बेलायतमा बालबालिकालाई सामाजिक सञ्जाल, गेमिङ प्लेटमर्फ तथा स्ट्रिमिङ साइटहरूमा कडा प्रतिबन्ध
असार २, २०८३ ७:०
काठमाडौं । बेलायत सरकारले बालबालिकालाई सामाजिक सञ्जाल, गेमिङ प्लेटमर्फ तथा स्ट्रिमिङ साइटहरूमा कडा प्रतिबन्धको घोषणा गरेको छ । बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले सोमबार १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने तथा गेमिङ र लाइभ–स्ट्रिमिङ प्लेटफर्महरूमा थप कडाइका प्रतिबन्ध लागू गर्ने घोषणा गरेका हुन् ।
ठुला प्रविधि (बिग टेक) कम्पनीहरूको प्रभाव नियन्त्रण गर्ने उद्देश्यले ल्याइएको यो कदम विश्वका अन्य कुनै पनि देशले अपनाएको नीतिभन्दा अझ कडा र व्यापक भएको उनको भनाइ छ ।बालबालिकाले "गुमाउँदै गएको बाल्यकाल फिर्ता दिलाउन" यी व्यापक परिवर्तनहरू आवश्यक रहेको प्रधानमन्त्री स्टार्मरले बताएका छन् ।
उनले स्न्यापच्याट, टिकटक, एन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल प्लेटफर्महरूका साथै अपरिचित व्यक्तिहरूले बालबालिकासँग सम्पर्क गर्न सक्ने गेमिङ साइटहरू विरुद्ध पनि कडा उपायहरू लागू गरिने जानकारी दिएको रोयर्टसमा प्रकाशित रिपोर्टमा उल्लेख छ ।
बालबालिकाका लागि सामाजिक सञ्जालको पूर्ण प्रतिबन्ध नै सही विकल्प हो भन्नेमा आफू स्पष्ट भएको स्टार्मरले बताएका छन् । यसले ठुलो परिवर्तन ल्याउने भन्दै स्टार्मरले भने, "यसले हाम्रा बालबालिकालाई अझ सुरक्षित बनाउनेछ, अझ खुसी बनाउनेछ । उनीहरूलाई आफ्नो समयको राम्रो उपयोग गर्ने अवसर दिनेछ, थप सुरक्षा प्रदान गर्नेछ, स्वतन्त्र रूपमा हुर्किन सहयोग गर्नेछ र जीवनमा अघि बढ्नका लागि अझ धेरै अवसरहरू सिर्जना गर्नेछ ।"
यद्यपि, केही विज्ञहरूले यस्तो प्रतिबन्ध प्रभावकारी हुनेमा शंका व्यक्त गरेका छन् । यस्तै, प्रधानमन्त्री स्टार्मरले पनि यस्ता प्रतिबन्धहरू पूर्ण रूपमा कार्यान्वयन र पालना गराउन चुनौतीपूर्ण हुने कुरा स्वीकार गरेका छन् ।
अष्ट्रेलिया-प्लस मोडेल
बेलायतले अष्ट्रेलियाभन्दा पनि अझ कडा कदम चाल्ने भएको छ । अष्ट्रेलिया बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध गर्ने पहिलो देश हो । तर बेलायतले गेमिङ प्लेटफर्महरूमा नियन्त्रणका साथै रातभर कर्फ्यू लागू हुन सक्ने तथा १८ वर्षभन्दा कम उमेरका लागि 'इन्फिनिट स्क्रोलिङ' (जति पनि स्क्रोल गर्न मिल्ने सुविधा) मा पनि रोक वा सीमितता लगाउने सम्भावना अघि सारेको छ ।
बेलायतको प्रतिबन्ध नीतिको दायरामा फेसबुक, युट्युब र एक्स पनि पर्नेछन् । तर ह्वाट्सएप र सिग्नल जस्ता मेसेजिङ सेवाहरू भने यसबाट बाहिर रहनेछन् । प्रधानमन्त्री स्टार्मरले लाइभ–स्ट्रिमिङ र बालबालिकासँग अपरिचित व्यक्तिहरूको सम्पर्क रोक्ने विषयमा नियन्त्रण प्रणाली लागू गरिने बताएका छन् । उनले प्रश्न उठाउँदै भने, "अफलाइन संसारमा के तपाईँ आफ्ना बच्चाहरूलाई कुनै अपरिचित, आफूले नचिनेको वयस्कसँग सजिलै सँगै जान दिनुहुन्छ ?"
बेलायतले नयाँ नीति सन् २०२७ को मार्चदेखि मे महिनाभित्रमा लागू गर्ने भएको छ । बेलायतको नयाँ नीतिप्रति मिश्रित प्रतिकृयाहरू देखिएका छन् । कतिपयले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउँदा बालबालिका झन् जोखिमपूर्ण प्लेटफर्महरूतर्फ जानसक्ने शंका गरेका छन् । यस्तै, कतिपय अभिभावकहरूले भने प्रतिबन्ध लगाउने नीतिको स्वागत गरेका छन् ।
पछिल्लो अध्यावधिक: असार २, २०८३ ७:३
