थाहा पाउँदा पाउँदै पनि स्क्यामरको जालोमा परे इन्जिनियर, अनलाइन लगानीको नाममा १० लाख स्वाहा !
जेठ २३, २०८३ ०:१८
काठमाडौँ । राजधानीका एक २८ वर्षीय इन्जिनियर राम्रै कम्पनीमा काम गर्थे । उनको जीवनमा सबै ठीकठाक चलिरहेको थियो । गत डिसेम्बरतिर उनको ह्वाट्सएपमा एउटा मेसेज आयो, जसमा अनलाइन लगानी गरेर लाखौँ कमाउन सकिने दाबी गरिएको थियो ।
त्यही मेसेजको पछि लाग्दा उनी यस्तो चङ्गुलमा फसे, जहाँबाट निस्किन निकै सकस भइरहेको छ । सुरुमा १,५०० रुपैयाँ निःशुल्क पाएका उनले अन्जानमै १० लाख रुपैयाँभन्दा बढी गुमाए । अहिले सुरुमा पाएको त्यही केही हजार रुपैयाँले गर्दा उनी आफैँ स्क्यामर जस्तो देखिन पुगेका छन् ।
आखिर यो सब कसरी भयो त ? प्रविधि क्षेत्रमै काम गरिरहेका एक इन्जिनियर कसरी यो जालोमा परे ? अनि अहिले उनले कस्तो समस्याको सामना गर्नु परिरहेको छ ? गोपनीयताका कारण हामीले ती इन्जिनियरको नाम समावेश गरेका छैनौँ भने उनले गुमाएको रकममा पनि केही थपघट गरेका छौँ । यद्यपि, उनले गुमाएको वास्तविक रकम १० लाख रुपैयाँभन्दा बढी नै हो ।
सुरुवाती अवस्थाबारे उनी भन्छन्, “ह्वाट्सएपमा नेपाली नम्बरबाट मेसेज आएपछि मैले सोधखोज गरेको थिएँ । उनीहरूले कुनै डेटाबेसबाट मेरो नम्बर पाएको बताए । मैले पनि खासै चासो दिइनँ ।”
त्यसपछि उनलाई टेलिग्राम एप डाउनलोड गर्न लगाइयो, जहाँ दैनिक रूपमा सामान्य ‘टास्क’ पूरा गर्नुपर्ने सर्त राखियो । पहिलो दिन उनलाई एउटा लिङ्क दिएर ३२ ओटा कारको रेटिङ गर्न भनियो । यो काम पूरा गरेबापत उनले कुनै लगानीबिनै १,५०० रुपैयाँ प्राप्त गरे ।
भोलिपल्ट उनलाई १० हजार रुपैयाँ लगानी गर्न भनियो । पहिले नै टेलिग्राममा हुने यस्ता ठगीका बारेमा सुनेकाले उनले ६०-६५ जना सम्मिलित सो ग्रुपमा ‘यो स्क्याम हो, यसमा लगानी नगर्नुहोला’ भन्दै सचेत गराएर मेसेज लेखे । उनी भन्छन्, “यसरी सुरुवातमै रकम पाएपछि मैले यो स्क्याम हो भन्ने ठम्याइसकेको थिएँ । त्यसैले ग्रुपमै यो ठगी हो भनेर लेखिदिएँ । त्यतिबेला मलाई खासै चासो थिएन । विभिन्न समाचारहरू पढिरहेकाले यसको शैली ठ्याक्कै मैले पढेको लेख (आर्टिकल) सँग मिलेपछि अनुमान गरेर मेसेज लेखेको थिएँ ।”
तर, ग्रुपका केही सदस्यहरूले उनलाई व्यक्तिगत रूपमा मेसेज गर्दै आफूहरूलाई पनि डर लागिरहेको तर एकपटक प्रयास गरेर हेर्ने बताए । पछि उनीहरूले ग्रुपमा लगानी गरेको र त्यसको प्रतिफल पाएको स्क्रिनशट शेयर गरे । ग्रुपका झन्डै ४० देखि ४५ जनाले प्रतिफल पाएको देखेपछि उनमा पनि लोभ पलायो । उनले १० हजार रुपैयाँ लगानी गरे र फिर्ताबापत १३ हजार रुपैयाँ पाए । “सुरुमा त म यो स्क्याम नै हो भन्नेमा ढुक्क थिएँ । तर, त्यहाँ अधिकांशले रकम पाएको देखेपछि ‘ट्राइ गरौँ न के हुन्छ र’ भनेर १० हजार जम्मा गरेँ । त्यसमा पनि मलाई ३२ ओटा टास्क दिइयो र रेटिङ गर्न भनियो,” उनी सम्झिन्छन् ।
