भारतको सर्वम् एआई बन्यो नयाँ ‘एआई युनिकर्न’, एचसीएलटेकको लगानीपछि १.५ अर्ब डलर पुग्यो मूल्य
असार २, २०८३ ११:१३
काठमाडौं । सर्वम् एआई भारतको 'एआई युनिकर्न' क्लबमा प्रवेश गरेको छ । बेंगलुरुस्थित यो जेनेरेटिभ एआई स्टार्टअपले एचसीएलटेक र केही रणनीतिक साझेदारहरूबाट २३४ मिलियन अमेरिकी डलर (३५.५ अर्ब रुपैयाँ) लगानी जुटाएपछि कम्पनी युनिकर्न क्लबमा प्रवेश गरेको हो । नयाँ लगानी चरणपछि सर्वम् एआईको मूल्याङ्कन १.५ अर्ब डलर (२ खर्ब २७ अर्ब रुपैयाँ बढी) पुगेको छ ।
कम्पनीले नयाँ पुँजी उन्नत एआई मोडेल विकास गर्न र आफ्नो पूर्वाधार विस्तार गर्न प्रयोग गर्ने योजना बनाएको छ । विश्वभरका सरकार र व्यवसायहरू विदेशी प्रविधि प्रदायकहरूमा पूर्ण रूपमा निर्भर हुनुको सट्टा आफ्नै स्थानीय एआई क्षमताहरू विकास गर्नतर्फ तीव्र रूपमा अघि बढिरहेको समयमा सर्वम् एआईले नयाँ लगानी जुटाउन सफल भएको हो ।
यसले भारतको एआई महत्त्वाकांक्षालाई ठुलो प्रोत्साहन दिएको छ । एचसीएलटेकको लगानीले आफ्नै पूर्ण एआई इकोसिस्टम निर्माण गर्ने प्रयास गरिरहेका केही भारतीय स्टार्टअपहरूको सूचीमा सर्वम् एआईलाई स्थापित गर्न मद्दत गरेको छ । धेरै कम्पनीहरू एआई एप्लिकेसनहरूमा मात्र केन्द्रित भइरहेका बेला सर्वम्ले एआई मोडेल विकास, कम्प्युटिङ इन्फ्रास्ट्रक्चर र इन्टरप्राइज सफ्टवेयर समाधान गरी तीन वटै क्षेत्रमा काम गरिरहेको छ ।
एचसीएलटेकसँगको साझेदारीले सर्वम्लाई आफ्नो प्रविधि अझ धेरै व्यवसाय र सरकारी संस्थासम्म पुर्याउन सहयोग गर्ने अपेक्षा गरिएको छ । कम्पनीले आफ्ना एआई मोडेलहरूलाई एचसीएलटेकको इन्जिनियरिङ विशेषज्ञता, सफ्टवेयर सम्पत्ति र इन्टरप्राइज ग्राहक सञ्जालसँग जोडेर ठुलो स्तरमा प्रयोग गर्न मिल्ने एआई समाधानहरू विकास गर्ने योजना बनाएको छ ।
सर्वम् एआईका सह संस्थापक एवं सीईओ प्रत्यूष कुमारले हालै नेपालको भ्रमण गरेका थिए । भ्रमणका क्रममा एआईको भविष्य, भारतको एआई मिसन र यसमा नेपाल-भारत सहकार्यका सम्भावनाहरूमाथि विचार राखेका थिए । साथै, उनले खुसीसाथ नेपाल र नेपाली कम्पनीहरूसँग सहकार्य गर्न तयार रहेको पनि घोषणा गरेका थिए ।
डा. प्रत्यूष कुमारले नेपाल-भारत दुवै देशले सोभरेन एआई अर्थात् आफ्नै सार्वभौम एआई क्षमता विकास गर्नुपर्नेमा जोड दिँदै ‘संवाद’ भ्वाइस बटसँगै एआई इन्जिनियर तयार पार्न ट्रेनिङ सामग्री निःशुल्क दिन तयार रहेको बताएका थिए ।
पछिल्लो अध्यावधिक: असार २, २०८३ ११:३५


