वा वित्तीय संस्थाको आधिकारिक वेबसाइट वा मोबाइल एपमार्फत जानकारी प्रमाणित गर्न र आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न कम्पनीले आग्रह गरेको छ ।

साथै टेलिकमले अपरिचित वा शंकास्पद लिङ्कहरूमा क्लिक नगर्न, ओटीपी, पासवर्ड, पिन, र सीभीभी जस्ता संवेदनशील र गोप्य विवरणहरू कसैसँग पनि साझा नगर्न र बैङ्क तथा डिजिटल भुक्तानीसम्बन्धी कुनै पनि जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्न आग्रह गरेको छ ।

 

पछिल्लो अध्यावधिक: जेठ २०, २०८३ १४:१७