close

नवप्रवर्तनमा क्रियाशील युवालाई पालनपोषण गर्ने मन्त्रालय बनाउनु मेरो प्राथमिकता हो: मन्त्री पुन

टेकपाना टेकपाना

जेठ २८, २०८३ १४:१९

नवप्रवर्तनमा क्रियाशील युवालाई पालनपोषण गर्ने मन्त्रालय बनाउनु मेरो प्राथमिकता हो: मन्त्री पुन

काठमाडौँ । विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्री महावीर पुनले देशको समृद्धिका लागि नवप्रवर्तनको जग आफूले बसाल्ने बताएका छन् । पदबहाली गरेपछि मंगलबार मन्त्रालयमा कर्मचारीहरूसँग अन्तर्क्रिया गर्दै नवनियुक्त मन्त्री पुनले देशलाई आर्थिक रूपमा शक्तिशाली बनाएर हजारौँ वर्षसम्म अस्तित्व कायम राख्न विज्ञान र प्रविधिको विकल्प नभएको बताए । उनले आफ्नो कार्यकालमा इनोभेसनलाई देशको अर्थतन्त्रसँग जोड्न मेहेनत गर्ने प्रतिबद्धता व्यक्त गरे । 

अहिलेको उपभोक्तावादी समयमा मानिसहरूलाई नयाँ र राम्रा वस्तु प्रयोग गर्ने चाहना हुने मन्त्री पुनले बताए । नेपालमा सियोदेखि ठुला सामग्रीसम्म विदेशबाट आयात भइरहेको उल्लेख गर्दै उनले भने, “साधारणभन्दा साधारण वस्तुहरू पनि देशमा उत्पादन हुँदैनन् । जसका कारण देशको पैसा बाहिर गइरहेको छ र व्यापार घाटा चुलिँदो छ,” पुनले भने । उनले आयात हुने वस्तुमध्ये कम्तीमा २० देखि ३० प्रतिशत मात्र भए पनि नेपालमै बनाउन सके व्यापार घाटा निकै कम हुने र देशको पैसा विदेशीनबाट जोगिने बताए ।

मन्त्री पुनले ठुला ठुला रकेट उडाउने वा असाधारण वैज्ञानिक आविष्कार गर्ने कुरा तत्कालै नसकिने बताए । तर, नवप्रवर्तनमा भने तत्कालै काम सुरु गर्ने उनको योजना छ ।

मोबाइलको आविष्कारक एक जना भए पनि संसारभर हजारौँ कम्पनीले यसलाई सुधार गर्दै नयाँ नयाँ मोडेल बनाएर बेचिरहेको उदाहरण दिँदै उनले भने, “आविष्कार गर्ने वैज्ञानिक एउटा हुन्छ । तर त्यो आइडियालाई सुधार गरेर नयाँ चिज बनाउने र बिक्री गर्ने काम नवप्रवर्तन हो । हामीले नवप्रवर्तनमा काम गर्नुपर्छ ।”

वैज्ञानिक अनुसन्धान र व्यावहारिक नवप्रवर्तनलाई बराबर प्राथमिकता दिनुपर्नेमा उनको जोड छ । विश्वविद्यालयमा हुने प्राज्ञिक अनुसन्धान र वैज्ञानिकहरूले गर्ने खोजलाई कसरी व्यवहारमा उतारेर देशका लागि चाहिने चिज उत्पादन गर्न सकिन्छ भन्ने नै अबको मुख्य चुनौती भएको उनले बताए ।

‘प्रतिभा महँगा छन्, उनीहरूलाई रिझाउनुपर्छ’

मन्त्री पुनले नवप्रवर्तन गर्ने प्रतिभाशाली युवालाई देशमा रोकेर राख्नु सबैभन्दा चुनौतीपूर्ण काम भएको सुनाए । “प्रतिभाशाली युवाहरूको काम गर्ने शैली र सोच्ने तरिका साधारण मानिसको भन्दा फरक हुन्छ । उनीहरूलाई फकाई फुलाई गरेर नयाँ आइडिया निकाल्न मन्त्रालयका साथीहरूले मेहेनत गर्नुपर्छ,” उनले कर्मचारीहरूसँग भने ।

यो मन्त्रालयलाई अन्य मन्त्रालय वा विभागजस्तो प्रशासनिक ढर्रामा नभई सिर्जनशील युवाहरूलाई ‘पालनपोषण’ गर्ने केन्द्रको रूपमा अघि बढाउने लक्ष्य राखेको उनले बताए । “यो मन्त्रालय देशका प्रतिभा र सिर्जनशील युवालाई पालनपोषण गर्ने मन्त्रालय बनोस् भन्ने मेरो चाहना छ र मेरो फोकस यसैमा रहनेछ,” उनले भने । प्रतिभा भएका युवाहरूलाई देशमै राख्न विशेष ‘मन्त्र’ निकाल्नुपर्ने र उनीहरू लुकेर बसेका छन् भने खोजेर ल्याउनुपर्नेमा उनले जोड दिए ।

