close

विज्ञान, प्रविधि मन्त्रालयको वेबसाइट सञ्चालनमा, तर गुगलमा खोज्दा समेत भेटिँदैन

टेकपाना टेकपाना

असार ८, २०८३ ७:५५

विज्ञान, प्रविधि मन्त्रालयको वेबसाइट सञ्चालनमा, तर गुगलमा खोज्दा समेत भेटिँदैन

काठमाडौँ । नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको आधिकारिक वेबसाइट सञ्चालनमा आएको छ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले कार्यविभाजन गर्दै गठन गरेको नयाँ मन्त्रालयको वेबसाइट सञ्चालनमा आए पनि यसमा आवश्यक सूचना तथा जानकारीको भने अभाव छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् गठन, हेरफेर र कार्यविभाजन गरेपछि यो नयाँ मन्त्रालय अस्तित्वमा आएको थियो । सुरुमा केही समय प्रधानमन्त्री मातहत नै रहेको यस मन्त्रालयमा २६ जेठमा मन्त्रीका रूपमा महावीर पुन नियुक्त भएका थिए । 

सोही दिन गृहमन्त्रीमा सुधन गुरुङको पनि पुनः नियुक्ति भएको थियो । मन्त्री नियुक्त भएको करिब एक सातापछि मन्त्रालयको वेबसाइट सञ्चालनमा ल्याइएको हो ।

मन्त्रालयका प्रवक्ता शैलेन्द्रकुमार झाले भने, “वेबसाइट सञ्चालनमा आएको एक हप्ताजति भयो । हतारमा केही सीमित विवरण मात्र राखेर यसलाई सञ्चालनमा ल्याएका हौँ, परिमार्जन गर्ने कार्य जारी छ ।”

वेबसाइट सञ्चालनमा आएको एक साताभन्दा बढी समय भइसक्दा पनि गुगल वा अन्य सर्च इन्जिनमा ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ नेपाली वा अङ्ग्रेजीमा खोज्दा भेटिँदैन । विज्ञान र प्रविधिसँग सम्बन्धित मन्त्रालय भएकाले यसको सर्च इन्जिन अप्टिमाइजेसन (एसईओ) चुस्त हुनुपर्नेमा वेबसाइट हालसम्म इन्डेक्स समेत हुन सकेको छैन । यसले गर्दा सर्वसाधारणले खोज्दा वेबसाइट सजिलै फेला पार्न सकिरहेका छैनन् ।

हाल वेबसाइटमा मन्त्रालयको नाम, मन्त्री महावीर पुन र सचिव प्रमिला देवी शाक्य बज्राचार्यको नाम, फोटो, केही ऐन तथा कार्यविधि बाहेक अन्य कुनै पनि महत्त्वपूर्ण जानकारी छैनन् । वेबसाइटमा सामाजिक सञ्जालका लोगो राखिए पनि तिनमा आधिकारिक अकाउन्ट लिङ्क गरिएका छैनन् । जसले गर्दा डोमेन दर्ता गरेर टेम्प्लेटमा केही विवरण मात्र थपिएको जस्तो देखिन्छ ।

यसका साथै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालय, विभाग र मातहतका सरकारी कार्यालयका वेबसाइटमा सूचना अधिकारी र प्रवक्ताको मोबाइल नम्बर अनिवार्य रूपमा राख्न निर्देशन दिएको छ । तर यस मन्त्रालयको वेबसाइटमा सो निर्देशन पालना भएको देखिँदैन । हाल वेबसाइटमा रहेका संगठन संरचना, महासन्धि/सन्धि, महाशाखा, समिति, परियोजना, अधिकारी तथा कर्मचारी विवरण र परिचय सम्बन्धी सबै सेक्सनहरू रित्तै रहेका छन् । मन्त्रालयको वेबसाइट हेर्न यहाँ क्लिक गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असार ८, २०८३ ८:३१