सामान्य रेटिङकै कामबाट थप ३ हजार रुपैयाँ अतिरिक्त आम्दानी भएपछि उनको शङ्का बिस्तारै विश्वासमा बदलिन थाल्यो ।
तेस्रो दिन ३५ हजार रुपैयाँ लगानी गर्दा ५० हजार रुपैयाँ आउने अफर आयो । यसैबीच, ग्रुपमा रहेकी एक महिला सदस्यले आफू पनि सामान्य प्रयोगकर्ता भएको बहाना गर्दै उनीसँग निकटता बढाइन् र आफ्नो विवरण साटासाट गरिन् । ती महिलाको कुराकानी र ग्रुपका अन्य सदस्यको गतिविधिबाट प्रभावित भएर उनले ३५ हजार रुपैयाँ लगानी गरे । उनी भन्छन्, “कसैले आफूलाई चिनेजानेको जस्तो व्यवहार गर्यो भने आत्मविश्वास बढ्ने रहेछ । मैले पनि ती महिलालाई उनले मागेको सहयोग गरेँ । उनले कसरी टास्क पूरा गर्ने र के–के गर्नुपर्छ भन्ने सोधेकी थिइन् । एउटै ग्रुपबाट आएको भनेपछि मलाई पनि सहयोग गरौँ भन्ने लाग्यो ।”
यसरी ३५ हजार रुपैयाँ लगानी गरेका उनले टास्क पूरा गर्नेबित्तिकै ५० हजार रुपैयाँ फिर्ता पाए । यो रकम याद राख्नुहोला, किनभने घटनामा नयाँ मोड (ट्विस्ट) ल्याउन यो रकमले पछि महत्त्वपूर्ण भूमिका खेलेको छ ।
यतिबेलासम्म ती इन्जिनियरले झन्डै २० हजार रुपैयाँ नाफा कमाइसकेका थिए । अर्थात् तीन दिनमा दैनिक १५ मिनेट काम गर्दा उनले सो रकम कमाएका थिए । यतिबेलासम्म उनको मस्तिष्कबाट यो ‘स्क्याम’ हुन सक्छ भन्ने कुरा पूर्णतः हटिसकेको थियो । उनी भन्छन्, “मैले त यो स्क्याम हो भन्ने बिर्सिसकेको थिएँ । केही नगरी रकम आएको भए त डर हुन्थ्यो होला, तर यसमा त काम गरेअनुसार सबै रकम आइरहेको थियो । रकम निरन्तर आएपछि यो कसरी सम्भव भइरहेको छ भन्ने कुरा पनि बिर्सिने रहेछ ।”
चौथो दिन त्यसरी नै ३० हजार रुपैयाँ लगानी गरेर उनले ३२ ओटा टास्क पूरा गर्नुपर्ने भयो । सोहीअनुसार टेलिग्राममा आएको बैंकको क्यूआर कोडमा उनले रकम पठाए । सबै काम पहिलेकै जसरी अगाडि बढिरहेको थियो । तर, जति सजिलो गरी पहिले टास्क पूरा हुन्थ्यो, यसपटक त्यस्तो भएन । किनभने स्क्यामरले जालो बुनिसकेका थिए । २५ औँ कारलाई रेटिङ गर्ने क्रममा उनको स्क्रिनमा एउटा महँगो कारको फोटो देखियो । त्यहाँ ‘लक्जरी कार’ परेको भन्दै अगाडि बढ्न थप १ लाख ५० हजार रुपैयाँ लगानी गर्नुपर्ने र त्यसपछि ५ लाख रुपैयाँ फिर्ता आउने प्रलोभन देखाइयो । पहिलेकै रफ्तारमा रकम पाउने आशमा रहेका इन्जिनियरको यात्रामा एक्कासि ब्रेक लाग्यो । अगाडि बढ्न उनले त्यहाँ उल्लेख गरिएको रकम पठाउनैपर्ने भयो ।
यस चरणमा पुगेपछि उनले आफूसँग पैसा नभएको र आफ्नो साँवा फिर्ता दिन आग्रह गरे । तर, तथाकथित मेन्टर (निर्देशक) ले थप लगानी नगरे पहिलेको रकम पनि डुब्ने धम्की दिए ।
