चेक गणतन्त्रले सन् २०२७ देखि विद्यालयहरूमा मोबाइल फोनको प्रयोगमा प्रतिबन्ध लगाउने
असार ९, २०८३ १३:५३
काठमाडौं । चेक गणतन्त्रले सेप्टेम्बर सन् २०२७ देखि विद्यालयहरूमा मोबाइल फोनको प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ । कक्षाकोठामा बालबालिकाको स्क्रिन टाइम (मोबाइल/कम्प्युटर हेर्ने समय) सीमित गर्ने बढ्दो विश्वव्यापी प्रयासमा चेक सरकार पनि सामेल भएको हो । प्रधानमन्त्री आन्द्रेज बाबिसका अनुसार विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लगाउने सम्बन्धी विधेयक दर्ता गरिएको रोयटर्सको रिपोर्टमा उल्लेख छ ।
यो प्रतिबन्ध कक्षाकोठाका साथै खाजाको समयमा हुने फोनको प्रयोगमा समेत लागु हुनेछ । यद्यपि, स्वास्थ्य सम्बन्धी कारणहरू वा विद्यालयले शैक्षिक प्रयोजनका लागि अनुमति दिएको खण्डमा भने मोबाइल फोनको प्रयोगमा केही छुट हुनेछ । यी कारणहरूबाहेक अन्य अवस्थामा विद्यालयहरूले विद्यार्थीहरूलाई खाजा वा फुर्सदको समयमा मोबाइल फोन प्रयोग गर्ने अनुमति दिन सक्ने छैनन् ।
बालबालिकाहरूमा सामाजिक सञ्जाल वा मोबाइल फोनको प्रयोगलाई सीमित गर्ने अन्य सरकारहरूको प्रयास र नीतिहरू पछ्याउँदै चेक गणतन्त्रले पनि यो कदम चालेको हो । स्मार्टफोनले विद्यार्थीहरूको एकाग्रता र व्यवहारमा नकारात्मक असर पार्न सक्ने कारण देखाउँदै यसै महिना पोल्यान्डले पनि नेदरल्यान्ड्स, दक्षिण कोरिया र इटालीजस्ता देशहरूको सिको गर्दै विद्यालयहरूमा स्मार्टफोन प्रयोगमा प्रतिबन्ध लगाएको रोयटर्सले उल्लेख गरेको छ ।
सामाजिक सञ्जालको हकमा भने बालबालिकाका लागि यसको पहुँचमा प्रतिबन्ध लगाउने अस्ट्रेलिया पहिलो देश हो । यस्तै, बेलायतले पनि यसै महिना १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने घोषणा गरेको छ । बालबालिकामा पर्ने नकारात्मक असरहरूको चिन्ताका कारण चेक प्रधानमन्त्री बाबिसले पनि बालबालिकाका लागि सामाजिक सञ्जालका साइटहरूमा प्रतिबन्ध लगाउने विषयमा विचार गरिरहेको बताएका छन् ।
पछिल्लो अध्यावधिक: असार ९, २०८३ १४:२१
