प्रधानमन्त्रीलाई मेसेज पठाएकै कारण सचिव कृष्णहरि पुष्करमाथि प्रहरीको केरकार, के हो घटना ?
जेठ २२, २०८३ १६:१४
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई मोबाइलमा मेसेज पठाएको विषयमा उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करसँग प्रहरीले सोधपुछ गरेको छ । यो खबर बाहिरिएपछि सामाजिक सञ्जालमा विभिन्न टीकाटिप्पणी भइरहेका छन् । कतिपयले नयाँ सरकारलाई पनि पुरानै सरकारको कार्यशैली जस्तो सोचेर 'चाकडी' गर्न म्यासेज पठाएको भन्दै सचिव पुष्करको आलोचना गरेका छन् । अर्कातर्फ, मेसेज पठाएकै भरमा बहालवाला सचिवलाई प्रहरीले सोधपुछको दायरामा ल्याउनुले प्रशासनिक स्वतन्त्रतामाथि प्रश्न उठाएको केहीको तर्क छ ।
सचिव पुष्कले ‘चेन अफ कमान्ड’ उल्लङ्घन गरेको वा प्रधानमन्त्रीलाई सोझै मेसेज पठाएको निहुँमा प्रहरीले नियन्त्रणमा लिँदा प्रशासनिक स्वतन्त्रता र नागरिक अधिकारको हनन हुने भन्दै विरोध समेत भएको छ । केहीले भने पुष्करको पृष्ठभूमि विवादास्पद रहेको भन्दै उनीमाथि भ्रष्टाचारसँग सम्बन्धित विषयमा समेत छानबिन अघि बढाउनुपर्ने माग गरेका छन् ।
के हो घटना ?
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई कार्यालयमा बोलाएर लामो समयसम्म सोधपुछ गरेको थियो ।
सचिव पुष्करको कार्यकाल आगामी असार २४ गते सकिँदै छ । आफ्नो कार्यकाल सकिनै लाग्दा उनले प्रधानमन्त्रीको जिल्लावासी भएको नाता लगाउँदै प्रधानमन्त्रीले ‘विशेष ध्यान’ दिएमा आफू मुख्यसचिव बन्न सक्ने सम्भावना रहेको भनी मेसेज लेखेका थिए ।
मुख्यसचिवमा आफ्नो सम्भावना कम देखेका पुष्करले राजदूत पदका लागि समेत आवेदन दिएको र त्यसमा आवश्यक सहयोग गरिदिन प्रधानमन्त्रीलाई अनुरोध गरेका थिए ।
विभिन्न भ्रष्टाचार र चलखेलका विवादमा मुछिएका कारण प्रधानमन्त्री कार्यालयले पुष्करमाथि पहिलेदेखि नै आन्तरिक अनुसन्धान गरिरहेको स्रोतले जनाएको छ । सोही समयमा उनले पठाएको मेसेज प्राप्त भएपछि प्रधानमन्त्री कार्यालयले यसबारे सोधपुछ गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।
सरकारले उच्च पदस्थ नियुक्तिमा खुला प्रतिस्पर्धाको नीति अघि सारेका बेला व्यक्तिगत स्वार्थका लागि मेसेज पठाइएको भन्दै उनीमाथि सोधपुछ गर्न भनिएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दियो ।
के थियो मेसेजमा ?
प्रहरी स्रोतका अनुसार सचिव पुष्करले प्रधानमन्त्री बालेनलाई पठाएको मेसेजमा आफ्नो ठेगाना जलेश्वर-४, महोत्तरी रहेको उल्लेख गर्दै सामीप्यता देखाउन खोजेका छन् । उनले लेखेका छन्, “नेपाल सरकारका सचिवको कार्यकाल पाँच वर्षको हुने व्यवस्था छ। सम्माननीयज्यू, यसरी हेर्दा मुख्यसचिव पदमा हजुरको विशेष ध्यान भए मात्रै, नत्र कुनै सम्भावना छैन हजुर। त्यही भएर मेरो सेवानिवृत्ति आगामी असार २४ गते सुनिश्चित छ।”
मेसेजमा उनले थप लेखेका छन्, “यसैबिच राजदूत पदका लागि विज्ञापन हेरेँ र मैले पनि आवेदन पेस गरेँ, हजुर। यस सन्दर्भमा हजुरको जानकारी, मार्गदर्शन तथा आवश्यक सहयोगका लागि विनम्र अनुरोध गर्दछु । अगाडि हजुरको जो आदेश।”
प्रहरी भन्छ- ‘सामान्य गफगाफ मात्रै हो’
यता, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्काले भने पुष्करसँगको भेट सामान्य भएको दाबी गरे । उनले आफूहरूको पुरानो चिनजान भएको र बिहीबार दिउँसो ४ बजेतिर सचिव पुष्कर कार्यालयमा आएको बताए ।
“हामीबिच सामान्य गफगाफ मात्र भएको हो । पत्रपत्रिकामा सोधपुछको समाचार कसरी आयो, मलाई जानकारी भएन,” एसएसपी खड्काले टेकपानासँग भने । उनले सचिव पुष्कर साँझ ७ बजेसम्म कार्यालयमै रहेको र त्यसपछि दुवै जना बाहिरिएको बताए ।
पुष्कर विगतमा अर्थ मन्त्रालयमा राजस्व तथा अर्थ सचिव भएका अनुभवी प्रशासक हुन् । उनी मुख्यसचिवको दौडमा पनि चर्चामा थिए, तर तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारले सुमनराज अर्याललाई नियुक्त गरेको थियो ।
पछिल्लो अध्यावधिक: जेठ २२, २०८३ १६:२४