६५ जनाको उक्त टेलिग्राम ग्रुपका एक सदस्यले त्यही बेला आफ्नो दुखेसो पोखे । “मलाई २५ लाख रुपैयाँ तिर्नुपर्ने भनिएको छ,” उनले मेसेज लेखे, “मसँग त अब पैसा छैन, दिदी र आमाको सुन चोरेर बेच्न ल्याएको छु । केही गरी डुब्यो भने त म आत्महत्या नै गर्छु । मेरो जीवन तपाईंहरूको हातमा छ ।” यतिबेला ग्रुपका सबै सदस्यको ध्यान ती व्यक्तिमा केन्द्रित थियो । किनभने उनले रकम पाएमा सबैले लगानी गर्ने र नपाए नगर्ने मनस्थितिमा उनीहरू थिए । ती इन्जिनियर भन्छन्, “उसले २५ लाख रुपैयाँ तिरेपछि बोनससहित ४२ लाख रुपैयाँ पाउने देखिन्थ्यो । त्यसमा १२ लाख फाइदा हुने रहेछ । उसले रुँदै मेसेज गरेको देखेपछि हाम्रो ध्यान पनि त्यतै मोडियो ।”
टेलिग्राममा मेसेज पठाउने ती व्यक्तिले सुन बेच्न लागेको फोटो पठाए । त्यसको केही समयपछि २५ लाख रुपैयाँ ट्रान्सफर गरेको स्क्रिनशट पठाए र रकम पाउने आशामा बसेको मेसेज लेखिरहे । उनले लेखेका थिए, “साथीहरू, म फसे पनि केही भएन, तर मैले रकम पाइनँ भने तपाईंहरू कोही पनि पैसा नहाल्नुहोला ।” यो मेसेज लेखेको १० मिनेटपछि उनले खुसी हुँदै ४२ लाख रुपैयाँ पाएको स्क्रिनशट पठाए र लेखे, “म बाँचे साथीहरू ! मेरो त सर्वस्व नै गुमिसकेको थियो । अरू प्लेटफर्मजस्तो यो होइन रहेछ, तपाईंहरू लगानी गर्न सक्नुहुन्छ ।” दोधारमा परेका इन्जिनियरलाई यो मेसेजले साहस दियो र उनले १ लाख ५० हजार रुपैयाँ पठाइदिए ।
त्यसपछि पुनः टास्क अगाडि बढ्यो र ३१ औँ टास्कमा पुगेर रोकियो । यसपटक २२ लाख रुपैयाँ फिर्ता पाउन थप ८ लाख ८६ हजार रुपैयाँ लगानी गर्न माग गरियो । उनी हैरान भए । टास्क सकिएला भनेको त फेरि रकम पठाउनुपर्ने भएपछि उनी रोकिए । निराश हुँदै उनी सुनाउँछन्, “अब मलाई थप रकम पाउनेभन्दा पनि आफ्नो डुबेको रकम फिर्ता पाउने आश लाग्यो । बीचमै छोड्न मनले मानेन । उनीहरूले यसरी अल्झाए कि म जालोमा परेको पत्तै पाइनँ ।”
पहिलेको रकम फिर्ता पाउनका लागि उनले थप रकम तिर्नैपर्ने भयो । उनले आफ्ना साथीहरूसँग सहयोग मागे । उनी भन्छन्, “मैले सापटी मागेको बेला सधैँ समयमै तिर्ने बानी थियो । त्यसैले साथीहरूले भन्नेबित्तिकै आफूसँग भएको रकम पठाइदिए । चार जना साथीले मागेजति रकम पठाएपछि मैले स्क्यामरले भनेका ४–५ ओटा खातामा सबै रकम पठाइदिएँ ।” त्यसपछि उनको अन्तिम टास्क पनि सकियो । तर, २२ लाख रुपैयाँ निकाल्नका लागि फेरि 'कर' तिर्नुपर्ने सर्त राखियो । यतिबेला भने उनले आफू ठगी (स्क्याम) मा परेको चाल पाए । उनी तत्कालै बैंक पुगेर आफूले रकम पठाएको खाता फ्रिज गरिदिन अनुरोध गरे । तर, सोझै खाता फ्रिज गर्न नमिल्ने भयो; त्यसका लागि प्रहरीको पत्र आवश्यक थियो । चिनेको बैंकका साथीहरूको सहयोगमा उनले खाता ट्रयाक गरे । तर, उनले पठाएको ८ लाख ८६ हजार रुपैयाँ विभिन्न खातामा ट्रान्सफर भइसकेको थियो । अर्थात्, इन्जिनियरले जुन खातामा रकम पठाएका थिए, ती खाता रित्तो भइसकेका थिए ।