नेपालबाट वर्षौँदेखि भइरहेको प्रतिभा पलायनलाई रोक्न र विदेशमा रहेका प्रतिभालाई फर्काउन मेहेनत गर्नुपर्ने पुनको भनाइ छ । “विदेशमा रहेका प्रतिभाहरूलाई नेपाल फर्किन मन लाग्ने गरी ‘मोहनी’ लगाउने उपाय हामीले खोज्नै पर्छ,” उनले भने । साथै, उनले विदेशमा रहेका नेपालीलाई पनि ‘धेरै भाउ नखोजीकन’ मातृभूमि सम्झेर फर्किन र देश विकासमा योगदान दिन आह्वान गरे । सरकारले उनीहरूका लागि आवश्यक सहयोग र वातावरण तयार गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।

‘पाँच वर्ष जग बसाल्नै लाग्छ’

मन्त्री पुनले ठुला सपना देख्नुभन्दा अगाडि किसानका औजार र बाँदर नियन्त्रणजस्ता समस्या समाधानमा जोड दिनुपर्ने बताए । उनले भने, “बाँदरको समस्या अहिले नेपालका लागि कोरोना जस्तै ठुलो समस्या भएको छ । यसलाई कसरी नियन्त्रण गर्ने भन्नेमा पनि नवीन सोच चाहिन्छ ।” 

नेपालमा विज्ञान र नवप्रवर्तनको जग बसाल्न नै अबको पाँच वर्ष लाग्ने र त्यसपछिको १०/१५ वर्षमा नेपालले धेरै सामग्री उत्पादन गर्न सक्ने अवस्थामा पुग्ने उनको भनाइ छ । उनले मन्त्रालयको काम आफैँ उत्पादन गर्ने नभई उत्पादन हुनुभन्दा अघिको अनुसन्धान र वातावरण तयार गरिदिने भएको स्पष्ट पारे ।

उनले थपे, “हामीले हुर्काइदिएका नयाँ सोचहरूलाई पछि उद्योग मन्त्रालयमार्फत 'स्टार्टअप' को माध्यमबाट उद्यमशीलतामा लैजानुपर्छ ।”

आफू बढीमा तीन वर्ष मात्र मन्त्री पदमा बस्ने र त्यसपछि युवाहरूलाई पद सुम्पिने घोषणा समेत मन्त्री पुनले गरे ।  उनले भने, “बुढाहरूले देश बनाउन सहयोग गर्ने हो । देश त युवाले नै बनाउने हो ।  यो समयमा राम्रो जग बसालेर युवाहरूलाई छाडिदिन्छु ।”

आफूले नेपालमा पनि नवप्रवर्तनलाई प्रोत्साहन गर्नका लागि राष्ट्रिय आविष्कार केन्द्र खोलेको पुनले बताए । तर, मन्त्रालयबाट केन्द्रका लागि बजेट छुट्याएर ‘स्वार्थ बाजिने’ काम नगर्ने उनले बताए ।

उनले भने, “तर राष्ट्रिय आविष्कार केन्द्र जस्ता दुई चार ‌ओटा केन्द्र सरकारी तर्फबाट पनि खोल्नुपर्छ । जहाँ नयाँ नयाँ आइडिया भएका युवाहरू आएर ढुक्कसँग आएर कुनै चिन्ता नलिई रिसर्च, इनोभेसन गर्न चाहन्छ भने त्यस्तो मौका दिनुपर्छ । राष्ट्रिय आविष्कार केन्द्रले पनि युवाहरूलाई केही चिन्ता नलिई इनोभेसन गर्ने अवसर दिन्छ ।” 

आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटले पुँजीगत खर्चको एक प्रतिशत अर्थात् करिब चार अर्ब रुपैयाँ विज्ञान र प्रविधिका लागि छुट्याइएको छ । उनले उक्त बजेटको सदुपयोग गर्ने योजना सुनाए ।

मन्त्री पुनले भने, “बजेटबाट प्रशासनतर्फको खर्च एकदमै कम गर्ने र रिसर्च तथा इनोभेसनमा बढीभन्दा बढी खर्च हुने गरी कार्यक्रमहरू बनाइने छ ।” उनले नयाँ आइडिया भएका युवालाई तयारी अवस्थामा रहन आह्वान गरे । मन्त्रालयले उनीहरूका लागि ढोका खुला राख्ने विश्वास मन्त्री पुनले दिलाए ।

पछिल्लो अध्यावधिक: जेठ २८, २०८३ १४:३८