पुस महिनाको दोस्रो साता उनले साइबर ब्युरोमा उजुरी दिए । तर, घटना यहाँ सकिएन । अब पालो आयो, उनले ३५ हजार पठाउँदा पाएको ५० हजार रुपैयाँको । साइबर ब्युरोमा निवेदन दिएको झन्डै पाँच महिनापछि उनको आफ्नै खाता फ्रिज भयो । उनी भन्छन्, “म आफैँ स्क्याममा परेको थिएँ । सुरुमा त किन खाता फ्रिज भयो भन्ने भेउ नै पाउन सकिनँ । पछि प्रहरीले मलाई सम्पर्क गर्न खोज्दा नभेटेपछि खाता फ्रिज गरेको हुन सक्छ भन्ने अनुमान गरेँ ।” उनी बैंकमा बुझ्न गए । बैंकको कुरा सुनेर इन्जिनियरको होसहवासै उड्यो । “तपाईंको खातामा केही महिनाअघि स्क्याममा परेका अर्का पीडितको ५० हजार रुपैयाँ आएको रहेछ,” बैंकले भन्यो, “हामीले प्रहरीकै अनुरोधमा यो खाता ब्लक गरेका हौँ । थप बुझ्न साइबर ब्युरोमै जानुपर्छ ।”
अर्थात्, ३५ हजार रुपैयाँ जम्मा गर्दा तेस्रो दिन उनले जुन ५० हजार रुपैयाँ पाएका थिए, त्यो अर्कै पीडितको खाताबाट आएको रकम थियो । उक्त रकम पठाउने पीडितले उजुरी दिएपछि इन्जिनियरको खाता फ्रिज भएको थियो ।
अहिलेसम्म आफू स्क्याममा परेको छु भन्ने ठानेका इन्जिनियर नै अप्रत्यक्ष रूपमा स्क्यामर जस्तो बन्न पुगे । उनले ५० हजार रुपैयाँ फिर्ता गरिदिएको खण्डमा मात्र खाता अनफ्रिज हुने जानकारी पाए । उनी भन्छन्, “खाता महत्त्वपूर्ण भएकाले मैले प्रहरीले भनेबमोजिम सो रकम अर्को पीडितलाई पठाइदिएँ । खासमा त्यो रकम मैले व्यक्तिगत प्रयोजनमा खर्च गरेको थिइनँ, मबाट पनि अरूकै खातामा गएको थियो । म आफैँ पीडित हुँदाहुँदै पनि कानूनी झमेलाबाट जोगिन जसोतसो ५० हजार रुपैयाँ बुझाएँ ।”
बीचमा जति पनि व्यक्ति उनीसँग जोडिन आएका थिए, ती सबै स्क्यामरकै समूहका सदस्य थिए भन्ने उनले पछि बुझे । उनी भन्छन्, “मैले पहिले नै यस्तो हुन्छ भन्ने थाहा पाए पनि मलाई म्यानुपुलेट गर्न त्यही टोलीका मान्छे कुरा गर्न आए र बीचबीचमा रकम पाएको स्क्रिनशटहरू पठाए । मलाई विश्वास लाग्दै गयो । त्यही विश्वासमा पर्दा १० लाख रुपैयाँभन्दा बढी गुमाएँ । अहिले म आफैँ स्क्यामर जस्तो भएको छु । आफूलाई नपर्दासम्म यो पीडा बुझिने रहेनछ ।”
अनलाइन लगानीबाट कम समयमा लाखौँ कमाउन सकिने प्रलोभनमा परे फसिन्छ भन्ने ज्ञान भएका इन्जिनियर नै ठगीको सिकार भए । उनलाई विश्वास दिलाउन स्क्यामरको पूरै टोली लागेको थियो । उनको पारिवारिक पृष्ठभूमि र पेसा बुझेर उनले कतिसम्म खर्च गर्न सक्छन् भन्ने विश्लेषण गरी जालो बुनिएको थियो । उनीहरूको कुराको पछि लाग्दा इन्जिनियरले साथीभाइसँग सापटी लिएको रकम समेत गुमाउन पुगे ।
पछिल्लो अध्यावधिक: जेठ २३, २०८३ ०:५९
